आगामी १६ मंसिरमा मुसिकोट नगरपालिका–१ का वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा पाँच दलबिच प्रतिस्पर्धा हुने भएको छ ।
तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको निधनपछि हुन लागेको उपनिर्वाचनका लागि एमाले, कांग्रेस, माओवादी र रास्वपाले उम्मेदवार टुंगो लगाएका छन् । राप्रपाले तीनजना उम्मेदवारको नाम केन्द्रमा पठाएको छ ।
एमालेबाट दलबहादुर थापा, कांग्रेसबाट आनन्द श्रेष्ठ, माओवादीबाट दुर्गाबहादुर विक र रास्वपाबाट विकास थापा उम्मेदवार बनेका हुन् । ०७९ को निर्वाचनमा तत्कालीन कांग्रेस–माओवादी गठबन्धनबाट रुख चिह्नका मोहन घिमिरे वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उपनिर्वाचनका लागि तीन सय मतदाता थपिएका छन् । निर्वाचन कार्यालय गुल्मीका अनुसार ०७९ को निर्वाचनमा कुल मतदाता संख्या तीन हजार ८०८ थिए । हाल चार हजार ९१ मतदाता पुगेको प्रमुख निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताए । मुसिकोट नगरपालिका–१ मा तीन मतदान स्थल र पाँच मतदान केन्द्र तय भएका छन् ।