मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १५ शनिबार
  • Saturday, 30 November, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ मङ्सिर १५ शनिबार o६:३६:oo
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आजदेखि क्रिकेट महोत्सव

Read Time : > 8 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १५ शनिबार o६:३६:oo

आठ फ्रेन्चाइज टिम, ४० विदेशी खेलाडी, अन्तर्राष्ट्रिय स्पोर्टस् च्यानलबाट प्रत्यक्ष प्रसारण र एक अर्बभन्दा बढी खर्च हुने एनपिएलको उद्घाटन हजारौँ दर्शकमाझ आज दिउँसो त्रिवि मैदानमा हुँदै, सातै प्रदेशलाई समेटेको प्रतियोगिता खेलाडी, आयोजक, दर्शक, निजी र कला क्षेत्रलाई जोड्ने पुल बन्दै

- कुल ३२ खेल, समापन ६ पुसमा
- हरेक टिमका मालिकको १० देखि १४ करोडसम्म खर्च हुने अनुमान
- लिगको सर्वाेत्कृष्ट नेपाली खेलाडीलाई ६० लाखभन्दा माथिको कार 
- कला क्षेत्रका हस्ती राजेश हमालदेखि रचना रिमालसम्म र खेलकुदकै दीपक विष्टदेखि पूजा महतोसम्म ब्रान्ड एम्बेस्डर

नेपाली क्रिकेट इतिहासकै ठुलो महोत्सव शनिबारदेखि सुरु हुँदै छ । आठ फ्रेन्चाइज टिम, ४० विदेशी खेलाडी, अन्तर्राष्ट्रिय स्पोर्टस् च्यानलबाट प्रत्यक्ष प्रसारण र एक अर्बभन्दा बढी खर्च हुने नेपाल प्रिमियर लिग(एनपिएल)को उद्घाटन दसौँ हजार दर्शकमाझ दिउँसो त्रिवि मैदानमा हुनेछ । एनपिएलमार्फत अनेकौँ आरोह–अवरोह झेलिरहेको नेपाली खेल क्षेत्रमा नयाँ अध्यायको सुरुवात हुनेछ । 

नेपाली खेलकुदलाई नै नयाँ उचाइमा पुर्‍याउने आशा गरिएको एनपिएलले मुलुकको संघीय संरचनाको समेत प्रतिनिधित्व गर्दै छ । सुदूरपश्चिमबाट सुदूरपश्चिम रोयल्स, कर्णालीबाट कर्णाली याक्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, गण्डकीबाट पोखरा एभेन्जर्स, बागमतीबाट दुई टिम (काठमाडौं गुर्खाज र चितवन राइनोज), मधेशबाट जनकपुर बोल्ट र कोशी प्रदेशबाट विराटनगर किंग्सले प्रतिनिधित्व गरेका छन् । 

खेल मैदानको अभावले एनपिएलको पहिलो संस्करणका सबै खेल काठमाडौंमै खेलिनेछन् । उद्घाटन खेलमा जनकपुर बोल्ट र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुनेछ । कुल ३२ खेल हुने एनपिएलको समापन ६ पुसमा हुनेछ । सीमित पूर्वाधारबिच एनपिएल आयोजना गरेर सरोकारवाला निकायले नेपालको खेल क्षेत्रलाई थप व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउन सकिने सन्देश दिएका छन् । नेपाली क्रिकेट खेल उद्यमका रूपमा विकास गराउन भूमिका खेल्न सक्ने एनपिएलले उत्साही मात्र बनाएको छैन, खेल जगत्मा सुन्दर भविष्यको आशा पनि जगाएको छ । 

सातै प्रदेशको प्रतिनिधित्व गर्ने एनपिएल लिग खेलाडी र आयोजक मात्र होइन, दर्शक, निजी क्षेत्र र कला क्षेत्रलाई जोड्ने पुल बनेको छ । सफलतापूर्वक एनपिएल सम्पन्न गर्न सके यसले त्रिकेटको मात्र नभई नेपालको पर्यटन विकासमा पनि ठुलो योगदान पुर्‍याउने निजी क्षेत्रको विश्वास छ । 

चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान)मा दोस्रो कार्यकालका लागि अध्यक्ष भएको पहिलो वर्षमै ठुलो लिग आयोजना भएको छ । क्यानका सचिव पारश खड्काले लिगलाई आफ्नो करिअरको प्रतिष्ठा बनाएर काम गरेका छन् । 

