मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २० बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर २० बिहीबार ११:२o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्राधिकरणमा रातारात बनाइएको कार्यकक्षमा ऊर्जामन्त्री खड्का

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर २० बिहीबार ११:२o:oo

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आफ्ना लागि रातारात बनाइएको कार्यकक्षमा ऊर्जामन्त्री दीपक खड्का पुगेका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका उनी बुधबार दिउँसो करिब १२ः४५ बजे प्राधिकरणमा पुगेका थिए । तर, स्वागतका लागि कर्मचारीहरूलाई भने १०:३० बजे नै बोलाइएको थियो । 

मन्त्री खड्काका लागि मंगलबार राति अबेरसम्म कार्यकक्ष सजावट गर्ने काम भएको थियो । प्राधिकरण भवनको दोस्रो तलामा मन्त्रीका लागि तीन कोठासहितको कार्यकक्ष बनाइएको छ । त्यसमा एक गोप्य बैठक कोठा, एक कार्यकक्ष र एक सचिवालय कोठा रहेका छन् । 

मन्त्री खड्का ऊर्जासचिव सुशील आचार्य र मन्त्रालयका ऊर्जाविज्ञ प्रवल अधिकारीसहित पुगेका थिए । उनीहरूलाई प्राधिकरणका निर्देशक तथा उपकार्यकारी निर्देशक तहका कर्मचारीहरूले स्वागत गरेका थिए । कार्यकारी निर्देशक कुलमान घिसिङलाई भने उक्त कार्यक्रमबारे जानकारी गराइएको थिएन ।

सो समयमा घिसिङ बाढीले क्षतिग्रस्त ४५६ मेगावाटको माथिल्लो तामाकोशी परियोजनाको पुनर्निर्माणको अवलोकन गर्न कार्यक्रममा दोलखामा थिए ।   

बुधबार कार्यकक्षमा मन्त्री खड्काले करिब आधा घण्टा समय बिताएका थिए । कार्यकक्ष प्रवेश गर्दा मन्त्री खड्काले पत्रकारसँग छोटो प्रतिक्रिया दिँदै आवश्यकताका आधारमा प्राधिकरणमा कार्यकक्ष स्थापना गरेको बताए । ‘बोर्ड बैठकको वेला आउँदा बस्ने ठाउँ पनि भएन । एजेन्डाको विषयमा ब्रिफिङ गर्न पनि आफ्नै कार्यकक्ष आवश्यक देखियो । त्यसैले प्राधिकरणमै कार्यकक्ष बनाउन भनेको थियो,’ उनले भने, ‘यसले प्राधिकरणको कामकारबाहीमा सहजीकरण हुनेछ । यहाँका कर्मचारी साथीहरूलाई पनि सजिलो हुनेछ । मलाई भेट्नकै लागि कर्मचारीहरूलाई मन्त्रालयमा पुग्नुपर्ने बाध्यता अब छैन । यहाँ जिम्मेवार साथीहरूलाई पनि केही भन्नुपर्ने हुन्छ । यहाँ आइरहनुपर्ने भएकाले छुट्टै कार्यकक्ष स्थापना गरिएको हो ।’ त्यसक्रममा उनले कुलमान घिसिङ आफूसँग छलफल गरेर नै माथिल्लो तामाकोशीको अनुगमनमा गएको जिकिर गरे । 

आसनग्रहणपछि मन्त्री खड्काले कर्मचारीका निर्देशक तथा उपकार्यकारी निर्देशकहरूसँग सामान्य छलफल गरेका थिए । ‘मन्त्री खड्काले कार्यकक्ष प्रवेशपछि हामी उपकार्यकारी निर्देशक र निर्देशक तहका कर्मचारीसँग छलफल गर्नुभयो । कर्मचारीहरूसँग अन्तक्र्रिया र सहजीकरण गर्न कार्यकक्ष स्थापना गरेको उहाँको भनाइ थियो । बोर्ड बैठकको एजेन्डाबारे पनि कर्मचारीसँग छलफल गर्ने बताउनुभयो,’ एक उपकार्यकारी निर्देशकले भने, ‘साथै, आवश्यकताअनुसार समय–समयमा प्राधिकरणमा आउने बताउनुभयो । हामीले पनि यसलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दियौँ । त्यसपछि उहाँ बाहिरिनुभयो । २५–३० मिनेट मात्रै उहाँ बस्नुभयो ।’

