स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै हुने भएको छ । प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेपछि स्तन क्यान्सरको वंशाणुगत परीक्षण सम्भव भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले बताए । ‘यस्तो परीक्षण पहिलोपटक सम्भव भएको हो,’ उनले भने, ‘अब देशबाहिर नमुना पठाउनुपर्दैन ।’ यसअघि स्तन क्यान्सर आफन्त वा नातेदारमा भए नभएको पत्ता लगाउन यस्तो परीक्षणका लागि नमुना भारत तथा अन्य देशमा पठाउनुपर्ने बाध्यता थियो । यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उसको परिवारमा भए नभएको पत्ता लगाउनेछ । सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकको भनाइ छ । बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुल्क पनि बढी तिर्नुपर्ने समस्या कम हुने भट्टले बताए ।
प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमुना परीक्षण गर्ने जनाएको छ । प्रयोगशालाले क्यान्सरसम्बन्धी चारथरीका नमुना परीक्षण नियमित थप गर्ने भएको छ । भारतमा स्तन क्यान्सरको वंशाणुगत नमुना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म खर्च हुन्छ । र, नमुना पठाउन समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सकहरू बताउँछन् । तर, प्रयोगशालाले भने ३० हजार रुपैयाँमै परीक्षण गर्नेछ ।
नेपालमा वर्षमा करिब दुई हजारजनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छन् । यस आधारमा करिब १२ करोड बिदेसिनबाट जोगिने मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका क्यान्सरसम्बन्धी परीक्षण प्रयोगशालामा गराउने निर्णय गरेका थिए । अहिले ती परीक्षण नियमित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको छ ।