अब सिनेमा पहिलेजस्तो मनोरञ्जनको साधन मात्रै रहेन । यसले बौद्धिकता, मानवीयता, समानता, समावेशिता, पहिचानलगायत मुद्दाहरू बोकेको हुन्छ । युवापुस्ताको बढ्दो उपस्थितिसँगै परम्परागत मान्यताहरू भत्किँदै गएका छन् । सिनेमामा नयाँ कथ्य शैलीहरूको विकास भइरहेका छन् । यसले नयाँ सांस्कृतिक धरातल निर्माण गर्ने प्रयास गरिरहेको छ ।
वैश्विक रूपमा चलेको यो नयाँ लहरले नेपालमा पनि युवा कलाकार, संगीतकार तथा फिल्ममेकरहरूलाई आकर्षित गरिरहेको छ । हाम्रा सिनेमा अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुगेर वाहवाही बटुल्न सफल भएका छन् । युवाहरू सीमित स्रोतसाधन प्रयोग गरी फिल्म निर्माण गरिरहेका छन् । मोबाइलबाट खिचिएको भिडियोबाट पनि फिल्म बनाइरहेका छन् । थोरै जनशक्ति, लगानी र प्रविधिबाटै विषयवस्तु बुझाउन प्रभावकारी हुने भएकाले सर्टफिल्म निर्माणमा युवा लोभिएका छन् । अर्काे, फिल्म पढेका र रंगमञ्चमा खारिएका नयाँ पुस्ताका निर्देशक÷कलाकारहरूको आगमनसँगै नेपाली सिनेमाले फड्को मार्ने संकेत देखिन्छ । सिनेमामा फरक समुदायका अनुहारहरूले आफ्नो दरिलो उपस्थिति देखाएर सौन्दर्यको परम्परागत साँघुरो मान्यतालाई भत्काइरहेका छन्, जसले समावेशितालाई प्रोत्साहन गरेको छ । त्यससँगै कलाको परिभाषा पनि फराकिलो बन्दै गएको छ ।
विश्व सिनेमा नेटफ्लिक्स, अमेजन प्राइमजस्ता डिजिटल प्लाटफर्ममा प्रवेश गरिसकेको छ । सिनेमा र संगीतका लागि डिजिटल र स्ट्रिमिङ प्लाटफर्म ठुलो बजार बन्न थालेको छ । घरमा बसी–बसी ल्यापटप र मोबाइलमा सिनेमा हेर्ने युवा पुस्ताहरूको संख्या बढेको छ । उनीहरूले सिनेमाहल धाउन छोडेका छन् ।
तोड्दै पराम्परा
युवाहरूले विश्वमा नयाँ प्रविधिको प्रयोगसँगै नयाँ शैलीले सिनेमा बनाइरहेका छन् । साउन्ड र इमेजलाई प्रयोग गरी कलात्मक तरिकाले फिल्म बनाइरहेका छन् । त्यसरी बनेका फिल्म कान्स, बर्लिन, भेनिस, लोकार्नोजस्ता फेस्टिभलहरूले देखाइरहेका छन् । युवाहरूले आफूसँग उपलब्ध स्रोत–साधनलाई प्रयोग गर्दै सिनेमामा हस्तक्षेप बढाउँदै गएका छन् ।
म पनि फिल्ममेकिङमा फरक अभ्यास गरिरहेको छु । मसँग ८/१० वर्षअघि हिमालतिर घुम्न जाँदा ह्यान्डिक्याम, डिएसएलआर, मोबाइलको क्यामेराले खिचेको भिडियो थियो । त्यसवेला खिचेका भिडियोलाई प्रयोग गरेर मैले सर्ट फिल्म ‘संग्स अफ लभ एन्ड हेट’ बनाएँ । घुम्न जाँदा सम्झनाका लागि भिडियो र फोटाहरू खिचेको थिएँ । पछि त्यही पुराना फोटो र भिडियोलाई दृश्यमा ढालेर कथामा बुनेँ । फिल्ममा कलाकारहरू देखिँदैनन्, इमेज र भ्वाइस एक्टरहरू मात्रै छन् । फिल्ममा दृश्यसँगै कथावाचन