सगरमाथा लोकमार्गमा पर्ने सुनकोशी नदीको फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि विकल्पको रूपमा निर्माण गरिएको अस्थायी बेलिब्रिजबाट खोटाङ उदयपुर सिधा यातयात सुरु भएको छ । शनिबारबाट सञ्चालनमा आएको बेलिब्रिजबाट खोटाङ दिक्तेल र उदयपुर गाईघाट सिधा यातयात सुरु भएको हो ।
गएको असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएसंगै सिधा यातायात सेवा सुरु भएको सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजना कार्यालयका प्रमुख डि.ई पशुपति ज्ञवाली जानकारी दिए ।
खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिङटार बिचमा पर्ने सुनकोशी नदीमा सिधा यातायात सञ्चालनका लागि एक करोड दुई लाख ९४ हजार ६७७ रुपैयाँ ७८ पैसामा आर्यन कन्स्ट्रक्सन मल्टिपर्पोज प्राइभेट लिमिटेडले बेलिब्रिज निर्माण गरेको पनि प्रमुख ज्ञवालीले बताए । ५० मिटर लम्बाई र साढे ३ मिटर चौडाई रहेको बेलिब्रिज निर्माण गरिएको छ । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि उक्त बजेटबाटै अस्थायी बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्नेछ ।
बेलिब्रिज जडानपछि उद्घाटन गर्दै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री भुपेन्द्र राईले अस्थायीरुपमा भएपनि खोटाङवासीलाई सुविधा पुग्ने बताए । उनले भने, ‘खोटाङवासीको मागलाई तत्काल सम्बोधन गरी बेलिब्रिज जडानको कामले खोटाङलाई धेरै ठूलो राहात प्रदान गरेको छ ।’
बेलिब्रिज जडान भएसँगै खोटाङबासीलाई तराईका जिल्ला आवतजावत गर्न र दैनिक उपभोग्य वस्तुहरूको ढ्वानी गर्न सहज भएको छ । फोक्सिङटारमा २०७९ सालमा एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयअघिदेखि बर्सेनी अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो । तर, दुई वर्ष नबित्दै बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि जिल्लावासीका लागि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको थियो ।
स्थायी पक्की पुल निर्माण नहुँदासम्म हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्षातको समयमा झिक्ने हुँदा फेरि वर्षाको समय सुरु हुनासाथ उदयपुर र खोटाङ जिल्लाको सीधा यातायात आवागमन बन्द हुनेछ । हिउँदमा जसोतसो बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सीधा यातायात जोडिए वर्षामा पुनः समस्या हुने भन्दै खोटाङवासीले सरकारलाई स्थायी पुल निर्माण गर्न माग गर्दै आइरहेका छन् ।