मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २७ शनिबार
  • Saturday, 11 January, 2025
२o८१ पौष २७ शनिबार १७:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद

पुष्पसदन अन्तर्राष्ट्रिय विद्यालय चेस च्याम्पियनसिप सुरु

पुष्पसदन, अन्नपुर्ण  र त्रियोगको राम्रो सुरुवात 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २७ शनिबार १७:५५:oo

कीर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यमिक विद्यालयद्वारा आयोजित पुष्पसदन अन्तर्राष्ट्रिय विद्यालय चेस च्याम्पियनसिप शनिबारबाट सुरु भएको छ । भारतका नाै विद्यार्थीसहित देशभरका दुई सय ५०  विद्यार्थीले प्रतिस्पर्धा गरिरहेको च्याम्पियनसिपको पुष्पसदन विद्यालयका प्रमुख, शिक्षक र चेस संघका प्रतिनिधिहरूले संयुक्त रूपमा उद्घाटन गरेका थिए । 

तीनदिने प्रतियोगितामा यू–११, यु –१३ र यु –१५ छात्र तथा छात्रा, तीन अलग अलग समूहमा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक एवं सिम तथा एफटी केशव श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार पहिलो दिनको दोस्रो राउन्ड समाप्तिसँगै पुष्पसदन आवासीय माध्यमिक विद्यालय, अन्नपूर्ण मावि, त्रियोग हाई स्कुल, स्वस्तीश्री गुरुकुललगायत विद्यार्थीहरूले राम्रो खेल प्रदर्शन गरेका छन् । भोलि तेस्रो, चौथो र पाँचौँ राउन्ड खेल हुनेछ भने खेल बिहान १० बजे सुरु हुनेछ । 

सोमबार अन्तिम २ वटा फाइनल राउन्डका खेल हुने प्रतियोगिता संयोजक श्रेष्ठले जानकारी दिए । नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्विस लिग प्रणालीका आधारमा (७ राउन्डमा) सञ्चालन गरिने प्रतियोगितामा  प्रत्येक समूहका उत्कृष्ट १० खेलाडीलाई प्रमाणपत्र र पदक दिइने विद्यालयका अध्यक्ष महेश श्रेठले जानकारी दिए । उनका अनुसार उत्कृष्ट तीन विद्यालयलाई पहिलो, दोस्रो र तेस्रो छनोट गरी ट्रफी पनि प्रदान गरिनेछ ।

बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरसम्म लैजाने उद्देश्यले छिमेकी राष्ट्रहरूका केही इच्छुक विद्यालयलाई समेत आमन्त्रण गरिएको थियो । जसमा सिक्किमबाट ३५ जना खेलाडीको सहभागिता रहेको छ । 

पहिलो दिन जुनियर समूहका विद्यार्थीको सहभागिता उल्लेखनीय वृद्धि भएको  पुष्पसदनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस प्रकारको प्रतियोगिताले नेपालमा चेस खेलको लोकप्रियता बढाउने र युवा पुस्तामा चेसको प्रति रुचि बढेको देखिन्छ,' उनले भने, 'यस प्रतिस्पर्धाले विद्यार्थीलाई मानसिक क्षमता र रणनीतिक सोचको विकासमा मद्दत पुर्याउने उद्देश्य राखेको छ ।'

प्रतियोगितामा काठमाडौं उपत्यकाबाहिर र नेपालबाहिरबाट सहभागी हुने खेलाडीको टोलीलाई विद्यालयले आफ्नै खर्चमा निःशुल्क आवास र खानपिनको प्रबन्ध मिलाएको पुष्पसदन विद्यालयले जनाएको छ ।