Skip This
सिस्नेरी घटना : हेटौँडामा घेरिए एन्फाका पदाधिकारी 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
२o८१ मङ्सिर ११ मंगलबार o८:o२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सिस्नेरी घटना : हेटौँडामा घेरिए एन्फाका पदाधिकारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार o८:o२:oo

१२ असोजमा सिस्नेरीको पहिरोमा पुरिएर ज्यान गुमाएका ६ बाल खेलाडीका अभिभावकहरूले सोमबार हेटौँडा एकेडेमीमा छलफल गर्न पुगेका एन्फाका महासचिव किरण राई र प्राविधिक निर्देशक हरि खड्कालगायतलाई चार घण्टा थुने

गत १२ असोजमा मकवानपुरको सिस्नेरीमा पहिरोमा पुरिएर ज्यान गुमाएका ६ बाल खेलाडीका परिवारले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईलगायतका पदाधिकारीलाई चार घण्टा घेरेर आफ्नो असन्तुष्टि पोखेका छन् । पीडित परिवारले एन्फाका पदाधिकारीहरूलाई दिउँसो १ बजे देखि साँझ ५ बजेसम्म घेरेका हुन् । महासचिव राईसहित एन्फाका प्राविधिक निर्देशक हरि खड्का, मकवानपुर जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य टीका लामा र विकासनारायण श्रेष्ठले हेटौँडामा रहेको एन्फा एकेडेमी सञ्चालनको सम्झौता गर्न पुगेका थिए । हेटौँडा एकेडेमीमा एन्फाका पदाधिकारी आएको थाहा पाएपछि ६ जना बाल खेलाडीका अभिभावकहरूले उनीहरूलाई चार घण्टा घेराउ गरी आफ्ना माग पूरा गर्न दबाब दिएका थिए ।

एन्फाका महासचिव राई र प्राविधिक निर्देशक खड्काले मकवानपुरको इन्द्रसरोवर २ मा रहेको सिस्नेरीको एन्फा एकेडेमीलाई हेटौँडा एकेडेमीमा स्थानान्तरण गर्ने सहमति भएको जानकारी दिएका छन् । मृतक बाल खेलाडीहरूका सालिक निर्माण गर्ने र उनीहरूको नाममा प्रतियोगिता सञ्चालन गर्ने विषयमा यसअघि भएको सहमतिलाई छिटो कार्यान्वयन गर्ने एन्फाले प्रतिबद्धता गरेको छ । यसअघि, एन्फा पदाधिकारीहरूले एकेडेमीका छलफल गरिरहँदा पीडित अभिभावकले आफूहरूको माग पूरा गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरीसमेत परिचालन गरिएको थियो। 

सिस्नेरीबाट हेटौँडामा सारिए विद्यार्थी
एन्फा र पीडित परिवारबिच भएको सहमतिअनुसार सोमबारै सिस्नेरी एकेडेमीमा रहेका १८ जना बाल खेलाडी हेटौँडा एकेडेमीको होस्टेलमा सारिएको एन्फाका प्राविधिक निर्देशक खड्काले जानकारी दिएका छन् । सिस्नेरी एकेडेमीमा रहेका २२ जना खेलाडीले हेटौँडा एकेडेमीमा बसेर अध्ययन र प्रशिक्षण गर्ने उनले बताए । एन्फाले नै सहुलियत शुल्कमा अध्ययन गराउने भएको छ । ‘सिस्नेरी घटनापछि एन्फा एकेडेमीमा रहेका विद्यार्थीको फुटबल प्रशिक्षणसहित पढाइमा अवरोध पुगेको हुँदा चाँडो व्यवस्थापन गर्छौँ,’ खड्काले भने । 

एन्फाको निर्णयमा १० क्लबको असहमति
एन्फाले ‘बी’ डिभिजन लिग आयोजनाको तयारी गरिरहँदा १० क्लबले असहमति जनाएका छन् । ‘बी’ डिभिजन लिगमा आबद्ध १० क्लबले सोमबार संयुक्त रूपमा विज्ञप्ति निकाल्दै १३ माघबाट गर्ने भनेको लिगको निर्णयमा ध्यानाकर्षण भएको जनाएका छन् । ६ मंसिरमा १४ मध्ये चार क्लबका पदाधिकारीबिचको छलफलमा एन्फाले लिगको मिति घोषणा गरेको हो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षमा बसेको बैठकमा बाँसबारीसँगै श्रीकुमारी, श्री भगवती र प्लानिङ ब्वाइज मात्रै सहभागी भए ।