ट्राफिक व्यवस्थापन स्वचालित गराउने गरी ललितपुर महानगरपालिकाले एडभान्स ट्राफिक कन्ट्रोल सिस्टम (एटिसिएस)सहितका ट्राफिक लाइट जडान गरेको छ । इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन् ।
ललितपुर महानगरपालिकाले एक महिनाअघि मात्रै कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको छ । पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको छ ।
लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिपलाई जानकारी गराउँछ । सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ । काठमाडौंतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–४० सेकेन्ड मात्रै पर्खे पुग्छ ।
महानगरका मेयर चिरिबाबु महर्जनले आफैँ अध्ययन गरेर ट्राफिक व्यवस्थापन गर्ने लाइट जोडिएको र यो नेपालमै पहिलोपटक भएको बताए । ‘हाम्रो उद्देश्य काठमाडौंतर्फको ट्राफिक जाम र लाइट पार गरेर थापाथली पुल हुँदै ललितपुरतर्फ आएकालाई केही समय पनि रोक्न नपरोस् र ट्राफिक लाइटले सहजता प्रदान गरोस् भन्ने हो,’ उनले भने, ‘पहिलो चरणमा पाँच स्थानमा राखेका छौँ, अन्य स्थानमा पनि लाइट राख्ने योजना बनाएका छौँ ।’
यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि छ । यससँगै राखिएको भेइकल डिटेक्टरले सवारीसाधनको नम्बर तथा विवरण रिड गर्छ । सिस्टमले नै कुन दिशातर्फ कति टाइमिङ चाहिने हो आफैँ सेट गर्छ । हाल यसको मनिटरिङ सिस्टम ट्राफिक कार्यालयमा राखिएको छ । सोहीकारण कहिलेकाहीँ भिभिआइपी सवारी हुँदा भने ट्राफिकले लाइट बन्द गर्ने गरेको छ । तर, महानगरले यो लाइट बन्द नगर्न ट्राफिकलाई अनुरोध गरेको छ ।
लागत महँगो, पाँच स्थानमा जडान गर्दा ६ करोड ७९ लाख खर्च
इन्टेलिजेन्स ट्राफिक सिस्टम निकै महँगो छ । पाँच स्थानमा जडान गर्दा ६ करोड ८९ लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ । ठेकेदार कम्पनी नमुना पावर टेक ग्रिड जेभीले पाँच वर्षको मर्मत खर्चसहित उक्त मूल्यमा ट्राफिक लाइट जडान गरेको महानगरपालिकाका प्राविधिक जुनु त्वानाले जानकारी दिइन् । मनिटरिङ सिस्टमको पहुँच काठमाडौं उपत्यका ट्राफिक प्रहरीलाई दिइएको छ ।