एकपटक कन्फ्युसियस कुनै जंगलको बाटोछेउमा रहेको रुखको फेदमा बसिरहेका थिए । त्यसै, बाटो हुँदै देशका सम्राट् लावालस्कर अघिपछि लगाउँदै कतै जाँदै थिए । सुनसान जंगलमा बसिरहेका कन्फ्युसियसलाई देखेर सम्राट रोकिए । उनले कन्फ्युसियससित सोधे– यसरी सुनसान जंगलमा एक्लै बस्ने तिमी को हौ ? कन्फ्युसियसले जवाफ दिए– म यहाँको सम्राट् हुँ । अनि, तपाईंचाहिँ को हो नि ?
आफ्नो लावालस्कर र सेनाको फौज देखाउँदै सम्राट्ले भने– मेरो लावालस्कर र सेना देखेनौ ? यत्ति देखेका भए पक्कै चिन्ने थियौ, म नै यहाँको असली सम्राट् हुँ । तर, यो सुनसान जंगलमा बसेर पनि तिमीमा आफू सम्राट् भएको एउटा गम्भीर भ्रम रहेछ । तिमी कुनै पनि वेला गम्भीर संकटमा पर्न सक्छौ । त्यसैले, भ्रम छाड र यथार्थमा आऊ । कन्फ्युसियसले मुस्कुराउँदै भने भने– सेवक त्यसलाई चाहिन्छ, जो अल्छी छ ।
अनि, सेना त्यसलाई चाहिन्छ, जो कमजोर छ, जसका वरिपरि शत्रु नै शत्रु छन् । अनि, धनसम्पत्ति जो दरिद्र छ, उसलाई चाहिने हो । म अल्छी पनि छैन र मेरा शत्रु पनि छैनन् । अनि म दरिद्र पनि छैन । त्यसैले, मलाई कहिल्यै सेवक, सेना र धनको आवश्यकता नै परेन । कन्फ्युसियसको जवाफ सुनेर वास्तविक सम्राट् नतमस्तक भए ।