कात्तिक शुक्ल पूर्णिमाको दिन शुक्रबार सिराहा र धनुषा जोड्ने कमला नदीको उत्तरवाहिणीदेखि पटेर्वा घाटसम्म ‘भूतप्रेत’ भगाउन काम्दै, बर्बराउँदै कमला स्नान गर्नेहरूको ठुलो भिड लाग्यो।
कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो दिन नै नदीकिनारमा वास बसेका र कतिपय बिहान सबेरै पुगेर कर्जन्हा नगरपालिकाअन्तर्गत कमलाको उत्तरवाहिणीसहित ब्यारेज, कमला पुल, दक्षिण पर्ने सिक्रौन, कल्याणपुर नगरपालिकाको चतरी, निर्दना, बेलह र सिराहा नगरपालिकामा पर्ने बडेर्वा, बसबिट्टा, पटेर्वा र छिमेकी मुलुक भारत जयनगरको कमला ब्यारेजमा स्नान गर्न आउनेहरूको ठुलो भिड लागेको हो।
हातमा धुपौरो, बेत वा बाँसको लठ्ठी समातेर काम्दै धामीझाँक्रीले निर्देशन गरेबमोजिम पूजाअर्चनासहित नदीमा स्नान गरे शरीरमा प्रवेश गरेको ‘भूतप्रेत’ उत्रिने तथा व्यक्तिगत र परिवारमा सुखशान्ति हुने जनविश्वासमा स्नान गर्न र हेर्न बिहान सबेरैदेखि हजारौँको भिड लागेको हो।
कमला नदीलाई साक्षी राखेर धामीझाँक्रीको उपस्थितिमा ‘भूतप्रेत’ले सताएका भनिएकाहरूले काम्दै नदीमा स्नान गरेपछि शरीरबाट ‘भूतप्रेत’ उत्रिने र स्वस्थ हुने मान्यता रहेको धामीझाँक्रीहरू दाबी गर्छन्। उत्तरवाहिणीसहित कमला नदीकिनारमा पर्ने प्रायः सबै घाटहरूमा स्नान गरी धामीझाँक्रीले भनेबमोजिम काम्दै पूजा गर्नेहरूमा महिलाहरूको संख्या बढी देखिन्छ।
कात्तिक शुक्ल पूर्णिमामा कमला नदी स्नानका लागि धामीझाँक्रीसँगै सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट र भारतको बिहारसम्मका मानिसहरू आउने गरेका कल्याणपुर नगरपालिका– ५ का वडाध्यक्ष कुलदीप यादवले बताए।