आफूलाई नेपाल प्रहरीको इन्स्पेक्टर हुँ भन्दै ठगी गर्दै आएका युवकका सहयोगी पनि पक्राउ परेका छन् । कागेश्वरी मनोहरा–७ का सुदीप थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी अनुसन्धान गरेकोमा उनलाई इन्सपेक्टरको परिचयपत्र छाप्न सहयोग गर्ने कोटेश्वरस्थित मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक किशोर कुमार चौधरी पनि पक्राउ परेका हुन् ।
थापाले इन्स्पेक्टरको परिचयपत्र बनाउने मात्र होइन, इन्सपेक्टरको फुलीसहितको प्रहरीको यूनिफर्म नै लगाएर हिड्ने समेत गरेको खुलेको छ ।
उनले आफू इन्सपेक्टर भएको भन्दै भ्रममा पारी अष्ट्रेलिया, क्यानडा लगायत देश पठाउने भनेर तीनजनालाई ६९ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार कतिपय अवस्थामा उनी युनिफर्म नै लगाएर प्रहरी कार्यालयमा समेत पुग्थे । प्रहरी कार्यालय पुगेर जुनियर प्रहरीलाई आफु इन्सपेक्टर भएको भन्दै भ्रममा पारेर सलाम समेत गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ । पीडितहरुलाई विश्वासमा पार्न उनले यस्तो शैली अपनाएका हुन् ।
आफू उत्कृष्ट काम गरेबापत सइबाट विशेष बढुवा भएर इन्स्पेक्टर भएको भन्दै प्रहरीलाई नै झुक्याएकोसमेत पाइएको छ । थापाविरुद्ध ठगी मुद्दामा कारबाही अघि बढाइएको एसपी काजी कुमार आचार्य बताए ।