एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा गठन अपरिपक्व अभ्यासबाहेक केही नभएको दाबी गरेका छन् । पार्टी कार्यालय मीनभवनमा आइतबार बसेको स्थायी कमिटी बैठकमा तत्कालीन कार्ययोजनासहितको प्रस्ताव प्रस्तुत गर्दै खनालले समाजवादी मोर्चा नै बनाउने हो भने सबैभन्दा पहिले वैज्ञानिक समाजवादको कार्यक्रममा सहमति हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
‘विभाजित वाम समूहहरूलाई एकताबद्ध गर्नुपर्छ भन्ने नाउँमा केही समयअघि समाजवादी मोर्चा बनाउने प्रयत्न पनि देखापर्यो । त्यो एउटा अपरिपक्व अभ्यासबाहेक केही थिएन,’ उनले भनेका छन्, ‘कुनै पनि मोर्चा वा कार्यगत एकता निश्चित लक्ष्यका आधारमा बन्छ । समाजवादी मोर्चा बन्नेबित्तिकै समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने मुख्य कार्यदिशामा एकरूपता हुनैपर्छ ।’
खनालले समाजवादको कार्यक्रममा सहमति भएपछि बन्ने मोर्चा भने प्रभावकारी हुने दाबी गरे । ‘यतिवेला समाजवादी मोर्चा बनाउने आत्मगत परिस्थिति विकसित भएको देखिँदैन । परिस्थिति परिपक्व भयो भने फेरि बनाउन नसकिने भन्ने पनि हुँदैन,’ उनले भने । ४ असार ०८० मा समाजवादी मोर्चा घोषणा भएको थियो । सुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मोर्चाका संयोजक थिए । १२ फागुनबाट नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव मोर्चाको संयोजक छन् ।
पछिल्लो समय मोर्चा निष्क्रिय छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चाबाट बाहिरिएको छ भने महिन्द्रराय यादव नेतृत्वको नेसपा भित्रिएको छ । मोर्चामा चारवटै दलका शीर्ष नेताहरू सम्मिलित भए पनि खनाल भने छैनन् । खनालले वामपन्थी समूहहरूमा कार्यक्रम, कार्यदिशा, मार्गदर्शन सिद्धान्त, संयुक्त मोर्चा वा कार्यगत एकताजस्ता अहं महत्वका सवालहरूमै मतभिन्नता देखिएको बताएका छन् ।