दिग्विजय शाहीको ह्याट्रिकको सहयोगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले ललित स्मृति एन्फा यू–१८ युथ लिगमा बिहीबार सातदोबाटो युथ क्लबलाई ४–० ले पराजित गरेको छ । लिगमा आर्मीको यो दोस्रो जित हो । दोस्रो जितपछि ९ खेलबाट सात अंक जोडेको आर्मी १०औँ स्थानमै यथावत् छ । लिगमा सातौँ हार सामना गरेको सातदोबाटोले ९ खेलबाट ४ अंक बनाएको छ । सातदोबाटो ११औँ स्थानमा छ । अंकतालिकाको पुछारमा रहेका यी दुईबिचको प्रतिस्पर्धा एकपक्षीय रूपमा भयो । आर्मीले सातदोबाटोलाई गोल गर्न अवसर नै दिएन ।
दिगविजयले पहिलोमा दुई र दोस्रो हाफमा एक गोल गरी ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १३औँ मिनेटमा आर्मीलाई १–० को अग्रता दिलाए । एक गोल बेहोरेको सातदोबाटो चार मिनेटपछि नै २–० ले पछि परेको थियो । यसपटक पनि दिगविजयले नै गोल गरेका थिए । पहिलो हाफमा आर्मीले दुई गोलको अग्रता लिएको थियो । खेलको ५४औँ मिनेटमा दक्ष लामाले आर्मीलाई ३–० को अग्रता दिलाए । खेलका नायक दिगविजयले ६१औँ मिनेटमा ह्याट्रिक पूरा गरे ।
मच्छिन्द्रको सहज जित
मच्छिन्द्र फुटबल क्लबले लिगमा चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराएको छ । जितसँगै मच्छिन्द्रले ९ खेलबाट १८ अंक जोडेको छ । मच्छिन्द्र तेस्रो स्थानमा छ । चर्च ब्वाइज समान खेलबाट १३ अंकका साथ छैटौँ स्थानमा छ । मच्छिन्द्रलाई जित दिलाउन कविर तामाङ र प्रशान्त मेन्यबोले समान एक गोल गरेका थिए । खेलको २२औँ मिनेटमा कविरले मच्छिन्द्रलाई १–० को अग्रता दिलाए ।
खेलको २९औँ मिनेटमा प्रशान्तले मच्छिन्द्रलाई २–० को स्थितिमा राखे । प्रतिस्पर्धाको मध्यान्तरमा चर्च ब्वाइजले राम्रो प्रदर्शन गर्दा पनि मच्छिन्द्रविरुद्ध गोल फर्काउन सकेन । मच्छिन्द्रले दोस्रो हाफमा जित अन्तर फराकिलो बनाउने प्रयासमा थियो । तर, चर्च ब्वाइजको सुधारिएको प्रदर्शन अगाडि मच्छिन्द्रको केही चलेन ।