म्याग्दीको रघुगंगा गाउँपालिका– ४ बुक्लमा भएको टिपर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर २ को सुरुङ जाने बाटोबाट टिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बिपी २–ए७५६८ नम्बरको टिपर सडकबाट करिब तीन सय मिटर तल खस्दा चालक भारतको उत्तरप्रदेश घर भएका ३३ वर्षका दशरथ यादव र सहचालक भारतको मध्यप्रदेश घर भएका ४० वर्षका शत्रुधन रजकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति करिब १ बजेदेखि काम गर्ने कार्यक्षेत्रबाटै बेपत्ता भएका दुवैजना आज बिहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
प्रहरी र जलविद्युत् आयोजनाका मजदुरको सहायताले दुर्घटनाग्रस्त ठाउँबाट मृतकहरूको शवलाई बाहिर निकालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदारले निर्माण कार्य गरिरहेको छ ।