Skip This
तीन वर्षमा पेट्रोलियम भण्डारणगृह सम्पन्न गर्न आपूर्तिमन्त्रीको निर्देशन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ३० शुक्रबार o८:१३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन वर्षमा पेट्रोलियम भण्डारणगृह सम्पन्न गर्न आपूर्तिमन्त्रीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार o८:१३:oo

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा निर्माण सुरु भएको पेट्रोलियम भण्डारणगृहको काम छिटो अघि बढाउन निर्देशन दिएका छन् । मन्त्री भण्डारीले बुधबार स्थलगत निरीक्षण गर्दै तीन वर्षमा डिपो निर्माण सक्ने गरी काम अघि बढाउन निर्देशन दिएका हुन् । सात वर्षअघि रोहिणी नदी–किनारमा निगमले खरिद गरेको १३.७ बिघा जमिनमा ५ वैशाखदेखि नयाँ भण्डारणगृृह निर्माणका लागि जमिन सम्याउने र खोला–किनारमा पर्खाल बनाउने काम भइरहेको छ । 

लुम्बिनीमा इन्धन वितरण गर्न रुपन्देहीको भलबारीमा रहेको डिपो घना बस्तीको बिचमा रहेकाले स्थानान्तरण गर्न स्थानीयले दबाब दिँदै आएका छन् । ‘सुरक्षाको जोखिम र सानो क्षमताका कारण भलबारीको डिपो स्थानान्तरण गर्न आवश्यक छ,’ मन्त्री भण्डारीले भने, ‘यहाँ निर्माण कार्य पनि सुरु भइसकेको छ । आउँदा दिनमा कुनै अवरोधविना निर्माण कार्य जारी राख्न सबैले पहलकदमी लिनुपर्छ ।’

मन्त्री भण्डारीसँगै निरीक्षणमा पुगेका रुपन्देही– १ का सांसद छविलाल विश्वकर्माले डिपो निर्माणले इन्धन आपूर्तिको सुनिश्चितता बढाएसँगै स्थानीयस्तरमा विकासको ढोका खोल्नेसमेत बताए । ‘यस क्षेत्रमा आयल निगमको डिपो बन्यो भने प्रदेशभर इन्धन वितरणका लागि सहजता हुने नै छ,’ उनले भने, ‘ठुलो डिपो बन्नासाथ आसपास बजार र विकासका गतिविधि अघि बढाउन पनि सहज हुने भएकाले सबैले मद्दत गर्नुपर्छ ।’

निगमको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शैलेन्द्र भुसालले नयाँ डिपो निर्माणको आवश्यकताबारे जानकारी गराएका थिए । ‘भलबारीमा अहिले रहेको डिपोमा पेट्रोल दुई दिन र डिजेल चार दिनको माग धान्ने क्षमताको मात्रै स्टोरेज छ । सुरक्षा सतर्कता बढाउने प्रणाली विस्तार गर्न पनि नसकिने अवस्था छ,’ उनले भने, ‘थोरै जग्गा भएकाले इन्धन बोक्ने ट्यांकरलाई सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ ।’ उनले प्रदेशभर इन्धन आपूर्तिको सुनिश्चितता कायम गर्न हाल निर्माणाधीन डिपो छिटो सक्न सबैले मद्दत गर्नुपर्ने बताए । परियोजनामा कार्यरत इन्जिनियर अंकित रिमालका अनुसार नयाँ डिपोमा प्रदेशभरको करिब १५ दिनको माग धान्न सक्ने क्षमताको भण्डारणगृह निर्माणका लागि डिपिआर हुनेछ । डिजेल नौ हजार किलोलिटर, पेट्रोल २२ सय ८० किलोलिटर र मट्टीतेल पाँच सय किलोलिटर भण्डारण गर्न मिल्ने स्टोरेज ट्यांक बनाउने निगमको योजना छ । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भन्छन्–
लुम्बिनी प्रदेशमा इन्धन आपूर्ति सुनिश्चितता वृद्धि गर्न नयाँ ठाउँमा डिपो निर्माण सुरु भएको छ । यो कामलाई स्थानीयको समेत सहयोग लिएर चाँडै सक्नेतर्फ सबैले पहलकदमी लिनुपर्छ । नयाँ डिपो बनाउने ठाउँमा केही पर्ती जग्गा पनि अधिग्रहण गर्नुपर्ने देखिएको छ । अधिग्रहणको काम छिटो गर्न सरकारी निकायको उचित समन्वय रहनेछ ।