मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ११ बिहीबार o७:२९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नीरजलाई चार स्ट्रोकको अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार o७:२९:oo

सूर्य नेपाल गल्फ  टुर २०२४/२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नीरज तामाङ शीर्षस्थानमा रहन सफल भएका छन् । बुधबार धरानमा ८ अन्डर ६२ को नयाँ कोर्स रेकर्डसहित सानदार नतिजामा घरेलु प्रो नीरजले २०२२/२३ सिजनमा शुकबहादुर राईले बनाएको ७ अन्डर ६३ को रेकर्ड तोड्दै नयाँ कोर्स रेकर्ड बनाए । उनले धनबहादुर थापालाई ४ स्ट्रोकले पछि पारे ।

धरानस्थित ७० पारको धरान गल्फ क्लबमा ४ अन्डर ६६ को स्कोरमा धन दोस्रो स्थानमा छन् । ३ अन्डर ६७ को नतिजामा भुवनकुमार रोका तेस्रो स्थानमा रहे । एमेच्योर सुन्दर राईसहित प्रोहरू युवराज भुजेल र विष्णुप्रसाद शर्माले संयुक्त रूपमा चौथो स्थान बाँडेका छन् ।  नेपालका नम्बर एक गल्फर भुवन नगरकोटी, बलभद्र राई र एमेच्योर जितेन्द्र राई संयुक्त रूपमा सातौं स्थानमा छन् । रामे मगर, सुनील केसी, रवि खड्का, रमेश अधिकारी र एमेच्योर सुरेश तामाङ संयुक्त रूपमा दशौँ स्थानमा रहे । 

धारनका प्रो नीरजले बोगी फ्री ८ अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड बनाउने क्रममा फ्रन्ट नाइन ४ अन्डर ३२ मा सकाए । तेस्रो, पाँचौँ, छैटौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गरे । ५ पारको १२औँ होलमा इगलको सफलता प्राप्त गरेका उनले १५औँ र १८औँ होलमा पनि एक–एक सट बचाए । उनले ब्याक नाइन ४ अन्डर ३० मा सकाए । धनले दोस्रो होलमा बोगी खेले पनि तेस्रो, आठौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २ अन्डर ३४ मा सकाए । यसपछि १३औँ होलको बोगीविरुद्ध १२औँ, १६औँ र १८औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २ अन्डर ३० मा पूरा गरे । 

तेस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाइनमा २ अन्डर ३४ र ब्याक नाइनमा १ अन्डर ३३ खेले । उनले कुल ५ बर्डी र २ बोगी प्रहार गरे । तेस्रो, सातौँ, नवौँ, पन्ध्रौँ र अठारौँ होलमा एक–एक सट बचाए । पहिलो र सत्रौँ होलमा बोगी खेपे । ५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशि रहेको छ । विजेताले उपाधिसँगै एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रोले एक लाख र तेस्रो हुने खेलाडीले ७५ हजार नगद प्राप्त गर्नेछन् । दोस्रो दिनको समाप्तिमा कट लागू हुनेछ र उत्कृष्ट २१ प्रोफेसनल गल्फरले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । एमेच्योर खेलाडीको हकमा पनि सोही कट लागू हुनेछ ।  तीनदिने प्रतियोगितामा २९ प्रोफेसनल र २७ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागिता रहेको छ । शनिबार प्रो एम इभेन्ट हुनेछ ।

यो सिजन आठ प्रतियोगितामा कुल ६७ लाख नगद पुरस्कार रहेको छ । यसअघि भएको दुई प्रतियोगिताको उपाधि एमेच्योर गल्फरहरूले जितेका थिए । सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुल बिके र दोस्रो प्रतियोगिताको उपाधि नेपाल नम्बर एक गल्फर सद्भाव आचार्यले जितेका थिए । यसपटक भने यी दुवै खेलाडीले सहभागिता जनाएका छैनन् ।