निजी क्षेत्रले दिल खोलेर एनपिएलमा लगानी गरेको छ । हरेक टिमका मालिकले प्रतियोगिता सम्पन्न गर्न १० देखि १४ करोडसम्म खर्च हुने अनुमान गरेका छन् । टिम खरिदमा मात्रै एक करोडदेखि साढे तीन करोडसम्म खर्च गरिएको छ । अक्सनमा खरिद गरिएका खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । निजी क्षेत्रको उत्साहजनक संलग्नता तथा लगानीले क्रिकेटलाई एउटा बलियो उद्योगमा रूपान्तरण गर्दै छ । लिगको सर्वाेत्कृष्ट नेपाली खेलाडीले ६० लाखभन्दा माथिको कार पाउनेछन् । एनपिएलले नेपाली खेलाडी र खेलप्रेमीलाई सुन्दर भविष्यको सपना देखाएको छ । 

प्रतियोगितालाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यसहित चर्चित भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्टस्बाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ । विश्व क्रिकेटकै महारथी भारतीय क्रिकेटको मुख्य स्पोन्सर रहेको ‘ड्रिम ११’ यही लिगसँग जोडिएको छ । चर्चित अन्तर्राष्ट्रिय खेलाडीको सहभागिताले एनपिएललाई विश्वमाझ पुर्‍याउन उल्लेखनीय भूमिका खेल्ने क्यान पदाधिकारी, टिम मालिक, खेलाडी र दर्शक सबैको विश्वास छ ।

भारतबाट टेस्ट, एकदिवसीय र टी–२० आई खेलेका खेलाडी नेपाल आएर पहिलोपटक खेल्दै छन् । एनपिएलले नै यो अवसर जुर्‍याएको हो । भारतलाई एसिया कप एवं आइपिएलको उपाधि जिताएका शिखर धवनसँगै अस्ट्रेलियाका चर्चित खेलाडी बेन कटिङ, पाकिस्तानलाई विश्वकप जिताएका सोहेल तनभिर एनपिएल खेल्दै छन् । कटिङ लुम्बिनी, सोहेल चितवन र शिखर धवन कर्णालीमा आबद्ध छन् । धवनलाई अनुबन्ध गर्न हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले करिब दुई करोड नेपाली रुपैयाँ खर्च गरेको छ । उनले प्रत्येक खेलबाट ३० हजार अमेरिकी डलर पाउनेछन् ।

क्यानका सचिव पारस खड्काले एनपिएल नेपाली क्रिकेटको नयाँ अध्यायमा पुगेको उदाहरण रहेको बताए । ‘नेपाली क्रिकेट नयाँ अध्यायमा पुगेको छ । अब हामीले एनपिएललाई प्रतियोगिता मात्रै नभएर एउटा संस्कार बनाउनुपर्छ । क्रिकेट मात्रै नभएर प्रतियोगिताले नेपाललाई नै विश्वमा चिनाउनेछ । यो प्रतियोगिता राष्ट्रिय गौरवसँग जोडिएको छ । आज जहाँ पनि जान्छौँ नेपाली क्रिकेटको चर्चा छ । चर्चासँगै आशा पनि धेरै गरिएको छ, त्यसलाई पूरा गर्नुपर्छ,’ उनले भने । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एनपिएलले खेललाई नयाँ तरिकाले सोच्ने ठाउँमा पुर्‍याएको बताए ।

सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटा एनपिएल आफूहरूका लागि ठुलो महोत्सव रहने बताए । ‘हाम्रा लागि यो प्रतियोगिताको महोत्सव हो । नेपाल र एसोसिएटका खेलाडीलाई देखाउने ठुलो अवसर हो । स्टार स्पोर्टस्बाट लाइभ हुँदै छ । निजी क्षेत्रको आगमन भएको छ,’ उनले भने, ‘यसले गर्दा नेपाली क्रिकेटको स्तरवृद्धि हुनेछ । शिखर धवनजस्तो खेलाडी आउँदा धन्यवाद भन्नुपर्छ । उहाँको आगमनले लिगको चार्म बढेको छ । प्रतियोगिताका लागि म मात्र होइन, समग्र नेपाल नै उत्साहित छ ।’

