Skip This
ग्रहरक्षाका लागि विश्व बैंक र आइएमएफको उन्मूलन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
केस्टन के पेरी
२o८१ मङ्सिर ११ मंगलबार १o:५७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ग्रहरक्षाका लागि विश्व बैंक र आइएमएफको उन्मूलन

Read Time : > 2 मिनेट
केस्टन के पेरी
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार १o:५७:oo

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नव–उपनिवेशवादी संस्थाका रूपमा युरो–अमेरिकी साम्राज्यवादी शक्तिको एजेन्डालाई अगाडि सार्छन्

यसपटकको राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन पनि तत्काल पहलकदमी लिने प्रतिबद्धता गर्न असफल भयो । बाढी, खडेरी र आँधीहुरीजस्ता चरम मौसमीय घटना विकसित मुलुक (उत्तरी गोलार्ध) का लागि नयाँ लाग्लान्, तर यस्ता घटनाले अल्पविकसित क्षेत्र (दक्षिणी गोलार्ध) विशेषतः क्यारेबियन क्षेत्र दशकौँदेखि ध्वस्त छन् । यी विपत्ले आर्थिक स्थिरतालाई मात्र नभई विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) जस्ता संस्थाको नकारात्मक भूमिकालाई पनि उजागर गरेका छन् । यी संस्थाको हस्तक्षेपले प्रायः जलवायु प्रभावित समुदायको समस्यालाई थप चर्को बनाएको छ । वास्तवमा ग्रहलाई जोगाउन र जीवन बचाउन यी संस्थाको उन्मूलन अपरिहार्य छ ।

क्यारेबियन द्वीप राष्ट्रले कठोर वास्तविकता भोगिरहेका छन् । १ जुलाईमा ‘हरिकेन बेरिल’ले ग्रेनाडामा प्रहार गर्‍यो, क्यारियाकु र पेटाइट मार्टिनिकलाई तहसनहस पार्दै लगभग सबै घर र पूर्वाधार नष्ट गर्‍यो, जसमा ६ जनाले ज्यान गुमाए । सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्समा पनि व्यापक विनाश भयो, जहाँ दुई राष्ट्रमा ८० हजार मानिस प्रभावित भए, २० हजार घरबारविहीन भए र ११ जनाको ज्यान गयो । जमैका पनि जलवायु कहरबाट अछुतो रहेन । त्यहाँ चारजनाले ज्यान गुमाए, एक लाख ६० हजार मानिस प्रभावित भए र कृषिमा आश्रित समुदाय तहसनहस भए । यी राष्ट्र आइएमएफ र विश्व बैंकसँग भएका विनाशकारी सम्झौताका बन्धक बनेका छन् ।

जलवायु विपत्का केन्द्रमा रहेको क्षेत्रलाई सहयोग गर्नुको सट्टा आइएमएफ र विश्व बैंकले राहत एवं पुनस्र्थापनाभन्दा बढी मितव्ययिता लागू गर्ने र वैश्विक पुँजीको प्राथमिकतामा आधारित ऋण सम्झौता थोपर्छन् । यसले सार्वजनिक ऋण झन् बढाउँछ र जलवायु संकट सामना गर्न आवश्यक सामाजिक पूर्वाधारमा लगानी घटाउँछ । निःसर्त राहत उपलब्ध गराउनुको सट्टा यी संस्थाले विपत्तिको बिमा, ऋण विनिमय र ऋण सम्झौतामा ‘विपत् प्रावधान’जस्ता संयन्त्रलाई प्रोत्साहन गर्छन् । 

‘राहत’ दिने दाबी गरिए पनि विपत् प्रावधानजस्ता उपायले जलवायु प्रभावित सरकार र समुदायमा खर्च र बोझ थप्छन् । उदाहरणका लागि क्यारेबियन अर्थशास्त्री एवं ‘ब्रिजटाउन इनिसिएटिभ’का मुख्य प्रस्तावक अविनाश पेर्साउदसमेतले समर्थन गरेको यो प्रावधान केवल तुफानमा हावाको गति वा विनाशको लागतजस्ता मानक पूरा भएपछि मात्र सक्रिय हुन्छ । हरिकेन बेरिलपछि ग्रेनाडाले यो प्रावधान प्रयोग गर्न सके पनि जमैकाले यस्तै आर्थिक संयन्त्रको पहुँच पाएन । जमैकाको मामिलामा आपत्कालीन बन्ड (कोष) प्रयोग गर्न सकिएन किनभने तुफानले तथाकथित ‘वायुदबाब’को प्रावधान पूरा गरेन, अर्थात् लगानीकर्ताको कोष सुरक्षित रह्यो । आपत्कालीन बन्ड भनेको एक उच्च प्रतिफल दिने ऋण संयन्त्र हो, जसको व्यवस्थापन विश्व बैंकले गर्छ, जसलाई प्राकृतिक विपत्को समयमा बिमा कम्पनीका लागि धन जुटाउन निर्माण गरिएको हुन्छ । यदि यी बन्डजस्ता संयन्त्रले भुक्तानी गर्न नसकेमा यी लगानीकर्ताले १५ प्रतिशतसम्मको नाफा कमाउँछन् । यी सीमा एवं सर्त वैज्ञानिक प्रमाणका आधारमा बनेका छैनन् र यी विपत्का जटिलता एवं अनिश्चिततालाई ध्यानमा राख्दैनन्, किनभने ती वित्तीय विश्लेषकले निर्धारण गरेका हुन्छन्, जसको उद्देश्य लगानीकर्ताका लागि उच्च नाफा सिर्जना गर्नु हो ।