शतप्रतिशत सरकारी स्वामित्व भएको प्राधिकरणको अध्यक्ष ऊर्जामन्त्री हुने व्यवस्था छ । ऊर्जामन्त्री अध्यक्ष नभएको अवस्थामा सरकारले कुनै विशिष्ट श्रेणीको कर्मचारीलाई यसको जिम्मेवारी दिन सक्छ । ३९ वर्षको इतिहासमा प्राधिकरणमा सञ्चालक सदस्यका लागि छुट्टै कार्यकक्ष भए पनि अध्यक्षका लागि कार्यकक्ष बनाउने अभ्यास थिएन । 

मन्त्रीको मन्त्रालयमा आफ्नै कार्यकक्ष भएकाले प्राधिकरणमा छुट्टै कार्यकक्ष आवश्यकता त थिएन । तर, सैद्धान्तिक रूपमा अध्यक्षको कार्यकक्ष बनाउनु राम्रो हो । तर, खड्काले प्राधिकरणमा आफ्नै कार्यकक्ष बनाउनुलाई भने शंकास्पद रूपमा हेरिएको प्राधिकणका सञ्चालक समितिका सदस्य कपिल आचार्यले बताए । ‘अध्यक्षको कार्यकक्ष हुनैहुन्न भन्ने त होइन, भएको राम्रो हो । तर, मन्त्रालय र प्राधिकरणको नेतृत्वबिचको दूरी बढेको वेला हतारहतार कार्यकक्ष बनाइयो । यसमा प्रश्नचिह्न खडा भएको छ,’ उनले भने । 

विशेष गरी, कार्यकारी निर्देशक घिसिङमाथि प्रत्यक्ष रूपमा निगरानी तथा ‘चेक’ गर्ने गरी उनी आएको स्रोतको भनाइ छ । उद्योगीबाट विद्युत्को बक्यौता उठाउने विषयमा खड्का र घिसिङबिचको दूरी बढेको छ । घिसिङलाई हटाउने पक्षमा पनि खड्का लागेका थिए । घिसिङलाई पटक–पटक निरुत्साहन गर्ने काम मन्त्री खड्काले गरेका थिए । आफ्नो अनुकूल काम गराउन नसकेपछि नियोजित रूपमा उनले प्राधिकरणमा कार्यकक्ष स्थापना गरेको ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए ।

यसका लागि सोमबार उनले मन्त्रालयका केही कर्मचारीलाई प्राधिकरणमा कार्यकक्ष स्थापनाका लागि निरीक्षणका लागि पठाएका थिए । त्यसपछि भवनको तेस्रो तलामा कार्यकक्ष बनाउने निक्र्याेल गरियो । उनको कार्यकक्षमा पहिला प्राधिकरणको प्रशासन निर्देशनालय उपकार्यकारी तुलाराम गिरीको कार्यकक्ष थियो । उनको कार्यकक्ष भने रत्नपार्कमै रहेको अर्काे भवनको कौसीमा रहेको अस्थायी संरचनामा सारिएको छ । जहाँ कर्मचारी नियुक्तिका लागि अन्तर्वार्ता लिने गरिएको थियो । 

मन्त्रीको निर्देशनपछि मंगलबार साँझ पाँच बजेदेखि राति १० बजेसम्म कार्यकक्षलाई हतार–हतारमा सजाइएको थियो । नयाँ कुर्सी, टेबल, कार्पेट, रङ, सोफालगायतका सामग्री राखिएको थियो । मन्त्री खड्का आएपछि प्राधिकरण सञ्चालक समितिको १३ वटा बैठक भएको छ । साउन ८, २० र ३० गते, भदौ १० र २१ गते, कात्तिक ४, ८, १४, १६, २७ र २९ गते तथा मंसिर १० र १२ गते उनको अध्यक्षतामा सञ्चालक समितिको बैठक भएको छ । त्यसमा साउन ८, मंसिर १० र १२ गतेको बैठक प्राधिकरणमा भएका छन् ।