साउदी अरेबियाले सन् २०३४ को फिफा पुरुष विश्वकप आयोजना गर्ने औपचारिक घोषणा अचम्मको विषय भएन । आयोजना अधिकार साउदीको भूराजनीतिक एजेन्डामा लामो समयदेखि प्राथमिकतामा रहेको र फुटबलको अन्तर्राष्ट्रिय निकाय यसमा सहमत थियो । यस निर्णयमाथि दुवै पक्षले तीव्र आलोचनाको सामना गरिरहेका छन् । एम्नेस्टी इन्टरनेसनलसहित २१ मनव अधिकार समूहले जारी गरेको संयुक्त वक्तव्यमा फिफाले ‘मानव अधिकारमुक्त प्रतिबद्धता’ लागू गरेको आरोप लगाइएको छ । प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाको अभावलाई व्यंग्य गरिएको छ र सम्भावित वातावरणीय प्रभावका विषयमा चिन्ता व्यक्त गरिएको छ ।
सन् २०२२ को कतार र २०१८ को रुस विश्वकप विवादपछि फिफाले विश्वव्यापी आलोचनालाई बेवास्ता गर्ने आफ्नो रबैया दोहो¥याएको हो वा फुटबलको भूराजनीतिक एवं आर्थिक शक्ति सन्तुलनको प्रयास गरेको हो ? जे भए पनि यस्तो प्रतिकूल अवस्था सामना गर्न फिफा तयार भइसकेको छ । सन् २०३४ को प्रतियोगिताका लागि ‘व्यापक परामर्श प्रक्रिया’ गरिएको दाबी गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदी अरेबियाले विश्वकप आयोजना गर्ने जिम्मेवारीअन्तर्गत ‘सामाजिक सुधार र सकारात्मक मानव अधिकार प्रभाव’लाई हृदयंगम गर्ने अपेक्षा गरेका छन् ।
वास्तवमा यो दृष्टिकोणलाई समर्थन गर्ने केही प्रमाण छन् । उदाहरणका लागि सन् २०२२ विश्वकप आयोजना गरेपछि कतारले मानव अधिकार र आप्रवासी मजदुरप्रतिको व्यवहारमा सुधार गरेको बताइएको छ । यसलाई फिफा परम्परागत शक्ति केन्द्रबाट बाहिर गएर फुटबल विस्तार गर्न खोजिरहेको रूपमा पनि देख्न सकिन्छ । सन् १९३० को दशकदेखि युरोपले ११ पटक र ल्याटिन अमेरिकाले पाँचपटक विश्वकप आयोजना गरेका छन्, भने एसियाले २००२ मा (जापान र दक्षिण कोरिया) र अफ्रिकाले २०१० मा (दक्षिण अफ्रिका) मात्र आयोजना गर्न पाएको छ । फिफाले आफूलाई विश्व शान्ति र अन्तर्राष्ट्रिय एकता प्रवद्र्धकका रूपमा स्थापित गर्न खोजेको छ । यस दिशामा पूर्वआर्सेनल प्रबन्धक आर्सेन बेंगरलाई ग्लोबल फुटबल डेभलपमेन्टको प्रमुखमा नियुक्त गर्नु सकारात्मक कदम हो । उनको नेतृत्वमा फिफाले प्रशंसक र राष्ट्रिय महासंघसँग फुटबलको भविष्य निर्माण गर्न थप परामर्श प्रक्रिया स्थापना गरेको छ । र, अझै धेरै प्रगति गर्न बाँकी छ ।
फिफाले आफू उत्तरदायी र पारदर्शी भएको र यसलाई आफूले प्रकाशन गरेको बोलपत्र मूल्यांकन प्रतिवेदनले पुष्टि गरेको दाबी गर्छ । प्रतिवेदनले साउदी अरेबियाको बोलपत्रलाई ‘नवीन’ र ‘अग्रगामी दृष्टिकोणयुक्त’ भन्दै वित्तीय र संगठनात्मक क्षमताका लागि प्रशंसा गरेको छ । ‘नवीन’ पक्ष स्पष्ट छ किनभने प्रस्तावित स्टेडियममध्ये एक पहाडको टाकुरामा निर्माण हुनेछ भने अर्को नयाँ निर्माण गरिने स्टेडियम सहरको बिचमा जमिनबाट ३५० मिटर माथि हुनेछ । तर ‘अग्रगामी दृष्टिकोणयुक्त’ दाबी भने प्रश्न उठ्ने खालको छ किनभने शाही परिवारको पूर्ण रजगज छ, सुरक्षा निकाय बलिया छन् र सत्तारुढ वर्गमाथि प्रश्न उठाउन पाइँदैन ।
