मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १५ शनिबार
  • Saturday, 30 November, 2024
२o८१ मङ्सिर १५ शनिबार o६:१८:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मुगुको लिब्रुगाउँमा पुग्यो गाडी

दुर्गम गाउँमा गाडी पुगेपछि स्थानीयले मनाए उत्सव, बाजा बजाएर स्वागत, गाडी हेर्नेको भिड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १५ शनिबार o६:१८:oo

मुगुको उत्तरी सोरु गाउँपालिकाका– ४ लिब्रुमा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी भएका छन् । सोरु गाउँपालिकाको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको १३ किलोमिटर ट्र्याक खुलेसँगै बिहीबार पहिलोपटक लिब्रुमा गाडी पुगेको हो ।

यो सडक निर्माणमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करिब दुई करोड लगानी भएको छ । बिहीबार सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा सडक उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै सोरु गाउँपालिकाका अध्यक्ष शाहीले चुनावका वेला कर्णाली करिडोर जोड्ने र गाउँ–गाउँमा विद्युत् र सडक पुर्‍याउने प्रतिबद्धता गरेको स्मरण गरे । 

सोरु गाउँपालिकामा ११ वडाका ५६ बस्तीमध्ये अधिकांश वडाका बस्तीमा सडक सञ्जाल जोडिएको छ । हरेक वडा–बस्तीमा सडक जोड्ने लक्ष्यअनुसार करिब ५० बस्तीमा सडक पुगेको र बाँकी बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पुर्‍याउने अध्यक्ष शाहीले बताए । यो सडकको हुम्लामा बेलिब्रिजको व्यवस्थापन गरी कर्णाली करिडोरमा पनि जोडिने उनले बताए । 

सोरुकोट–मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले पालिकाका नागरिकलाई मात्र नभई हुम्लाका नागरिकलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका स्थानीयले पनि यो सडकबाट लाभ लिनेछन् । 

उनीहरूलाई बैंकिङ सेवा लिन हुम्ला सदरमुकाम सिमीकोट जानुभन्दा सोरुकोट आउन सहज हुने सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए ।सोरुकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा छ । स्वास्थ्य उपचार तथा व्यापारमा पनि यो सडकले सहजता प्रदान गर्ने शाहीले बताए । 

गाउँपालिकाको लिब्रुमा सिमी, मास, केराको राम्रो उत्पादन हुने गर्दछ । यातायातको सुविधा नहुँदा यसले राम्रो बजार पाएको थिएन । गाउँमै गाडी पुगेपछि गाउँमा उत्पादित फलफूल र तरकारीको बजारीकरण सहज हुने स्थानीय अगसरा शाहीको विश्वास छ ।