विश्वराम कुँवर र अस्मिता भुजेल वैकुण्ठ मानन्धर अन्तरविद्यालय पाँच किलोमिटर दौड प्रतियोगितामा शनिबार च्याम्पियन भएका छन् । प्लस टुको छात्रमा चाणक्य कलेजका विश्वराम तथा छात्रामा लालीगुराँस नेसनल एकेडेमीकी अस्मिता पहिलो भएका हुन् ।
विश्वरामले निर्धारित दूरी १८ मिनेटमा पूरा गरे । नव प्रभातका तयाहाङ राई दोस्रो तथा त्रिवेणी पब्लिकका अमृत विश्वकर्मा तेस्रो भएका छन् । अस्मिताले दूरी तय गर्न २१ मिनेट ३२.७ सेकेन्ड समय खर्चिएकी थिइन् । लालीगुराँसकै भगवती खड्का दोस्रो तथा एभरेस्टकी स्वस्तिका तिरुवा तेस्रो भएका छन् ।
हस्त र शर्मिला पहिलो
दक्षिण एसियाली खेलकुद (साग)का कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको नाममा स्थापना गरिएको वैकुण्ठ मानन्धर खेलकुद नेपालद्वारा आयोजित प्रतियोगिताको कक्षा ८ देखि १० सम्मको छात्रमा ब्राइट होराइजनका हस्त सुनार १८ मिनेट १७.२ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहे । सरस्वतीका नमराज बानियाँ दोस्रो तथा महेन्द्र ग्रामका सन्तोष कार्की तेस्रो भए । छात्रामा लालीगुराँसकी शर्मिला विकले स्वर्ण जितिन् ।
शर्मिलाले २३ मिनेट ०२.३ सेकेन्ड समय लगाइन् । श्रीकृष्णकी प्रमिशा कार्की दोस्रो तथा श्रीकृष्णकै अस्मिता गोले तेस्रो स्थानमा रहे । भेट्रान पुरुष ६५ वर्षमाथि रामकृष्ण महर्जनले स्वर्ण, पुष्पलाल श्रेष्ठले रजत र कुमुदराज श्रेष्ठले कांस्य जिते । पुरुष ५६ देखि ६५ वर्षमा महर्जनत्रय देव, विक्रम र रामभक्त क्रमशः शीर्ष तीन स्थानमा रहे । ४५ देखि ५५ वर्षमा भीमबहादुर गुरुङ प्रथम, राजु भण्डारी द्वितीय र रामचन्द्र श्रेष्ठ तृतीय भए । भेट्रान महिलामा कृष्णेश्वरी सिन्तकला पहिलो, शर्मिला बस्नेत दोस्रो र कल्पना महर्जन तेस्रो बने ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, मदन भण्डारी स्पोर्टस् एकेडमीका अध्यक्ष ध्रुव आचार्य, आयोजक संस्थाका अध्यक्ष वैकुण्ठ मानन्धरलगायत पुरस्कृत गरे । विभिन्न १० स्पर्धा समावेश दौडमा करिब ६ सय ५० प्रतिस्पर्धी सहभागी थिए । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई दशरथ रंगशालामै आएर टुंगिएको थियो ।