दार्चुलाको अपिहिमाल गाउँपालिका–५ मकरिगाडमा १० मेगावाट विद्युत् उत्पादन हुन्छ । यहाँबाट बलाँचस्थित विद्युत्गृहमार्फत सुदूरपश्चिमका विभिन्न जिल्लामा बिजुली आपूर्ति हुन्छ । तर, बिजुली उत्पादन गर्ने गाउँपालिकाकै बस्ती अन्धकारमा छन् । अपिहिमाल गाउँपालिक–१, २ र ६ का बस्तीमा विद्युत् छैन । पर्यटन अभियन्ता हिमालय भट्ट भन्छन्, ‘अपिहिमालको पानीबाट उत्पादन भएको बिजुलीले आधाभन्दा बढी सुदूरपश्चिम उज्यालो छ । तर, अहिले पनि अपिहिमाल गाउँपालिकाका धेरै गाउँ अन्धकारमा छन् ।’
वडा नम्बर ५ मा राष्ट्रिय प्रसारण लाइनको बत्ती जडान गरिएको छ । वडा नम्बर ३ र ४ मा क्षत्तिगाडमा उत्पादन गरिएको सय किलोवाट बत्तीबाट गाउँ उज्यालो छ । अन्य तीन वडाका नागरिक अहिले पनि अँधेरोमा छन् । नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रको तथ्यांकअनुसार अपिहिमाल गाउँपालिकाका १४ प्रतिशत घरधुरीमा मात्रै विद्युत् पुगेको छ ।
अपिहिमाल गाउँपालिका–१ स्थित भवानी आधारभूत विद्यालयका शिक्षक कमानसिंह धामी अपिका नागरिकको समस्या बुझिदिने कोही नभएको गुनासो गर्छन् । अपिहिमालका अधिकांश नागरिकले सोलार र दियालोको भरमा रात काट्न बाध्य भएको अपिहिमाल गाउँपालिका–२ का स्थानीय दशरथ कार्कीले बताए । ‘यहीँ पारि खण्डेश्वरी रातमा झिलमिली हुन्छ, तर घुसापट्टी पूरै अन्धकार छ,’ उनले भने,‘विकासमा विभेद छ । पैसा हुनेले सोलार बत्ती राखेका छन् । तर, हातमुख जोर्न धौ–धौ भएकाले कहाँबाट सोलार किन्नु ? मोबाइल चार्ज गर्न पनि अर्काको घरमा पुग्नुपर्ने बाध्यता छ ।’
ग्रामीण विद्युतीकरणअन्तर्गत अपिहिमाल गाउँपालिकामा विद्युत् विस्तारको काम बल्ल सुरु भएको छ । अपिहिमाल गाउँपालिका–५ का अधिकांश बस्तीमा विद्युत् लाइन विस्तारको काम सम्पन्न भएको कस्मिक इलेक्ट्रोनिक प्रालिका प्रतिनिधि मनोज बस्नेतले बताए । ‘यस वर्ष अपिहिमालमा ५० प्रतिशत विद्युतीकरणको काम गर्ने लक्ष्य छ,’ उनले भने । हिमाली क्षेत्र र अप्ठेरो बाटो भएकाले विद्युत्को पोल र तार ढुवानीमै समस्या भइरहेको उनले बताए । अहिले ६० भन्दा बढी मजदुर लगाएर निर्माणको काम भइरहेको उनले बताए ।
प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख आनन्द सापकोटाले जिल्लाभर ग्रामीण विद्युतीकरणमार्फत काम भइरहेको बताए । नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका अनुसार आर्थिक वर्ष ०८०÷८१ सम्ममा जिल्लाभरका १८ हजार ५४८ घरधुरीमा विद्युत् सेवा पुगेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार दार्चुला जिल्लामा २८ हजार ३८१ घरधुरी छन् ।
प्राधिकरणको दार्चुला वितरण केन्द्रको तथ्यांकअनुसार महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका अधिकांश घरधुरीमा विद्युत् सेवा पुगेको छ । लेकम, व्यास र दुहुँ गाउँपालिकामा पनि ७० प्रतिशतभन्दा बढी घरधुरीमा विद्युतीकरण कार्य सम्पन्न भएको तथ्यांक छ । मार्मा गाउँपालिकामा ४५ प्रतिशत, अपिहिमाल गाउँपालिकामा १४ प्रतिशत र नौगाड गाउँपालिकामा १२ प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ ।