त्रिवि क्रिकेट मैदान १२ हजार मात्र दर्शक अटाउने क्षमताको छ । शनिबार जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच भएको नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो खेलका सबै टिकट बिहीबार नै ‘सोल्ड आउट’ भइसकेका थिए ।
मैदानभित्र खचाखच मात्रै होइन, टिकट नपाएर मैदानबाहिरै रोकिनुपरेका तथा रुखमा चढेर खेल हेरिरहेका दर्शकले नेपालमा बढ्दो क्रिकेट क्रेजलाई प्रमाणित गरे । तर, नेपाल क्रिकेट संघ (क्यान) भिड व्यवस्थापनमा चुक्यो ।
टिकट नपाएका दर्शकले पूर्वतर्फको गेट नै भत्काएर प्रवेश गर्दा भिडमा च्यापिएर प्रहरीसहित सातजना घाइते भए । विराटनगरसँग जनकपुर आठ विकेटले विजयी भएको छ । एनपिएल विजेतालाई क्यानले एक करोड ११ लाख पुरस्कार घोषणा गरेको छ ।