नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सचिवालय उद्घाटन गरेका छन्। बिहीबार नेपालगन्ज रंगशालामा स्थापना भएको सचिवालयको उनले उद्घाटन गरेका हुन्।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी १९ देखि २९ फागुनसम्म नेपालगन्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदै छ। उद्घाटनका अवसरमा नगर प्रमुख विष्टले नेपालगन्जले लुम्बिनी कप महिला फुटबलले नेपालगन्जलाई फेरि राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरे।
नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कप महिला फुटबलमा नेपाल र भारतका आठ टिम सहभागी हुनेछन्। सो अवसरमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य भोजराज शाहीले लुम्बिनी कप फुटबलले महिला फुटबल विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले पश्चिम नेपालमा महिला महत्त्वपूर्ण प्रतियोगिताको सुरु गर्न लागेको बताए।