चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो चार महिनामा सेयर र घरजग्गा कारोबारबाट सरकारलाई करिब २१ अर्ब राजस्व अर्थात् पुँजीगत लाभकर प्राप्त भएको छ । त्यस्ता कारोबारमा भएको नाफाबाट लगानीकर्ता र जग्गाधनीले चार महिनामा २० अर्ब ८७ करोड ३२ लाख ९३ हजार रुपैयाँ कर तिरेका हुन् ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) र भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त छुट्टाछुट्टै तथ्यांकले यस्तो देखाएको हो । यो राजस्व गत आवको सोही अवधिको तुलनामा ६० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १३ अर्ब पाँच करोड १५ लाख रुपैयाँ यस्तो राजस्व संकलन भएको थियो । गत आवभरमा भने सेयर र घरजग्गा कारोबारबाट ४७ अर्ब ५२ करोड नौ लाख राजस्व उठेको थियो ।
सेयरबाट आठ अर्ब १६ करोड राजस्व
सिडिएससीबाट प्राप्त तथ्यांकअनुसार चार महिनामा सेयर कारोबारबाट आठ अर्ब १६ करोड २६ लाख पुँजीगत लाभकर उठेको छ । गत आवको पहिलो चार महिनामा ८४ करोड ४६ लाख ९५ हजार रुपैयाँ यस्तो राजस्व उठेको थियो ।
गत आवभरमा भने पाँच अर्ब ५० करोड ७७ लाख रुपैयाँ यस्तो पुँजीगत लाभकर उठेको थियो । चालू आवको चार महिनामा भने गत आवकै भन्दा धरै कर संकलन भएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
सेयर कारोबारमा हुने खुद नाफामा दीर्घकालीनतर्फ ५ प्रतिशत र अल्पकालीनतर्फ ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । कुनै लगानीकर्ताले सेयर किनेर एक वर्षपछि बिक्री गर्दा हुने नाफामा ५ प्रतिशत कर तिर्नुपर्छ । यसैगरी, लगानीकर्ताले सेयर किनेको एक वर्षभित्र बिक्री गर्दा हुने नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । सेयर कारोबार गर्दा घाटा भएमा कर तिर्नुपर्दैन । सिडिएससीले सेयर कारोबारबाट सरकारलाई जाने राजस्वको एकीकृत तथ्यांक राख्ने गर्छ ।
घरजग्गाबाट पौने १३ अर्ब राजस्व
समीक्षा अवधिमा घरजग्गा कारोबारबाट पौने १३ अर्ब रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा यस्तो कारोबारबाट १२ अर्ब ७१ करोड ६ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने घरजग्गा कारोबारबाट १२ अर्ब २० करोड ६८ लाख रुपैयाँ यस्तो राजस्व उठेको थियो । गत आवभर भने ४२ अर्ब एक करोड ३२ लाख रुपैयाँ यस्तो राजस्व उठेको विभागको तथ्यांकमा उल्लेख छ ।
चार महिनामा देशभर एक लाख ४० हजार ६ सय ७४ घरजग्गाको कारोबार भएका छन् । गत आवको सोही अवधिमा एक लाख ४० हजार आठ सय ७६ वटा यस्ता कारोबार भएका थिए । गत आवमा नेपालभर पाँच लाख ३७ हजार दुई सय ९५ वटा घरजग्गाको कारोबार भएका थिए ।