वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका– ११ घर भई काठमाडौं बुद्धनगर बस्ने ७१ वर्षीय गणेशबहादुर थापा र नवलपरासी पूर्व बौदीकाली गाउँपालिका– १ घर भई काठमाडौं बानियाँटार बस्ने ४२ वर्षीया शान्ति भण्डारी रहेका छन् ।
पक्राउ परेकामध्ये गणेशबहादुरले सर्बिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ र शान्तिले हंगेरी पठाइदिन्छु भन्दै दुईजना पीडितबाट १७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गणेशबहादुरलाई काठमाडौं सिनामंगलबाट र शान्तिलाई काठमाडौं बानियाँटारबाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दोलखा तामाकोशी गाउँपालिका– ४ घर भई काठमाडौं महानगरपालिका– १५ चमती बस्ने २८ वर्षीय रामविक्रम खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुर र जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउपुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको छ ।