मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर ७ शुक्रबार o६:५४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सहकारी सञ्चालकले पारिवारिक सम्बन्ध बिग्रिएको नाटक गरेर सम्पत्ति जोगाए, बचतकर्ताको बचत मात्रै डुबेन, परिवार नै टुट्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार o६:५४:oo

कास्कीको पोखरा महानगरपालिका– १९ का ७२ वर्षीय खगेन्द्र काफ्लेले ०६३ मा ओरेन्टल को–अपरेटिभमा १५ लाख रुपैयाँ राखे । छोरी शीतलले पनि सोही सहकारीमा अर्काे १५ लाख थपिन् । श्रीमती सावित्रीसँग रहेको १० लाख पनि ओरेन्टल सहकारीमै राखे । प्रत्येक महिना १८ प्रतिशत ब्याज दिने भनेपछि उनीहरूले घरमा भएभरको रकम सहकारीमै राखे पनि हालसम्म ब्याज त के साँवासमेत फिर्ता पाउन सकेका छैनन् । हाल सावित्रीको भने मृत्यु भइसकेको छ ।

पीडित काफ्लेले भने, ‘म विद्युत् प्राधिकरणमा जागिरे थिएँ । सेवानिवृत्त हुँदा केही रकम मसँग थियो । लगेर ओरेन्टलमा राखेँ । छोरी र श्रीमतीको साथमा रहेको पैसा पनि त्यहीँ लगेर राखियो । आज १७ वर्ष भइसक्यो, तर ओरेन्टलबाट ब्याज त परको कुरा साँवा नै पाउन सकेको छैन । यसबिचमा धेरै संघर्ष गरेँ । अड्डा अदालत धाएँ । तर, न्याय मिलेन ।’

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार ओरेन्टलले काफ्लेसहित चार हजार २५९ बचतकर्ताको तीन अर्ब १९ करोड ५० लाख २२ हजार आठ सय २२ रुपैयाँ ठगी गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित सहकारी जाँचबुझ आयोगले भने ओरेन्टलले ६ हजार ८९४ पीडितको ६ अर्ब ८६ करोड रुपैयाँ ठगी गरेको तथ्यांक सार्वजनिक गरेको थियो ।

ओरेन्टल ०६८ मा डुब्यो । अध्यक्ष सुधीर बस्नेत पक्राउ परे । बचतकर्ता एकजुट भएर सहकारी विभागमा पुगे । ओरेन्टलको नाममा रहेको जग्गा रोक्का गर्न निवेदन दिए । सहकारी विभागले ललितपुरको छम्पीमा रहेको सात सय र भक्तपुरको गुन्डुमा रहेको दुई सय रोपनी जग्गा रोक्का गर्न मालपोत कार्यालयलाई पत्र लेख्यो । पत्रपछि जग्गा रोक्का भयो भनेर बचतकर्ता ढुक्कले बसे । तर, मालपोतले जग्गा रोक्का गरेन । बरु, सुधीरले सहकारीका बचतकर्ताको रकम अपचलन गरेर जोडेको अथाह सम्पत्ति जोगाउन योजनाबद्ध रूपमा श्रीमती नितुसँग ‘कागजी सम्बन्धविच्छेद’ गरे । सम्पत्तिको व्यवस्थापन गरे, केही वर्षपछि जेलबाट पनि छुटे । ‘कागजी सम्बन्धविच्छेद’ गरेकै श्रीमती नितुसँगै बस्न थाले । बचतकर्ताको रकम भने कहिल्यै फिर्ता गरेनन् ।

आमपीडितको तर्फबाट मुद्दा लडिरहेका काफ्लेले भने, ‘ओरेन्टलले सात हजारभन्दा धेरै सर्वसाधारणको सात अर्ब रुपैयाँभन्दा धेरै रकम डुबाइदियो । सबैसँग महँगो ब्याज दिन्छु भनेर रकम जम्मा गरेको रहेछ । तर, हालसम्म सावाँसमेत पाउन सकेका छैनौँ । ओरेन्टलविरुद्ध लडाइँ लड्दालड्दै कतिपय पीडितको मृत्यु भइसकेको छ । उनीहरूले  किरिया खर्चसमेत पाउन सकेनन् ।’

