मधेश प्रदेशमा पछिल्लो समयमा सीमावर्ती देश भारतबाट भन्सार छली गरेर विभिन्न सामग्री चोरी निकासी गर्ने कारोबारीहरू बढ्दै गएको पाएका छन् । आठ जिल्ला रहेको मधेश प्रदेशका सबै जिल्ला सीमावर्ती देश भारतको विभिन्न सहरसँग जोडिएकाले विभिन्न सामग्री चोरी निकासी गरेर भन्सार छली गर्ने कारोबारीहरू बढेका हुन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालू आर्थिक वर्ष ०८१ /८२ मा पाँच महिनामा भन्सार छली चोरी निकासी गर्नेहरूबाट ६० करोड ७१ लाख ८६ हजार ४३ रुपैयाँ राजस्व संकलन भएको हो ।
देशको आर्थिक नगरीको रूपमा वीरगन्ज भन्सार नाकाबाट सबैभन्दा बढी भन्सार छलीको सामग्री भित्रिएको प्रहरीको तथ्यांकले देखाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुवासचन्द्र बोहाराका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी पर्साबाट भन्सार छली गरेर भित्रिएकोबाट २९ करोड ८६ लाख ५९ हजारबराबर राजस्व संकलन भएको छ ।
यस्तै, भन्सार छली गरेर भित्रिएको सामग्रीबाट बारामा १४ करोड ८६ लाख ६४ हजार ९०५ रुपैयाँ ,रौतहटबाट एक करोड ६८ लाख ४३ हजार ७८१ रुपैयाँ राजस्व संकलन भएको छ । प्रहरी तथ्यांकअनुसार सर्लाहीबाट ६ करोड १० लाख २८ हजार २३० रुपैयाँको, महोतरीबाट एक करोड ७६ लाख ८० हजार १२४ रुपैयाँ राजस्व संकलन भएको हो । यस्तै धनुषाबाट चार करोड ६९ लाख ८३ हजार ८५० रुपैयाँ, सिराहाबाट ८५ लाख ४४ हजार ३८२ र सप्तरीबाट ८७ लाख ८१ हजार ७७० रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी प्रहरी उपरीक्षक बोहराले बताए । यस्तै, गत आर्थिक वर्ष ०७०/८१ मा भन्सार छली गरेर चोरी निकासी सामग्रीबाट मात्र एक अर्ब ४७ करोड ९८ लाख ४२ हजार ६०१ रुपैयाँ प्रहरी राजस्व संकलन गरेको जनाएको छ ।
प्रहरी तथ्यांकअनुसार यो आर्थिक वर्षमा पनि सबैभन्दा बढी पर्साबाट मात्र ५३ करोड ४६ लाख ५९ हजार ८७३ रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष ०७९ /८० मा ९४ करोड ७० लाख ६२ हजार २५७ रुपैयाँको भन्सार छली, चोरी निकासीको सामग्रीबाट राजस्व संकलन गरेको प्रहरी उपरीक्षक बोहराले बताए । उनका अनुसार यसमा पनि पर्साबाट मात्र ४८ करोड ९६ लाख चार हजार ६४६ रुपैयाँ राजस्व संकलन भएको अवस्था छ ।