भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन भारी बहुमतले विजयी भएको छ । २८८ सिट रहेको महाराष्ट्रमा सत्तारुढ गठबन्धन भारी बहुमतले विजयी भएको हो । भारतीय जनता पार्टी (भाजापा) नेतृत्वको एनडिए गठबन्धनले १८५ सिट जितिसकेको छ भने ४४ सिटमा अग्रता कायम गरेको छ । विपक्षी गठबन्धन ‘महा विकास अघाडी (एमभिए)’ ४१ सिटमा विजयी भएको छ भने ११ सिटमा अगाडि छ । एमभिएमा कंग्रेससँगै उद्धव ठाकरेको शिवसेना, शरद पवारको एनसिपी (एसपी) लगायत पार्टी छन् । तीन सिटमा अन्य दल विजयी भएका छन् । महाराष्ट्रका सबै २८८ विधानसभा सिटका लागि नोभेम्बर २० मा मतदान भएको थियो । महाराष्ट्रको यसपटकको चुनाव इतिहासकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो । चुनाव जितेको भाजपाले अब गठबन्धन धर्मलाई सन्तुलनमा राख्दै आफ्नो सर्वोच्चतालाई जोड दिने विश्लेषकहरूले अनुमान गरेका छन् ।
उता झारखण्डमा विधान सभामा जेएमएमसहितको गठबन्धन विजयी भएको छ । ८१ सदस्यीय विधानसभामा जेएमएमले ५३ सिट जितिसकेको छ भने तीन सिटमा अग्रता कायम राखेको छ । सत्तारुढ भाजपाले २१ सिट जितेको छ भने तीन सिटमा अग्रता कायम गरेको छ । एक सिटमा सानो दल विजयी भएको छ । महाराष्ट्र र झारखण्डको विधानसभा निर्वाचनको शनिबार मतगणना भएको थियो ।
वायनाडमा प्रियंका गान्धी बाड्रा विजयी
भारतीय कंग्रेसकी महासचिव प्रियंका गान्धी बाड्रा लोकसभा सदस्यमा विजयी भएकी छिन् । केरलको वायनाड क्षेत्रको उपनिर्वाचनमा उनी विजयी भएकी हुन् । शनिबार भएको मतगणनामा बाड्राले ६ लाख २२ हजार ३३८ मत पाएकी थिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी भारतीय कम्युनिस्ट पार्टी (भाकपा) का सत्यन मोकरीले दुई लाख ११ हजार ४०७ मत मात्रै ल्याउन सके । त्यस्तै, भारतीय जनता पार्टीकी नाभ्या हरिदासले केबल एक लाख नौ हजार मत प्राप्त गरिन् ।
यस वर्ष जुनमा भएको लोकसभा निर्वाचनमा कंग्रेस नेता राहुल उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड दुवै क्षेत्रबाट विजयी भएका थिए । दुईमध्ये एउटा क्षेत्र छाड्नुपर्ने भएपछि उनको स्थानमा प्रियंका गान्धी वायनाडबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी थिइन् ।