Skip This
नेपालको विद्युत् आज बंगलादेश निर्यात
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
२o८१ कार्तिक ३० शुक्रबार o६:१४:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालको विद्युत् आज बंगलादेश निर्यात

शुक्रबार सवा ११ घण्टा विद्युत् पठाइने, २८ हजार डलर आम्दानी हुने

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार o६:१४:oo
  • सम्झौताअनुसार यस वर्ष (सन् २०२४) शुक्रबार मात्रै बंगलादेशमा विद्युत् निर्यात हुने, त्यसपछि १५ जुन ०२५ देखि पुनः निर्यात
  • सीमा नै नजोडिएको बंगलादेशमा पनि विद्युत् निर्यात, दक्षिण एसियामा पहिलो उपक्षेत्रीय विद्युत् व्यापार

शुक्रबार नेपालको ४० मेगावाट विद्युत् भारतीय प्रसारण लाइनमार्फत सीमा नै नजोडिएको क्षेत्रीय मुलुक बंगलादेशमा निर्यात हुने भएको छ । शुक्रबार दिउँसो १२:४५ बजेदेखि राति १२ बजेसम्म अर्थात् ११ घण्टा १५ मिनेट ४० मेगावाट विद्युत् निर्यात गरिनेछ । सम्झौताअनुसार यस वर्ष (सन् २०२४) शुक्रबार मात्रै बंगलादेशमा विद्युत् निर्यात हुनेछ । 

गत असोजमा नेपाल, भारत र बंगलादेशबिच भएको विद्युत् निर्यातसम्बन्धी सम्झौताअनुसार १५ जुनदेखि १५ नोभेम्बरसम्म मात्रै नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न पाइन्छ । शुक्रबार नोभेम्बर १५ तारिख हो । त्यसपछि १५ जुन ०२५ देखि पुनः बंगलादेशमा विद्युत् निर्यात गरिनेछ । नेपालबाट बंगलादेशमा विद्युत् निर्यात दक्षिण एसियामा यो पहिलो उपक्षेत्रीय विद्युत् व्यापार हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणबाट प्रस्तावित परियोजना स्वीकृत 
भारतको केन्द्रीय विद्युत् नियमन आयोगले स्वीकृत गरेपछि बंगलादेशमा विद्युत् निर्यात गर्न बाटो खुला भएको हो । भारतले बिहीबार नै स्वीकृति–पत्र नेपाल विद्युत् प्राधिकरणलाई पठाएको छ । नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बंगलादेशमा विद्युत् पठाउनुपर्छ । त्यसका लागि परियोजना नै तोकेर भारतबाट पूर्वस्वीकृति लिनुपर्ने सर्त थियो । 

सोहीअनुसार प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गर्न २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्य्त् परियोजना प्रस्ताव गरेको थियो, त्यसमा भारतले बिहीबार स्वीकृति–पत्र पठाएको हो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसले यसैअनुसार शुक्रबार बंगलादेशमा विद्युत् निर्यात हुने बताए । हाल नेपालले दक्षिण छिमेकी मुलुक भारतमा विद्युत् निर्यात गर्दै आएको छ । 