गरिएको छ । यो मैले फिल्ममा प्रयोग गरेको नयाँ शैली हो । पराम्परागत शैलीमा फिल्म बनाउन खोजेको भए सायद नयाँ शैलीले कथावाचन हुँदैन थियो होला । यो फिल्मले बर्लिन फिल्म फेस्टिभलमा स्पेसल जुरी मेन्सन अवार्ड पनि पायो र अन्य दुई फेस्टिभलमा उत्कृष्ट अवार्ड पनि जित्यो । यो फिल्म विश्वका २५ भन्दा बढी फिल्म फेस्टिभलहरूमा प्रदर्शन भयो ।
कुनै कामका लागि खिचिएको एउटा ‘इमेज’लाई फरक तरिकाले सम्पादन गरेर कथा कसरी भन्न सकिन्छ ? इमेज, साउन्ड, न्यारेसन र इमेजभित्र देखिने वातावरणको सम्बन्ध कसरी निर्माण गर्न सकिन्छ ? अर्काइभ र लाइभएक्सन फुटेजलाई कसरी सम्पादन गरेर कथा भन्न सकिन्छ ? सीमित स्रोतसाधनभित्र रहेर पनि कसरी उत्कृष्ट फिल्ममेकिङको अभ्यास गर्न सकिन्छ ? भन्नेतर्फ धेरै देशका युवा फिल्ममेकर लागिपरेका छन् । अहिले उनीहरूले भिडियो अर्काइभ प्रयोग गरेर फिल्म बनाउन सकिन्छ भन्ने बुझिसकेका छन् । भिडियो अर्काइभबाट काम गर्ने तरिका पनि उल्टो छ । फिल्म बनाउँदा सुरुमा कथा लेखिन्छ, कास्टिङ फाइनल (कलाकार) छायांकनका लागि लोकेसनमा गइन्छ । तर, सुरुमै भिडियो सम्पादन गर्दै, कथा लेख्दै, सम्पादन गर्दै आवश्यक दृश्य खिच्दै फिल्म बनाउन मिल्छ । यो प्रक्रिया रोमाञ्चक पनि हुँदै जान्छ । फिल्म बनाउने प्रक्रियामा छिरेपछि नयाँ कुरा निर्माण हुँदै जान्छ । कथाको संरचना र आकार विकास हुँदै जान्छ । र, कथाभित्रका संसारको नियमहरू पत्ता लाग्दै जान्छ ।
अहिले फिल्ममा नयाँ–नयाँ जनरा र शैली विकास भएको छ । युवाहरूले कथा र फिल्मको परम्परागत संरचनामा विश्वास गर्न छोडेका छन् । पटकथालाई मात्रै प्राथमिकतामा नराखी पनि फिल्म बनाउन सकिन्छ भन्ने सोचको विकास हुँदै गएको छ । सिनेमा बनाउनुअघि हामीले सिनेमालाई राजनीतिको भार, समाज बेतिथिको भार र विश्वका धेरै समस्याका भारबाट मुक्त भएर सोच्नुपर्छ । सिनेमाको आकारलाई प्रमुख बनाएर यसको इमेज र साउन्डको मिश्रणबाट दिने महसुसलाई प्राथमिकतामा राख्नुपर्छ ।
मैले केही समयअघि हार्वर्ड विश्वविद्यालमा ‘भिजिटिङ आर्टिस्ट फेलो’ भएर जाँदा फरक महसुस गर्न पाएँ । हार्वर्डको फिल्म विभागको बुझाइमा सिनेमाको एउटा निश्चित भाषा वा शैली हुँदैन, यो हरेक सर्जकको आफ्नो देखाइ र भोगाइको वास्तविकता व्यक्त गर्ने माध्यम हो । त्यसरी नै नयाँ अनुसन्धान र बहुआयामिक तरिकाले सिनेमा हेरेर युवाहरूले फिल्ममेकिङको ‘स्टाइल’ परिवर्तन गरिरहेका छन् ।