आठ टिम किन्न १६ करोड ८८ लाख खर्च 
एनपिएलमा सहभागी आठ क्लब किन्न मालिकहरूले एक करोडदेखि तीन करोड ५६ लाखसम्म खर्च गरेका छन् । आठ टिम किन्न विभिन्न मालिकले कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ खर्च गरे । सबैभन्दा धेरै मूल्यमा नेपाल टी–२० क्रिकेट प्रालिले पोखरा एभेन्जर्स तीन करोड ५७ लाखमा खरिद गरेको थियो । काठमाडौं गुर्खाजलाई कान्तिपुर पब्लिकेसन्सले तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा किन्यो । जनकपुर बोल्टका लागि ड्रिम स्पोर्टस् प्रालिले दुई करोड पाँच लाख खर्चिँदा लुम्बिनी लायन्सलाई चौथो ठुलो मूल्यमा फरच्युना हेल्थ केयर प्रालिले एक करोड ८६ लाख चार रुपैयाँ लगानी गर्‍यो । त्यस्तै, चितवन राइनोजका लागि चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार र सुदूरपश्चिम रोयल्सलाई इम्पाइर स्पोर्टस् म्यानेजमेन्ट प्रालिले एक करोड ६८ लाख ८८ हजार ८ ८८ किने । यसबाहेक विराटनगर किंग्सलाई एमएडी ड्रिम्स स्पोर्टस् प्रालिले एक करोड ५१ लाख तथा कर्णाली याक्सलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले एक करोड ११ लाख ७० हजारमा किनेका थिए ।

दुईदेखि २० लाखसम्म एक खेलाडीलाई 
आठ टिमले अक्सनबाट ८० खेलाडीका लागि पाँच करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च गरेका थिए । मार्की खेलाडीले २० लाख पाउँदा ‘ए’ श्रेणीले १० देखि १५ लाखसम्म पाए । ‘बी’ श्रेणीले पाँचदेखि १० लाखसम्म पाए भने ‘सी’ श्रेणीले दुईदेखि पाँच लाखसम्म पाएका छन् । अक्सनमा लुम्बिनी लायन्सले १० खेलाडी किन्न सर्वाधिक ८४ लाख ७५ हजार खर्च गर्‍यो । सबैभन्दा कम चितवन राइनोजले ६३ लाख खर्च गर्‍यो ।

नमिठो अनुभवपछि एनपिएल 
क्यानको एउटा नमिठो अनुभवले जन्माएको हो– नेपाल प्रिमियर लिग (एनपिएल) । पहिलो प्रयासमा देखिएका समस्याबाट पाठ सिकेको क्यान आफैँ प्रतियोगिता गर्दै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने योजनामा छ ।

क्यानले २०७९ पुस र माघमा फ्रेन्चाइज नेपाल टी–२० लिग आयोजना गर्‍यो । र, त्यसको कमर्सियल पार्टनरमा भारतको सेभेन थ्री स्पोर्टस्लाई भित्र्यायो । भारतीय कम्पनी नै प्रतियोगिताको आयोजक बन्यो । तर, त्यही कम्पनीको कारण प्रतियोगिता पूरै विवादमा तानियो । खेलसमेत रोकिए । त्यसवेलाको पारिश्रमिक पनि पाएनन्, अझै पुरस्कार पनि पाएका छैनन् ।

पोखरा एभेन्जर्स र च्याम्पियन लुम्बिनी अल स्टारबाहेक अन्य टिममाथि मालिक कृत्रिम खडा गरेको आरोप लाग्यो । विराटनगर किंग्स, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, फार वेस्ट युनाइटेडको मालिक नै पत्ता लागेन । प्रतियोगितामा स्पट फिक्सिङ र म्याच फिक्सिङको आरोप लाग्यो । केही खेलाडी प्रहरी हिरासतमा पुगे । राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल प्रहरीको सिआइबी र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले छानबिन नै गर्‍यो ।

तत्कालीन क्यान अध्यक्ष र सचिवसँगै खेलाडी, पदाधिकारी, आयोजक र टिम मालिक तीनै पक्ष बयान दिन दैनिक हाजिर हुनुपर्‍यो । त्यसैकारण अहिलेको एनपिएलले समेत आइसिसीबाट सहजै मान्यता पाएन । सहजै टेस्ट खेलिरहेका खेलाडीलाई एनपिएलमा आबद्ध हुन दिइएन । राखेप पनि मान्यता दिन निकै हिचकिचायो ।