ऊर्जा क्षेत्रका लागि शुक्रबार ऐतिहासिक दिन हुनेछ : कुलमान घिसिङ कार्यकारी निर्देशक, विद्युत् प्राधिकरण
शुक्रबार एक दिन मात्रै विद्युत् निर्यात गर्दै छौँ । यसले प्राविधिक, कानुनी, आर्थिकलगायतका आधारमा विद्युत् बंगलादेशमा पुर्‍याउन बाटो खुलेको छ । यो ठुलो माइलस्टोन हो । परिमाणमा थोरैजस्तो देखिन्छ । तर, सांकेतिक रूपमा यसले ठुलो महत्व राख्छ । बंगलादेशमा निर्यात हुने विद्युत्को परिमाण बढाउँदै जानेछौँ । आगामी १० वर्षमा बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार नेपालको ऊर्जा क्षेत्रका लागि अर्काे ऐतिहासिक दिन हुने बताए । ‘सम्झौताअन्तर्गत शुक्रबार एक दिन मात्रै विद्युत् निर्यात गर्दै छौँ । यसले प्राविधिक, कानुनी, आर्थिकलगायतका आधारमा नेपाली विद्युत् बंगलादेशमा पुर्‍याउन बाटो खुलेको छ । यो आफैँमा ठुलो माइलस्टोन हो । परिमाणका आधारमा अहिले थोरै जस्तो देखिन्छ । तर, सांकेतिक रूपमा यसले ठुलो महत्व राख्छ,’ उनले भने, ‘सीमा नै नजोडिएको देशमा विद्युत् निर्यात हुनु आफैँमा ठुलो र महत्वपूर्ण विषय हो । सम्भवतः एसिया क्षेत्रमै सीमा नजोडिएको देशसँग विद्युत् व्यापार हुन लागेको पनि यो नै पहिलोपटक हो । बंगलादेशमा निर्यात हुने विद्युत्को परिमाण बढाउँदै जानेछौँ । आगामी १० वर्षमा बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना छ ।’ 

नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्न गत १७ असोजमा नेपाल, भारत र बंगलादेशबिच सम्झौता भएको थियो । काठमाडौंमा विशेष समारोह गरेर नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशका तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि बंगलादेशमा विद्युत् निर्यात गर्न भारतमा दुई परियोजना स्वीकृतिका लागि पठाइएको थियो । भारतले स्वीकृत गरेपछि बंगलादेशमा विद्युत् निर्यात गर्न लागिएको हो ।  

भर्चुअल रूपमा उद्घाटन, शुक्रबार नै २८ हजार डलर आम्दानी, पाँच महिनामा ९२ लाख डलर आम्दानी हुने 
प्राधिकरणका अनुसार शुक्रबार दिउँसो १२ देखि १२:४५ बजेसम्म भर्चुअल रूपमा उद्घाटन कार्यक्रमसमेत गरिँदै छ । त्यसमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर र बंगलादेशमा विद्युत् सल्लाहकार (मन्त्री) मोहम्मद फौउजुल कबिर खान पनि भर्चुअल रूपमा सहभागी भई मन्तव्यसमेत राख्नेछन् । त्यसपछि १२:४५ बजेदेखि राति १२ बजेसम्म ४० मेगावाट विद्युत् निर्यात गरिनेछ । शुक्रबार ११ घण्टा १५ मिनेटमा बंगलादेशमा चार लाख ४० हजार युनिट विद्युत् निर्यात हुनेछ ।

सम्झौताअनुसार एक युनिट विद्युत्बराबर नेपालले ६.४० सेन्ट पाउनेछ । त्यसअनुसार शुक्रबार नेपालले २८ हजार १६० डलरबराबरको विद्युत् निर्यात गर्नेछ । बिहीबारका लागि राष्ट्र बैंकले तोकेको डलरको खरिद मूल्यअनुसार त्यो ३७ लाख ९३ हजार ४३४ रुपैयाँ हुनेछ । सम्झौताअनुसार नेपालले पाँच वर्षसम्म १५ जुन देखि १५ नोभेम्बरसम्म (पाँच महिना)सम्म निरन्तर ४० मेगावाट विद्युत् बंगलादेशलाई दिनेछ । विद्युत् निर्यात गर्दा नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ । यसबापत नेपालले हरेक वर्ष ९२ लाख १६ हजार डलर आम्दानी गर्नेछ ।

यसरी जान्छ बंगलादेशमा बिजुली
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत् पुर्‍याउनेछ । बंगलादेशमा निर्यात हुने विद्युत्को मिटर त्यही मुजफ्फरपुरमा रहनेछ । त्यसकै आधारमा प्राधिकरणले बंगलादेशबाट भुक्तानी पाउनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट उता भने बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुर्‍याइनेछ । त्यसपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्नेछ । प्रसारण लाइन प्रयोग गर्न दिएबापत भारतले पनि बंगलादेशबाट निश्चित शुल्क पाउनेछ ।