सिभिल सहकारीमा लाखौँलाख बचत गरेकाहरूको मर्का पनि उस्तै छ । काठमाडौंको टोखानिवासी ६९ वर्षीय डिल्लीप्रसाद भट्टराईले जीवनभर कमाएको ३३ लाख सिभिलमा जम्मा गरे । १८ प्रतिशत ब्याज पाउने भनेपछि श्रीमतीसँग रहेको ५० लाख र दिदी ९२ वर्षीया प्रतिभा तिवारीको २५ लाख पनि सोही सहकारीमै राख्न लगाए । तर, सिभिलले उनीहरूलाई कबुल गरेको ब्याज त के सावाँसमेत फिर्ता गरेन । सिभिलका अध्यक्ष इच्छाराज तामाङसहितको टोली अहिले डिल्लिबजारस्थित कारागारमा आरामले बसेका छन् । भट्टराईजस्ता एक हजार ५०० पीडित डुबेको रकम फिर्ता लिन तीन वर्षदेखि कानुनी लडाइँमा छन् । जसमध्ये केहीको लडाइँकै क्रममा मृत्यु भइसकेको छ । डुबेको रकम उठ्ने ठेगान छैन ।

सिभिलविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा एक हजार ४८७ पीडितले पाँच अर्ब ५९ करोड ३३ लाख ११ हजार १३७ ठगी भएको भन्दै जाहेरी दिएका थिए । सिभिलको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । पीडितका अनुसार ठगीमा संलग्न पुर्पक्षका लागि कारागार चलान भएयता मुद्दा एकपटक पनि पेसीमा चढेको छैन । इच्छाराजले जेलमै बसेर मातहतको सम्पत्ति व्यवस्थापन गरिसकेका छन् । सहकारीको सम्पत्ति निजी बनाएपछि अहिले त सिभिल उल्टै ऋणमा छ । बचतकर्ताको रकम फिर्ता हुने क्रम झन् अनिश्चित बन्न पुगेको छ ।

बचतकर्ताको रकम अपचलन गर्ने सञ्चालकले सम्पत्ति जोगाउन श्रीमतीसँग देखावटी रूपमा सम्बन्धविच्छेद गरे । तर, सहकारीमा बचत गर्नेहरूको भने लाखौँ डुबेपछि घरवार साँच्चिकै बिग्रिएको छ । यसैमध्येका एक हुन्, भक्तपुरको सूर्यविनायक नगरपालिका– ३ का ७० वर्षीय यमबहादुर विष्ट । उनले झापाको शिवसताक्षी नगरपालिका– ९ स्थित ३ बिघा जग्गा बेचेको ११ करोड २७ लाख ललितपुर कुमारीपाटीस्थित गुडविल सहकारीमा जम्मा गरेका थिए । तर, उनले त्यसरी जम्मा गरेको रकम १ रुपैयाँ पनि चलाउन नपाई सहकारीले डुबाइदियो । डुबेको रकम फिर्ता गर्न विष्टले सबै प्रयत्न गरे । तर, सफल हुन सकेनन् । रकम डुबेकै कारण अहिले श्रीमती साथमा छैनन् । छोराछोरी टाढा भएका छन् । दाजुभाइबिच बोलचाल छैन ।

मानसिक रूपमा विक्षिप्त भइसकेका उनी मन बहलाउन कहिले सहकारीपीडितको आन्दोलनमा हिँड्छन् त कहिले शान्ति बाटिकास्थित बगैँचामा टहलिन आइपुग्छन् । गुडविलले विष्टसहित पाँच सयभन्दा धेरै सर्वसाधारणको एक अर्बभन्दा धेरै रकम ठगी गरेको छ । उनीहरूमध्ये केही आन्दोलनरत छन् । केहीको मृत्यु भइसकेको छ । गुडविलका अध्यक्ष दिवाकर श्रेष्ठ भने अहिले पुर्पक्षका लागि जेलमा छन् ।