यी सबै घटनासँगसँगै क्यानको निर्वाचन पनि भयो । चतुरबहादुर चन्द पुनः अध्यक्ष भए र पारस खड्का सचिव बने । पारसले एनपिएललाई सपना बनाए । अध्यक्षसहित अन्य पदाधिकारीको विनासर्त सहयोग रह्यो । र, ठुलो गृहकार्यपछि क्यानले आफैँ प्रतियोगिता आयोजना गर्‍यो ।

जोडिँदै कलाकार
एनपिएलको माहोल बढ्नुमा कलाकारको सहभागिता पनि उस्तै छ । भारतको आइपिएलमा कलाकार जोडेको जस्तै एनपिएलमा पनि त्यस्तै प्रयोग गरिएको छ । अधिकांश टोलीको ब्रान्ड एम्बेस्डरमा कलाकार छन् । यसले मैदानको माहोलमा उत्साह थप्नेछ भने कलाक्षेत्रलाई खेलकुदसँग जोड्ने प्रयासलाई मद्दत पुग्नेछ । कर्णाली याक्सले स्वस्तिमा खड्कालाई फेस अफ कर्णाली तथा सिसन बानियाँलाई युथ एम्बेस्डर, लुम्बिनी लायन्सले राजेश हमाल, पोखरा एभेन्जर्सले सन्दीप क्षेत्री, विराटनगर किंग्सले रचना रिमाल र दयाहाङ राईलाई प्रचारप्रसार गर्न एम्बेस्डर बनाएका छन् । काठमाडौं गुर्खाजले महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मा तथा जनकपुर बोल्ट्सले नेपाललाई यू–१९ विश्वकपमा स्थान बनाउन महत्वपूर्ण योगदान पुर्‍याएकी कप्तान पूजा महतो र सुदूरपश्चिमले तेक्वान्दो खेलाडी दीपक विष्टलाई ब्रान्ड एम्बेस्डर बनाएको छ ।

कुन टिम कस्तो ?

सुदूरपश्चिम रोयल्स अलराउन्डर
सुदूरपश्चिमले गोलाप्रथामा पनि महेन्द्रनगरकै खेलाडी दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडी पायो । टिममा राष्ट्रिय टिमबाट खेलिसकेका अभिनाश बोहरासहित आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे र नरेश बुढाऐर सुदूरपश्चिममा छन् । दीपेन्द्रसहित विनोद, नरेश, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट सुदूरपश्चिम प्रदेशकै खेलाडी हुन् । प्रशिक्षकमा नेपाललाई एकदिवसीय मान्यता दिलाउने, टी–२० विश्वकप खेलाउने र यू–१९ विश्वकपमा सहभागी भइसकेका अनुभवी जगत टमाटा छन् । विदेशी खेलाडीमा टेस्टराष्ट्र इंग्ल्यान्डका सैफ अली जैव र न्युजिल्यान्डका बलर स्कट कुगेलेइन छन् । सैफले इंग्ल्यान्डको भाइटालिटी ब्लास्ट तथा स्कटले आइपिएलमा चेन्नई सुपर किंग्सको प्रतिनिधित्व गरेका छन् । एसोसिएट राष्ट्रबाट स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेन र नेपालका लागि परिचित युएईका रोहन मुस्ताफा छन् । समग्रमा सुदूरपश्चिम अलराउन्डरले भरिएको छ । 

धवनको आगमनले हौसिएको कर्णाली
भारतीय चर्चित खेलाडी शिखर धवन (गब्बर) टोलीमा भित्रिएपछि कर्णाली याक्स हौसिएको छ । भारतबाट फ्रेन्चाइज लिग खेल्न आउने उनी पहिलो खेलाडी हुन् । टोलीको मार्कीमा दुईपटक टी–२० विश्वकप खेलेका सोमपाल कामी छन् । राष्ट्रिय टोलीबाट खेलिरहेका सोमपालसँगै गुल्सन झा, देव खनाल, नन्दन यादव, मौसम ढकाल छन् । धवनले चारदेखि ६ खेल मात्रै खेल्ने भए पनि टोली ड्रेसिङ रुम सेयर गर्न उत्साहित छ । उनी पहिलो खेलबाटै टोलीमा उपलब्ध हुनेछन् । हुसैन तलातले नाम फिर्ता लिएपछि कर्णालीले ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ । वेस्टइन्डिजका चाडविक वाल्टन र हङकङका अनुभवी हिटर बाबर हायत पनि कर्णालीसँग हुनेछन् । टोलीमा कर्णाली प्रदेशकै दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिशसिंह ठकुरी छन् ।

