सिद्धार्थनगर नगरपालिका (भैरहवा) को आयोजनामा शनिबारदेखि अन्तरविद्यालय नगरस्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईले मुलुकलाई चिनाउने पहिलो माध्यम खेलकुुद बनेको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि सबै पालिकाहरूले लगानी बढाउनुपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले स्वस्थ्य शरीरबाट मात्रै स्वस्थ्य मस्तिष्कको विकास हुने हुँदा विद्यार्थीको सर्वांगीण विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनोट गरी उत्कृष्ट खेलाडीलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने प्रतियोगिताको उद्देश्य रहेको उनले बताए ।
तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको छ । खेल उद्घाटन पूर्वविद्यार्थीले पक्लिहवा माध्यमिक विद्यालयको खेल मैदानमा झाँकीसहितको मार्चपास गरेका थिए । मार्चपासमा अमर ज्योति माध्यमिक प्रथम, मुनलाई मावि द्वितीय र सुसंस्कृत मावि तृतीय भएका थिए । उनीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिता सिद्धार्थनगर नगरपालिका–१ स्थित पक्लिहवा माध्यमिक विद्यालयमा, पक्लिहवा कृषि क्याम्पस र वडा नम्बर ५ स्थित भैरहवा नमुना माध्यमिक विद्यालयको खेल मैदानमा भैरहेका छन् । प्रतियोगिताअन्तर्गत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल हुनेछन् ।