हामी फिल्म बनाउनलाई चलेका स्टार कलाकार र तीन–चारवटा गीत हुनुपर्छ भन्ने सोच राख्छौँ । तर, विश्वका युवा फिल्ममेकरहरू फिल्म बनाउनलाई करोडौँको बजेट चाहिन्छ भन्ने मान्यताबाट बाहिर निस्किँदै छन् । हो, फिल्म बन्नलाई ठुलो टिम आवश्यक छ । मैले कलाकार राखेर फिल्म बनाउनुहुँदैन भन्न खोजेको होइन । मलाई पनि कलाकार राखेर फिचर फिल्म बनाउने मन छ । तर, हामी फिल्ममेकर आफैँले एकपटक फिल्मको पराम्परागत भाष्यलाई भत्काएर प्रश्न गरौँ न । एकपल्ट फिल्मको पटकथालाई निकालेर हेरौँ । फिल्ममा डाइलग निकालेर हेरौँ । अनि कलाकार नै नराखी फिल्म बनाएर हेरौँ न । के यसलाई फिल्म भन्न सकिन्छ ? कस्तो फिल्म बन्ला ? यसलाई फिल्म भनेर बुझ्न सकिन्छ कि सकिँदैन ? फिल्ममेकिङमा यस्तो खालको अभ्यास पनि गर्न जरुरी छ ।
प्रविधिको फड्को
संसारमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबर्ट झन्–झन् विकसित हुँदै छ । मानव जातिले पनि एआईसँग मिलेर सिनेमा बनाउन थालेको छ । युरोप, अमेरिकालगायत एसियाका युवा फिल्ममेकरहरूले एआईसँग काम गर्न थालेका छन् । उनीहरूले भर्चुअल प्रडक्सन निर्माण गरेर सिनेमा बनाइरहेका छन् । फिल्मको प्रि–प्रडक्सन, राइटिङ, स्पेसल इफेक्टजस्ता कामलाई एआईले सजिलो बनाइदिएको छ । कुनै सिनेमाका लागि ‘एक्टर’ हायर गर्न गाह्रो भयो भने एआईले सिर्जना गरिदिन सक्छ । केही समयअघि भर्चुअल प्रडक्सनबाट फिल्म सिरिज ‘म्यान्डलोरियन’ बन्यो । यो फिल्ममा ठुला जंगल, मरुभूमि, समुद्रका दृश्य छन्, जुन भर्चुअल रूपमा सिर्जना गरिएको हो । एउटा कोठाभित्र कलाकार राखेर फिल्मको छायांकन गरिएको छ । ती सबै भर्चुअल रूपमा सेट बनाउन दिएर एउटै कोठामा छायांकन सम्भव भयो । नयाँ प्रविधिलाई नअपनाएको भए त्यो सम्भव थिएन । अन्यथा फिल्मका लागि सेट बनाउन जंगल, मरुभूमि र समुद्र नै पुग्नुपर्ने हुन सक्थ्यो । फिल्म छायांकनका लागि अब लोकेसनमा गइरहनुपर्दैन । एकै ठाउँमा १०औँ ठाउँको सुटिङ गर्न सकिने भएको छ ।
एआईको नयाँ एप ‘सोरा’ले फिल्ममेकिङमा ठुलो क्रान्ति ल्याइरहेको छ । ‘सोरा’लाई तपाईंले अक्षरमा लेखेर दिनुभयो भने भिडियो बनाइदिन्छ । यसले आवश्यक पर्ने भिडियो निर्माण गरिदिन्छ । तर, यसको पनि सीमितता छन् । यसले बनाइदिएको भिडियो परफेक्ट नहुन पनि सक्छ । तर, अहिले सोराले २० सेकेन्डको भिडियो सजिलै बनाइदिन्छ । त्यसबाट फिल्म र म्युजिक भिडियोको आवश्यक ‘सिन’ निर्माण गर्न सकिन्छ । मलाई ६० वर्षअघिको काठमाडौंको भिडियो आवश्यक प¥यो भने सोराले बनाइदिन सक्छ । अहिले विश्वमा एआई फिल्म फेस्टिभलको पनि सुरुवात भइसकेको छ । त्यहाँ एआईले बनाइदिएको फिल्महरू मात्रै देखाउन थालिएको छ । एआईको सहयोगमा एरिक बुलेटले ‘ड्रिम एबल ग्यान्स’, ग्वेनोला वैगनले ‘क्रोनिकल्स अफ द ब्ल्याक सन’, इनेस सिउलेले ‘द ओसिस आई डिजर्भ’जस्ता फिल्म बनाएका छन् । एआर (अगमेन्टेड रियालिटी) र भिआर (भर्चुअल रियालिटी)को प्रयोग गरेर पनि सिनेमा बन्न थालेको छ ।