लुम्बिनीसँग बेन कटिङको शक्ति
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल मार्की रहेको लुम्बिनीले अक्सनमा खेलाडी किन्न सबैभन्दा बढी खर्च गर्‍यो । टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका विकेटकिपर ब्याटर अर्जुन साउद, सन्दीप जोरा, विवेक यादव र सूर्य तामाङ छन् । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आशुतोष घिरैया पनि लुम्बिनीकै जर्सीमा देखिनेछन् । विदेशी खेलाडीमा अस्ट्रेलियाका अनुभवी खेलाडी वेन कटिङसँगै इंग्ल्यान्डका विकेटकिपर ब्याटर टम मुर्स, भारतबाट यू–१९ विश्वकप जितेका र अहिले अमेरिकाबाट खेलिरहेका उन्मुक्त चन्द तथा बारबाडोर्सका युवा पेसबलर रामोन सिमोन्ड्स छन् । टिमको प्रशिक्षकमा नेपाल राष्ट्रिय टिमका कन्सलट्यान्ट प्रशिक्षक नन्दन फाडनिस छन् । र, लुम्बिनीको कन्सलट्यान्ट प्रशिक्षक शक्ति गौचन छन् ।

महँगा खेलाडीको टोली गण्डकी
एनपिएलमा सबैभन्दा अनुभवी टिम भनेकै गण्डकीको पोखरा हो । यसका मालिक हुन्– व्यापारी सुबोध त्रिपाठी । अघिल्लो वर्ष नेपाल टी–२० हुँदा पनि त्रिपाठीले पोखरा नै लिएका थिए । त्यसैले यसपटक टिम किन्न सबैभन्दा महँगो तीन करोड ५७ लाख खर्च गर्न तयार भए । उनले क्रिकेटमा आफ्नो योगदान र यसमा देखिएको आशाका कारण खर्च गरेको बताएका छन् । नेपाल टी–२० मै चार करोडभन्दा बढी खर्च भएपछि उनी कुनै पनि हालतमा पोखराको ब्रान्ड गुमाउने पक्षमा थिएनन् ।

कुशल भुर्तेल मार्की रहेको टोलीको प्रशिक्षकमा आइपिएलको चेन्नई सुपर किंग्स हेरिरहेका राजीव कुमार छन् । पछिल्लोपटक आइपिएलको लखनउ सुपर जायन्ट्समा फिल्डिङ प्रशिक्षक रहेका जोन्टी रोड्स पोखरामा मेन्टर छन् । टोलीमा सागर ढकाल, आकाश चन्दसँगै विदेशी खेलाडीहरूमा नेदरल्यान्ड्सका बास डे लिडे, वेस्टइन्डिजका रेमोन रेइफर, इंग्ल्यान्डका म्याट क्रिटले, स्कटल्यान्डका माइकल लिस्क र अमेरिकाका आन्द्रेस गौस अनुबन्ध छन् ।

खेलाडीको सन्तुलन मिलाएको काठमाडौं
नेपाली र विदेशी खेलाडी अनुबन्ध गरेसँगै काठमाडौं सन्तुलित टिम देखिएको छ । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर करण केसी मार्की रहेको टिमको प्रशिक्षकमा वसन्त शाही ठकुरी छन् । शाही नेपाल राष्ट्रिय टिमका सहायक प्रशिक्षक हुन् । टोलीमा भीम सार्की, शंकर राना, सुमित महर्जन, राजु रिजाल, दीपेश कँडेलजस्ता खेलाडी छन् । टोलीका विदेशी खेलाडीमा नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्यान्ड्सका युवा ओपनर माइकल लेभिट, इंग्ल्यान्डका तीन खेलाडी स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सटरलाई अनुबन्ध गरेको छ । यसपटक टोली काठमाडौंमा उपाधि राख्ने योजनामा छ । त्यसका लागि युवा खेलाडीबाट आशालाग्दो प्रदर्शन निकाल्ने प्रशिक्षक ठकुरीको तयारी छ । 

