इन्जिनियर विश्वेश्वरैया आफ्नो विषयको गम्भीर ज्ञानका कारण समस्त भारतभर चर्चित छन् । उनै विश्वेश्वरैया त्यस समय रेलमार्फत कतैको यात्रामा थिए । उनी रेलको जुन डिब्बामा यात्रा गर्दै थिए, सो डिब्बामा केही अंग्रेज अधिकारी पनि थिए । रेल आफ्नै गतिमा चलिरहेको थियो । अचानक विश्वेश्वरैया आफ्नो स्थानबाट हतारहतार उठे र आकस्मिक रूपमा रेल रोक्न प्रयोग गरिने जन्जिर ताने । ती अंग्रेज अधिकारीले उनलाई त्यसो गर्नबाट रोक्न खोजे । तर, उनले जन्जिर तानेरै छाडे । केहीबेरमै रेल रोकियो । रेल रोकिनासाथ रेलका सुरक्षा अधिकारीसहित कर्मचारीको टोली आएर उनीसित यसरी रेल रोक्नुको कारण सोधे ।
रेल अधिकारीको प्रश्नपछि गम्भीरतापूर्वक विश्वेश्वरैयाले भने– केही अगाडि रेलको लिकमा समस्या आएको छ । यही गतिमा रेल चलाउँदा पल्टिने सम्भावनासमेत रहन्छ । त्यसैले, अब केही अगाडिसम्म बिस्तारै सावधानीपूर्वक रेल चलाउनु आवश्यक छ । यही सूचना तपाईंहरूलाई दिन मैले यो जन्जिर तानेको हुँ । त्यहाँ उपस्थित कसैलाई पनि उनको भनाइमाथि विश्वास भएन । तर, केही अघि पुग्दानपुग्दै रेलको लिक साँच्चै बिग्रेको पाइयो । यो देख्दा रेलका सबै अधिकारी र यात्रु अवाक् बने । उनीहरू सबैले विश्वेश्वरैयालाई धन्यवाद दिँदै यो जान्न चाहे कि उनले रेलको लिकमा समस्या आएको कसरी अनुमान गरेका थिए ?
विश्वेश्वरैयाले भने— जब रेल आफ्नै गतिमा दौडिरहेको थियो, त्यतिखेर म ध्यानपूर्वक यसको पांग्रा र लिकको घर्षणबाट निस्कने आवाज सुनिरहेको थिएँ । त्यो आवाज सामान्य थिएन । रेलको लिकमा समस्या हुँदा निस्कने आवाज थियो त्यो । मैले त्यसैका आधारमा जुन अनुमान गरेका थिए, आखिर त्यो सत्य साबित भइछाड्यो । यो मेरो अहिलेसम्मको अनुभवको अनुमान हो ।