चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो चौमासिक (साउनदेखि कात्तिकसम्म)मा लक्ष्यभन्दा ८३ अर्ब १३ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ ।
सरकारले यो अवधिमा चार खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो, तर तीन खर्ब २३ अर्ब रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । चालू आबको सुरुदेखि नै लक्ष्यअनुसार राजस्व संकलन हुन सकिरहेको छैन ।
तर, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत आव ०८०/८१ सँग तुलना गर्दैै यो वर्ष १७ प्रतिशत बढी राजस्व उठेको तुलनात्मक विश्लेषण प्रस्तुत गरेका छन् ।
बिहीबार दिउँसो अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा अर्थमन्त्री पौडेलले राजस्व संकलनको तुलनात्मक विवरण प्रस्तुत गर्न लगाएका थिए । बैठकमा चालू आवको चार महिना (कात्तिक मसान्तसम्म)मा तीन खर्ब २३ अर्ब रुपैयाँ राजस्व संकलन भएको विवरण प्रस्तुत गरिएको थियो । गत आवको पहिलो चार महिनामा भने दुई खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो ।
प्रत्येक वर्ष राजस्व संकलनमा वृद्धिदर हासिल हुने सामान्य प्रवृत्तिलाई लुकाउन खोजेर अर्थमन्त्री पौडेलले यो वर्ष १६.८५ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको जानकारी गराएका थिए । तर, सरकारले संकलन गरेको राजस्व आफैँले निधारण गरेको लक्ष्यभन्दा कम हो ।
आयात–निर्यात व्यापारमा सुधार हुन नसक्दा भन्सारतर्फको राजस्व असुली लक्ष्यअनुसार हुन सकिरहेको छैन । त्यस्तै, आन्तरिक अर्थतन्त्रसमेत अपेक्षाकृत चलायन नहँुदा आयकर, मूल्य अभिवृद्धि करलगायत असुलीमा सुधार देखिएको छैन ।
सरकारले चालू आवमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य राखेको छ । जुन गत आवको तुलनामा ३४ प्रतिशत बढी हो । हालसम्म संकलन भएको राजस्वको स्थितिले कुल लक्ष्य भेट्टाउन मुस्किल देखिएको छ ।
बैठकमा अर्थमन्त्री पौडेलले स्रोत र खर्च व्यवस्थापन महŒवपूर्ण रहेको उल्लेख गर्दै करको दायरा विस्तार, बक्यौता असुली कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचारण, अन्तरमन्त्रालय समन्वय, भन्सार विन्दुभन्दा बाहिरका गतिविधि नियन्त्रण, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौतीलगायतका पक्षलाई ध्यान दिएर अघि बढ्नुपर्ने बताएका थिए ।
उनले कर संकलनको प्रणाली भत्काउन खोज्नेलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्नसमेत निर्देशन दिएका थिए ।
त्यस्तै, अर्थसचिव डा. रामप्रसाद घिमिरेले राजस्वको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नुपर्ने बताएका थिए । राजस्व सचिव दिनेशकुमार घिमिरेले लक्ष्यलाई ध्यान दिएर थप मिहिनेत आवश्यक रहेको बताए ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले विगतको तुलनामा राजस्व संकलन वृद्धि भए तापनि चालू आर्थिक वर्षको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबिच समन्वय तथा सहयोग जरुरी रहेको र त्यसलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको जानकारी गराएका थिए ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व संकलनका क्षेत्रमा देखापरेका अवसर र कमजोरीलाई सुधार गर्नुपर्ने धारणा राखेका थिए ।
पाँच वर्षदेखि लक्ष्य भेट्टाउन मुस्किल
पछिल्ला पाँच वर्षयता लक्ष्यअनुसार राजस्व संकलन नभएको पनि मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ मा ११ खर्ब १२ अर्ब तीन करोड रुपैयाँ लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति भएको थियो । त्यसैगरी, आर्थिक वर्ष ०७७/७८ मा १० खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकोमा ९२.५० प्रतिशत प्रगति हासिल भएको थियो । आर्थिक वर्ष ०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ९०.२४ प्रतिशत प्रगति हासिल भएको थियो ।
आर्थिक वर्ष ०७९/८० मा १४ खर्ब तीन अर्ब १५ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा ६८.२३ प्रतिशत र गत आवमा १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा ७४.५४ प्रगति भएको थियो ।