मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
फाइल तस्बिर
२o८१ मङ्सिर २३ आइतबार १६:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १६:३९:oo

सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

कास्की जिल्ला अदालतले लामिछानेसँगै पाँचजनालाई हिरासतमा राख्न आइतबार प्रहरीलाई अनुमति दिएको हो। प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् १३ दिन म्याद थपका लागि अनुमति माग गरेकोमा न्यायाधीश हिमलाल बेलवासेको एकल इजलासले लामिछानेसगै पाँचजनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

अदालतले लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी, गुल्मीको मुसिकोट नगरपालिका– ४ घर भई हाल ललितपुर महानगरपालिका– १५ खुमलटार बस्ने ३२ वर्षीया लीला पछाई, नेचर हर्ब्स इन्टरनेसनल प्रालि, गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका संचालक एवं सेयरधनी तनहुँको भानु नगरपालिका– ८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल र पोखराका कृष्णबहादुर गुरुङलाई म्याद थप गरिदिएको हो।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीलाई प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।

छैटौं पटक म्याद थप भएका लामिछानेलाई प्रहरीले २ कात्र्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याएको थियो। पोखरा ल्याएसँगै लामिछानेलाई यसअघि ४ कार्तिकमा पहिलोपटक ६ दिन, दोस्रोपटक ८ कात्तिकमा सात दिन, तेस्रोपटक तिहार बिदा समेत जोडेर २० कात्र्तिकमा १० दिन, चौथोपटक २५ कात्तिकमा १३ दिन र पाँचौ पटक ९ मंसिरमा १५ दिन म्याद थप भएको थियो।

६ असोजमा काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका जोशीलाई यसअघि पहिलोपटक पाँच, दोस्रोपटक सात, तेस्रोपटक २०, चौथोपटक सात, पाँचौँपटक १०, छैटौं पटक १३ र सातौंपटक ९ मंसिरमा १५ दिन म्याद थप गरिएको थियो।

प्रहरीले पछाईलाई १५ असोजमा पक्राउ गरेको थियो। सहकारीबाट गैरकानुनी रुपमा गितेन्द्रबाबु राई (जिबी)सँग मिलेमतो गरी तीन करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा लगी चल–अचल सम्पत्ति खरिद गर्ने र सेयर कारोबारमा लगानी गरेको भेटिएपछि प्रहरीले पछाईलाई पक्राउ गरेको थियो। खनाल भने ९ कात्तिकमा काठमाडौं महानगरपालिका– ३ पानीपोखरीबाट पक्राउ परेका थिए। त्यसैगरी गुरुङलाई कतार उड्न लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट २१ मंसिरमा प्रहरीले पक्राउ गरेको थियो।