विश्व प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जितेको सर्ट फिल्म ‘संग्स अफ लभ एन्ड हेट’ले सात लाख (पाँच हजार युरो)को अवार्ड जितेको छ।
सौरभ घिमिरे निर्देशित यो फिल्मले स्पेनको ६०औँ बिलबाओ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘मिकेल्दी फोर बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’अन्तर्गतको पुरस्कार जितेको हो। डकुमेन्ट्री र सर्ट फिल्ममा आधारित यो फेस्टिभल नोभेम्बर १५ सम्म आयोजना भएको थियो।
१७ मिनेट लामो यो फिल्मले रेडियो कार्यक्रममार्फत प्रेमको परामर्श दिने प्रस्तोता आफू पनि प्रेमको विछोडमा परेपछि वियोगको यात्रालाई विषय बनाएको छ।
यो फिल्म बर्लिनसँगै एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ।
यो फिल्मलाई फिल्म ‘जुन्को’का निर्देशक मिन्सो लिम्बू र ‘शाम्बाला’का निर्देशक मीनबहादुर भामले मिलेर निर्माण गरेका हुन्। फिल्ममा किशोर आचार्यको साउन्ड, आरोन मिनेब्बो र सौरभकै सम्पादन रहेको छ।