नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)को आयोजनामा हुने एनएनआइपिए स्पोर्टस् अवार्डको तयारी पूरा भएको छ । १९औँ संस्करण अवार्ड आगामी शनिबार काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैँजु मन्दिर हातामा हुने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराएका छन् । विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिनेछ ।
गत वर्ष चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्ति नै संख्यामा खेलाडीलाई पुरस्कृत गरिनेछ । सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
२९ खेलाडीबाट पुरुष र महिला खेलाडीलाई उत्कृष्ट घोषणा गरिने श्रेष्ठले बताए । उत्कृष्ट महिला र पुरुष खेलाडीले समान एक लाख रुपैयाँ जित्नेछन् । यसैगरी पुरुष र महिलामा समान एक खेलाडीलाई प्रतिभाशाली घोषणा गरी जनही ५० हजार नगद प्रदान गरिनेछ ।
पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआइपिए खेल पत्रकारिता पुरस्कारस्वरूप जनही ३५ हजार रुपैयाँबाट सम्मान गरिनेछ । एक वर्ष उत्कृष्ट पाराखेलाडी सम्मानबापत १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । अवार्डका लागि तार्केश्वर नगरपालिका र खेलाडी संघबिच सम्झौता भइसकेको छ ।