Skip This
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण कार्यतालिका : १८ मंसिरमा ओली–सी वार्ता 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
फाइल तस्बिर
२o८१ मङ्सिर १० सोमबार o७:११:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण कार्यतालिका : १८ मंसिरमा ओली–सी वार्ता 

परराष्ट्रमन्त्री राणा बिहीबार बेइजिङ जाँदै, बिआरआई कार्यान्वयन योजनामा सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच अझै मिलेन विवाद 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार o७:११:oo

प्रधानमन्त्री केपी ओली तथा उनीअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको चीन भ्रमणको कार्यतालिका तय भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले आइतबार परराष्ट्रमन्त्री राणासँग परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटका क्रममा कार्यतालिकाबारे ब्रिफिङ गरेका छन् । 

प्रधानमन्त्री ओली १७ मंसिरमा र परराष्ट्रमन्त्री राणा बिहीबार (१३ मंसिरमा) चीन भ्रमण जाने तय भएको छ । चिनियाँ राजदूत सङले आइतबारको शिष्टाचार भेटमा बिआरआईलगायतका विषयमा कुराकानी नगरेको स्रोतले बताएको छ । राजदूत सङ परराष्ट्रमन्त्री राणाको भ्रमणपूर्व नै बेइजिङ जानेछन् । 

सत्तारूढ दल कांग्रेस र एमालेबिच बिआरआई कार्यान्वयन योजनामा सम्झौता गर्ने विषयमा विवाद कायमै छ । प्रधानमन्त्री यस्तो सम्झौतामा हस्ताक्षर गर्ने पक्षमा रहे पनि कांग्रेसले ऋणमा बिआरआई परियोजना ल्याउन नसकिने अडान राखेको छ । कांग्रेस र एमालेबिच कार्यदल र शीर्षस्तरमै सहमति जुटाउने कोसिस जारी छ । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भ्रमण चार दिनको हुनेछ । उनी बेइजिङबाहेक कुनै चिनियाँ सहर जाने कार्यक्रम छैन । प्रधानमन्त्री ओलीले १८ मंसिरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री लीबीच द्धिपक्षीय वार्तापछि दुई देशबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ प्रधानमन्त्रीले दिवाभोज आयोजना गर्नेछन् । चिनियाँ जनमुक्ति सेनाको गार्ड अफ अनरसहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले स्वागत गर्नेछ । 

प्रधानमन्त्री ओली १९ मंसिरमा नेपाली राजदुताबासद्धारा आयोजना हुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरूद्धारा आयोजत सम्मेलनलाई १९ मंसिरमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली २० मंसिरमा स्वदेश फर्किने भ्रमण तालिका छ । 

१३ मंसिरमा बेइजिङ जाने परराष्ट्रमन्त्री राणाले १४ मंसिरमा चिनियाँ विदेशमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य वाङ यीसँग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । बेइजिङ बसाईका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री राणाको जापानमा स्वास्थ्य जाँच फलोअपका लागि जाने कार्यक्रम भने स्थगीत भएको उनका प्रेस सल्लाहकार एकराज पाठकले बताए । यस अघि उनी पहिला जापान जाने र उतैबाट बेइजिङ जाने तयारी थियो ।