पर्याप्त स्रोत नभएका कारण जमैका र ग्रेनाडाले पुनः स्थापनाका लागि आइएमएफ र विश्व बैंकबाट ऋण लिनुपर्ने स्थिति उत्पन्न हुन सक्छ, जसले ऋणको बोझ झनै बढाउनेछ । यी सम्झौताको दीर्घकालीन प्रभाव ०१७ मा हरिकेन इरमा र मारियाले नष्ट गरेका बारबुडा, सिन्ट मार्टिन र डोमिनिकामा स्पष्ट देखिन्छ । मैले ती द्वीपमा हालै गरेको भ्रमणमा ऋणसँग सम्बन्धित वित्तीय संयन्त्र केवल अपर्याप्त मात्र नभई अन्यायपूर्ण पनि भएको पाएको थिएँ । यी संयन्त्रले समुदायको सामाजिक, आर्थिक र पर्यावरणीय पुनः स्थापना सुनिश्चित गर्न सक्दैनन् । उदाहरणका लागि डोमिनिकामा तुफानपछिको जलवायु वित्तीय सहायता ऋणका रूपमा आएको थियो, जसले ऋण बढाउनेबाहेक केही गरेन । नतिजा ७० हजार जनसंख्या भएको यो देशले प्रत्येक वर्ष तीन करोड डलर ऋण सेवा गर्नुपर्ने स्थिति आएको छ । एक डोमिनिकन ट्याक्सी चालकका शब्दमा भन्ने हो ‘वास्तविक तुफान त तुफान गएपछि’ सुरु भएको थियो ।

आइएमएफ र विश्व बैंकले जलवायु प्रभावित समुदायमा पुर्‍याउने पीडा उपनिवेशवादको बिरासत र वास्तविकतासँग मेल खान्छ । यी संस्थाका उपायमा ट्रान्सएट्लान्टिक दास व्यापारलाई प्रोत्साहित गर्ने बिमा प्रणाली, पुँजी बजार र वित्तीय संयन्त्रमा आधारित छन् । आजका यी संस्थाले नव–उपनिवेशवादी संस्थाको रूपमा कार्य गर्दै युरो–अमेरिकी साम्राज्यवादी शक्तिको एजेन्डालाई अगाडि सार्छन् । यी संस्था विपत् कम गर्न नभई क्यारेबियन र अन्य क्षेत्रका जलवायु प्रभावित राष्ट्रमा ऋणको पासो थाप्न उद्यत् छन् ।

एकैसाथ धेरै जटिल र आपसमा जोडिएका संकटका समयमा यी संस्था जलवायु संकट र चुनौतीका लागि उपयुक्त छैनन् । वास्तवमा विश्व बैंक र आएमएफ फ्रान्ज फ्यानो भन्ने गरिएको ‘पृथ्वीका दरिद्र’का सेवा गर्ने उद्देश्यले खुलेका होइनन् । यी संस्था युरो–अमेरिकी प्रभुत्व र वर्चस्वलाई सुदृढ गर्न र वैश्विक पुँजीका चासोलाई रक्षा गर्न सिर्जना गरिएको थिए । त्यसैले हामी यी संस्थाबाट सुधारको आशा गर्न सक्दैनौँ । मानव जीवन र पृथ्वीको हितमा विश्व बैंक र आइएमएफको अन्त्य आवश्यक छ ।

(पेरी क्यालिफोर्निया विश्वविद्यालय लस एन्जलसका अफ्रिकन अमेरिकन अध्ययनका उपप्राध्यापक हुन्) 
अल जजिराबाट