खेलले साउदी अरेबियालाई परिवर्तनको अवसर पनि प्रदान गर्न सक्छ । पछिल्ला वर्षमा साउदीले महिला चालकमा लगाइएको प्रतिबन्ध हटाएको, रोजगारीका अवसर खुला गरेको र महिलालाई उच्च सरकारी पदमा नियुक्त गरेको छ । महिला अहिले फुटबल खेल हेर्न स्टेडियम जान्छन्, महिला मात्र सदस्य हुने जिमखानाको लोकप्रियता बढेको छ र देशमा समलैंगिकता सम्बन्धित दृश्य पनि देखिन थालेका छन् । फिफाले यो धारलाई समर्थन गरेजस्तो देखिन्छ ।
तर, ध्यान दिनुपर्ने के हो भने थुप्रै सम्भावित आयोजक देशले राजनीतिक वा सामाजिक दृष्टिले पूर्ण रूपमा स्वच्छ मूल्यांकन व्यहोर्नुपर्छ भन्ने देखिँदैन । सन् २०१८ मा जब अमेरिका, क्यानडा र मेक्सिकोलाई सन् २०२६ को प्रतियोगिता संयुक्त रूपमा आयोजना गर्ने अधिकार दिइएको थियो, तब पुरानो ट्रम्प प्रशासनले केही मुसलमान मुलुकका नागरिकलाई अमेरिका प्रवेशबाट रोक लगाएको थियो र मेक्सिको सीमामा आप्रवासी परिवारको व्यवहारले ठुलो चिन्ता उत्पन्न गरिरहेको थियो । त्यसैगरी क्यानडामा आदिवासी जनसंख्याले राज्यले दीर्घकालीन रूपमा सीमान्तीकरण गर्न खोजेको भन्दै प्रतिरोध गर्दै आएको थियो ।
हालसम्म अर्थात् सन् २०२४ मा अमेरिका र मेक्सिकोमा ४५ हजारभन्दा बढी हत्या बन्दुक हिंसासँग जोडिएका छन्, जसमा मेक्सिकोका दर्जनौँ नेता र सन् २००० पछि एक सय ६३ पत्रकारको हत्या पनि पर्छन् । अमेरिका, मेक्सिको र क्यानडा विश्वका प्रमुख तेल र ग्यास उत्पादक राष्ट्र हुन् । अमेरिका दोस्रो ठुलो कार्बन उत्सर्जन गर्ने मुलुक हो, जसमा सन् २०२६ को प्रतियोगिताका ७८ खेलले थप योगदान दिनेछ ।
त्यतिखेर, उत्तर अमेरिकाका तीन मुलुकलाई आयोजना अधिकार दिने निर्णयलाई थोरै मानिसले मात्रै प्रश्न गरेका थिए । वास्तवमा यी तीन मुलुक पनि आयोजकको भूमिकाका लागि पूर्ण रूपमा उपयुक्त छैनन् । फुटबल विश्वकपजस्ता ठुला खेल समारोह आयोजनाको प्रतिस्पर्धा अब भूराजनीतिक प्रतियोगितामा परिणत भएको छ, जहाँ पुरस्कारमा शक्ति, प्रतिष्ठा र विश्वव्यापी धारणामा परिवर्तन ल्याउने अवसर समावेश छन् । यससँगै फुटबलले आफ्नो आर्थिक विकास र आम्दानी वृद्धिका उपाय पनि खोज्दै आएको छ । तसर्थ, विश्वको यो प्रिय खेल जुनसुकै स्थानमा खेलिए पनि सामाजिक सुधारका लागि एक बलका रूपमा काम गर्न सक्षम होस् भन्ने आशा गरौँ ।
(अहमद हल विश्वविद्यालयका मार्केटिङका वरिष्ठ लेक्चरर हुन्, दास अस्ट्रेलिया विश्वविद्यालय तथ्यांक विश्लेषणका सहप्राध्यापक हुन् भने च्याडविक इएम ल्यायों बिजिनेस स्कुलमा एफ्रो–युरोसियन खेलका प्राध्यापक हुन्)
- द कन्भर्सेसनबाट