मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Monday, 18 November, 2024
सौरभ यादव राजविराज
२o८१ मङ्सिर ३ सोमबार ११:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महिला कैदी बलात्कार प्रकरण : आरोपी कर्मचारीमाथि पक्राउ पुर्जी जारी, जागिर खोसियो 

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ मङ्सिर ३ सोमबार ११:o६:oo

सप्तरी जिल्ला कारागारमा ३० वर्षीया महिला कैदीबन्दी बलात्कृत घटनाका आरोपित कारागारका कर्मचारी राजविराज नगरपालिका– ८ का ३५ वर्षीय चन्दन भनिने चन्द्रनारायण यादवविरुद्ध सप्तरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

पीडितले दिएको जाहेरी आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। उनले भने, ‘पक्राउ पुर्जी जारी भएको छ । हामी खोजतलास गर्दै छौँ। अझै पक्राउ परेका छैनन्।’

जाहेरीअनुसार बलात्कारका आरोपी सप्तरी राजविराज नगरपालिका– ८ का चन्द्रनारायण यादव हुन्। उनले महिला कैदीबन्दीलाई कारागार कार्यालयको प्रशासनिक भवनस्थित बिजुलीघरभित्र लगी ५ माघ ०८० को अपराह्न ४ः३० बजे बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

पटकपटक विवादमा पर्दै आएका आरोपित १७ वर्षदेखि कारागार कार्यालय सप्तरीमा करार सेवामा कार्यालय सहयोगीको रूपमा कार्यरत छन्। पीडित महिलालाई सरुवा गरी अहिले उदयपुर कारागार पुर्‍याइएको छ।

जाहेरीमा उल्लेख भएअनुसार पीडित महिलाले १६ साउन ०७६ देखि सप्तरी महिला कारागारमा कैद सजाय भुक्तान गर्दै आएकी थिइन्। उनले एक वर्षअघि मात्रै नाइकेको जिम्मेवारी पाएकी थिइन् । जसले गर्दा उनलाई कारागारको प्रशासनिक कार्यालयसम्म आउजाउ र कर्मचारीसँग कुराकानी गर्न छुट थियो। सोही क्रममा उनी ५ माघ ०८० का दिन कारागारस्थित प्रशासनिक भवन पुगेको अवस्थामा कारागारमा कार्यालय सहयोगीका रूपमा कार्यरत चन्दनले विशेष काम छ भन्दै परिसरभित्रको बिजुलीघरमा लगेर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

जाहेरीअनुसार चन्दनले सल थुतेर महिलाको मुख बन्द गरी सिसी देखाउँदै हल्ला गरे अनुहारमा एसिड खन्याइदिने धम्की दिएका थिए।

पक्राउ पुर्जी जारी भएपछि जागिर खोसियो 
पक्राउ पुर्जी जारी भएपछि आरोपित चन्द्रनारायण यादवको जागिर खोसिएको छ। आइतबार कारागारले यादवलाई करार सम्झौता रद्द गरिएको पत्र पठाएको छ ।
 
कारागार कार्यालयकै कर्मचारीबाट महिला कैदी बलात्कृत शीर्षकमा गत असोज ११ गते नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि सप्तरी प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ।