भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले ६ महिना लामो चुनावी विवादपछि अन्ततः तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका छन् । १२ वर्षसम्म एकछत्र शासन गरेका मदुरोको कार्यकाल आर्थिक र सामाजिक संकटले भरिए पनि उनले पुनः तेस्रो कार्यकालका लागि शपथ लिएका हुन् ।
२०१३ देखि राष्ट्रपति रहेका मदुरोलाई भेनेजुयलाको निर्वाचन अधिकारी र सर्वोच्च अदालतले जुलाईको चुनावको विजेता घोषित गरेपछि उनको पुनः राष्ट्रपति बन्ने बाटो खुलेको हो । तर उनको विजयको पुष्टि गर्ने विस्तृत तथ्याङ्क भनै कहिल्यै प्रकाशित गरिएन । विपक्षीले मतपत्रको तथ्याङ्कले उनका प्रतिस्पर्धी उम्मेदवार एडमन्डो गोन्जालेज भारी मतले विजयी भएको देखाए पनि मदुरोले नै अन्ततः राष्ट्रपतिको शपथ ग्रहण गरेका हुन् ।
अन्तर्राष्ट्रिय चुनाव पर्यवेक्षकले मतदान लोकतान्त्रिक नभएको आरोप लगाएका छन् । चुनावपछि मदुरो सरकारले विपक्षी नेता गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसैले गोन्जालेज स्पेनमा शरण लिएर बसेका छन् भने उनकी सहयोगी मारिया कोरिना माचाडो भेनेजुयलामै लुकेर बसेकी छन् । यसैबीच अमेरिकी जो बाइडन प्रशासनले लागुऔषध ओसारपसारको आरोपमा मदुरोलाई पक्राउ वा दोषी ठहराउन मद्दत गर्ने विषयमा जानकारी दिने व्यक्तिलाई साढे दुई करोड अमेरिकी डलर पुरस्कार दिने बताएको छ ।
यसअघि बाइडन प्रशासनले मदुरोलाई पक्राउ गर्न सघाउने व्यक्तिलाई साढे एक करोड दिने भनेको राशी बढाएर साढे दुई करोड अमेरिकी डलर पुर्याएको हो । यस्तै बाइडन प्रशासनले आन्तरिकमन्त्री डीओस डाडो काबेलोको जानकारी दिनेलाई साढे दुई र रक्षा मन्त्री भ्लादिमिर पाद्रिनोको जानकारी दिनेलाई साढे एक करोड अमेरिकी डलर दिने बताएको छ । अमेरिकाले २०२० मा मदुरोसहित अन्य व्यक्तिलाई लागुऔषध र भ्रष्टाचारको आरोपमा अभियोग लगाएको थियो । मदुरोले भने ती आरोप अस्वीकार गर्दै आएका छन् ।