कान्स फिल्म फेस्टिभलले यो वर्षदेखि एआर र भिआर सेक्सन राखेको छ । विश्वमा सिनेमाले आर्टिफिसियल इन्टेलिजेन्स र भर्चुअल रियालिटीलाई महत्वको साथ हेरेको छ । यसलाई आर्ट ग्यालरी र फिल्म फेस्टिभलहरूले अपनाइरहेका छन् । पेन्टिङका लागि कलाकारले डिजिटल रूम सिर्जना गरेर काम गर्ने सक्ने अवस्था छ । यसरी विश्वको सिनेमा, संगीत, पेन्टिङजस्ता कला पूर्ण रूपमा डिजिटल वल्र्डमा जाँदै छ, जसले गर्दा सिनेमाप्रतिको बुझाइ, विचार र दृष्टिकोणमा परिवर्तन देखिएको छ । एआईलाई हामीजस्ता युवा फिल्ममेकरले कसरी प्रयोग गर्छाैँ भन्ने प्रश्न पनि छ ।
राज्यको भूमिका
सिनेमा देशको सम्पदा र सांस्कृतिक उत्पादन हो । संसारका धेरै देशले फिल्मलाई अर्काइभ ल्याब बनाएर संरक्षण गरेका हुन्छन् । उनीहरूले सिनेमालाई ‘हेरिटेज’को रूपमा लिन्छन् । अहिले कान्स, भेनिस, बर्लिन, लोकार्नोजस्ता फेस्टिभलले हिजो थन्किएका पुराना फिल्महरू भटाभाट देखाउन थालेका छन् । एआई कम्पनीले संसारका धेरै देशहरूलाई आफ्नो देशका पुराना फिल्महरू मागिरहेको छ । त्यसैले फिल्म अर्काइभको ‘भ्यालु’ बढ्दै गएको छ । नेपालमा पनि राज्यले सिनेमाको ‘प्रिजर्भेसन, कन्जर्भेसन, डिजिटाइजेसन र रेस्टोरेसन’ गर्न आवश्यक छ । जसले गर्दा युवा फिल्ममेकरलाई यस विषयमा अनुसन्धान र ‘इनोभेसन’का लागि सघाउ पुग्छ । तर, नेपालमा यस्तो काम भएको छैन । यसका लागि चलचित्र विकास बोर्डले नेपाली फिल्म इतिहासदेखि अहिलेसम्मको जानकारीसहितको डाटा तयार गर्नुपर्छ ।
राज्यले जनशक्ति निर्माणतर्फ पनि सोच्नुपर्छ । इन्टरनेसनल फेडेरेसन अफ फिल्म अर्काइभ (फिआइएएफ) जस्ता अन्तर्राष्ट्रिय संस्थाले फिल्मसम्बन्धी तालिमको आयोजना गर्छन् । त्यहाँ नेपाली युवा फिल्ममेकरलाई पठाउने वातावरण निर्माण गरिनुपर्छ । पोस्टर पनि फिल्मको एउटा पहिचान हो । पुराना फिल्मका पोस्टरलाई ‘रि–इम्याजिन’ गरी देखाउन सकिन्छ ।
राज्यले फिल्म कल्चर सेन्टरको परिकल्पना गर्नुपर्छ । जहाँ विश्वका राम्रा–राम्रा सिनेमा देखाउन र छलफल गर्न सकियोस् । चलचित्र विकास बोर्डले आफ्नो हललाई चलायमान बनाउन सक्छ । यसका लागि हरेक तीन–तीन महिनामा फिल्मसम्बन्धी नयाँ कार्यक्रम तय गर्न सकिन्छ । अग्रज फिल्ममेकर र नयाँ फिल्ममेकरबिच सम्बन्ध विस्तार गर्न चलचित्र विकास बोर्डको विशेष भूमिका हुन सक्छ । फिल्मकर्मीबिच ‘क्रिटिकल फिडब्याक सेसन’ चलाउन सकिन्छ ।
(घिमिरे नयाँ पुस्ताका चलचित्र निर्देशक हुन्)