विश्वविजेता सोहेल चितवनको आकर्षण
अन्य आठ टोलीको तुलनामा चितवन कागजमै कमजोर देखिएको छ । टोलीको प्रचारप्रसार, विदेशी खेलाडी अनुबन्ध र नेपाली खेलाडी छनोटमै टिम कमजोर रह्यो । भारतीय प्रशिक्षक उमेर पटवाल प्रशिक्षक रहेको टोलीमा मार्की खेलाडीमा निकै कम बोल्न रुचाउने कुशल मल्ल छन् । सन् २०१४ को विश्वकप खेलिसकेका अनुभवी खेलाडी शरद भेषवाकरले कुशलमा आत्मबल बढाउनुपर्ने देखिन्छ । चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको टिममा राष्ट्रिय टोलीका रिजन ढकाल र कमलसिंह ऐरी छन् । यस्तै, विदेशी खेलाडीमा इंग्ल्यान्डका लुक बेनकेन्स्टेइन, अफगानिस्तानका हसन एइसाखिल, नामिबियाका निकोल जान लोफ्टी–इटन र इंग्ल्यान्डका रवि बोपारा छन् । यो टोलीमा सबैभन्दा ठुलो नाम बोपाराकै हो ।

निसमको आगमनले आत्मविश्वासी जनकपुर
पोखरापछि एनपिएलमा नेपाल टी–२० लिग खेलेको अर्काे टोली जनकपुर हो । नेपाल टी–२० मा यो टिम लुम्बिनी अल स्टार नामबाट थियो । लुम्बिनी अल स्टारकै मालिक नीरज खतिवडा र उत्सव सिग्देल मिलेर जनकपुर टिम खरिद गरेका छन् । टोलीमा राष्ट्रिय टोलीका आसिफ शेख र अनिलकुमार शाह छन् । मार्की आसिफ भए पनि अनिललाई कप्तानी आर्म ब्यान्ड छाडेका छन् । यी दुवै खेलाडी मधेश प्रदेशका समेत हुन् । टोलीमा स्पिनर ललित राजवंशी र किशोर महतो पनि छन् । न्युजिल्यान्डका जिमी निसम भित्र्याएपछि टोलीको आत्माविश्वास बढेको देखिन्छ । पुबुदु दासानायके प्रशिक्षक रहेको टोलीमा अन्तर्राष्ट्रिय खेलाडीहरूमा श्रीलंकाका लहिरू मिलान्था, अमेरिकाका जोसुआ ट्रोम्प, पाकिस्तानका मोहम्मद मोहसिन र सोहेव मक्सुद छन् ।

विराटनगरलाई गुप्टिलको साथ
मार्कीमा नेपालका चर्चित स्पिनर सन्दीप लामिछाने पाएको विराटनगरले एकदिवसीय विश्वकपमा दोहोरो शतक प्रहार गरेका न्युजिल्यान्डका मार्टिन गुप्टिललाई टोलीमा भित्र्याएको छ । ३८ वर्षीय गुप्टिलले ४७ टेस्ट, १९८ एकदिवसीय र १२२ टी–२० आई खेलेका छन् । उनले सन् २०१५ मा भएको एकदिवसीय विश्वकपमा वेस्टइन्डिजविरुद्ध एकै खेलमा अविजित २३७ रन बनाएका थिए । गुप्टिलबाहेक टोलीमा विदेशी खेलाडीहरूमा ओमानका आकिब इल्यास, क्यानडाका कप्तान निकोलस किर्टोन र स्कटिस बलर क्रिस सोल छन् । नेपाली खेलाडीमा प्रतिश जिसी, लोकेश बम, बासिर अहमद, जितेन्द्र मुखिया, दीपक बोहरा, सुवास भण्डारी र नरेन भट्ट छन् । प्रतिश, लोकेश, बासिर र जितेन्द्र मुखिया राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी हुन् । यस्तै, उमेर समूहबाट खेलेका दीपक बोहरा, सुवास भण्डारी र नरेन भट्ट पनि छन् ।