बंगलादेशले किन किन्छ नेपाली बिजुली ? 
अहिले बंगलादेशमा विद्युत्को माग २५ हजार मेगावाट हाराहारी छ । तर, त्यहाँ पर्याप्त विद्युत उत्पादन छैन । अहिले बंगलादेशले कोइला तथा डिजेल पावर प्लान्टबाट विद्युत् उत्पादन गर्दै आएको छ । पछिल्लो समय डिजेल र कोइलाको मूल्य अत्यधिक मात्रामा बढ्दा बंगलादेशमा विद्युत् उत्पादन महँगो भएको छ । बंगलादेश डिजेल तथा कोइला पावर प्लान्टका कारण बढ्दो वातावरणीय प्रदूषण कम गर्नुपर्ने दबाबमा छ । तर, बंगलादेशसँग डिजेल तथा कोइला पावर प्लान्ट बन्द गर्ने अन्य विकल्प छैन । त्यहाँ सोलार राख्ने जमिन अभाव छ र नेपालको जस्तो स्वच्छ जलविद्युत् उत्पादन गर्ने सम्भावना छैन । त्यसकारण बंगलादेशले बिजुली आयात गर्नुपर्ने बाध्यता छ । अहिले बंगलादेशले भारतबाट विद्युत् आयात गरिरहेको छ । उसले सन् २०४० सम्म छिमेकी मुलुकबाट ९–१० हजार मेगावाट विद्युत् आयात गर्ने बताइसकेको छ । यस्तोमा नेपाली विद्युत् उसका लागि महत्वपूर्ण छ । बंगलादेशले खोजेको स्वच्छ ऊर्जा हो, जुन नेपालमा पर्याप्त छ । उता भारतमा पनि अधिकांश विद्युत् कोइलाबाट उत्पादन गरिन्छ । त्यसमाथि भारतले पनि नेपालबाटै विद्युत् आयात गर्दै आएको छ । त्यो अवस्थामा बंगलादेश नेपाली बिजुलीको लागि ठुलो बजार हो । 

बंगलादेशमा विद्युत् निर्यात गर्न के–के गरियो ? 
नेपाल र बंगलादेश ऊर्जामा सहकार्य गर्ने गरी सन् २०१८ मै सहमति भएको थियो । त्यसलाई कार्यान्वयन गर्न द्विपक्षीय ऊर्जा सहसचिव र सचिवस्तरीय समिति पनि बनाइएको थियो । ०७९ भदौमा काठमाडौंमा सम्पन्न ऊर्जासचिवस्तरीय बैठकमा बंगलादेशले कात्तिक ०७९ भित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति गरेको थियो ।

तर, भारतसँग समयमै समन्वय नहुँदा त्यो सफल हुन सकेन । त्यसपछि फागुन ०७९ मा सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा भारतले आफ्नो प्रसारण प्रणालीबाट नेपालको ५० मेगावाटसम्म विद्युत् बंगलादेश लैजान दिने सहमति गरेको थियो । 

त्यसपछि नेपालले बंगलादेशमा विद्युत् बिक्री गर्न थप प्रक्रिया अघि बढाएको थियो । त्यसपछि जेठ ०८० मा भएको नेपाल बंगलादेश ऊर्जा बैठकमा २०८० कै बर्खामा विद्युत् व्यापार गर्ने सहमति भएको थियो । तर, त्यो सफल भएन ।

त्यसपछि बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड १६ पुस ०८० मा नेपालबाट ४० मेगावाट विद्युत् किन्न टेन्डर आह्वान गरेको थियो । त्यसपछि प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । 

पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी बंगलादेशले त्यसलाई असारमा स्वीकृत गरेको थियो । त्यसपछि १३ साउनमा विद्युत् बिक्री सम्बन्धमा त्रिपक्षीय सम्झौता गर्ने भनिएको थियो । तर, बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका कारण त्यो स्थगित गरियो । 

आन्दोलनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडिन् । त्यसपछि त्यहाँ अन्तरिम सरकार बनेपछि १७ असोजमा यस सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको थियो । त्यसैअनुसार शुक्रबार अर्थात् ३० कात्तिकमा बंगलादेशमा विद्युत् निर्यात सुरु गर्न लागिएको हो ।