बालकको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ब्रह्मपुरी गाउँपालिका–४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँ बस्ने १९ वर्षीय विक्रम पासवान र भारत बिहार राज्य सितामडी राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन्।
उनीहरूले भारत घर भएका १५ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाई राखेकाे भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीसमेतबाट खटिएको प्रहरीले ब्रह्मपुरी गाउँपालिका–४ स्थित रामजी साह बस्ने गरेको घरकोठामा बन्धक बनाई राखेकाे अवस्थामा ती बालकलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउन्ड, मोबाइल १ थान, चक्कु १ थान, हथौडा १ थान र बिआर ०६ बिटी २८५० नम्बरको मोटरसाइकल बरामद गरिएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।
उनीहरूउपर जिल्ला अदालत सर्लाहीबाट अपहरण, शरीर बन्धक तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।