Skip This
मोरङको ग्रामथानमा दलहरूको प्रचारप्रसार सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
गणेश लम्साल विराटनगर
२o८१ कार्तिक ३० शुक्रबार १५:oo:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मोरङको ग्रामथानमा दलहरूको प्रचारप्रसार सुरु

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार १५:oo:oo

आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा दलहरूले प्रचारप्रसार तीव्र बनाउन थालेका छन्। उपनिर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारी मनोनयन नभए पनि सबै ठुला दलहरूले आ–आफ्नो उम्मेदवार घोषणा गरेर प्रचारप्रसार तीव्र बनाउन थालेका हुन्।

उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी मनोनयन दर्ता भएर ४ मंसिरमा मात्र उम्मेदवारले चुनाव चिह्न पाउनेछन्। तर, ग्रामथानमा ठुला दलहरू एमाले, कांग्रेस, माओवादी र राप्रपाले उम्मेदवार घोषणा गरेर घरदैलो अभियान र गाउँसभा गर्न थालिसकेका छन्।

ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ। थारू बाहुल्य रहेको ग्रामथानमा सबै दलहरूले थारू समुदायबाटै उम्मेदवार चयन गरेका छन्। नेपाली कांग्रेसले पूर्वमहासमिति सदस्य बलराम सरदारलाई, एमालेले तुलसी विश्वासलाई, माओवादी केन्द्रले नमोनारायण माझी र राप्रपाले दिनेश थानदारलाई अध्यक्षको उम्मेदवार घोषणा गरेका छन्। कुल ३६ हजार जनसंख्या रहेको ग्रामथानमा २६ हजार नाै सय मतदाता छन्।

सबै दलहरूले उम्मेदवारी दर्ताअगावै प्रचारप्रसारलाई आक्रामक बनाउन थालेका छन्। नेपाली कांग्रेस आफ्नो विरासत जोगाउन कम्मर कसेर तीव्र प्रचारप्रसारमा लागेको छ। धेरै वडामा जित निकाल्न सफल एमाले यसपालि अध्यक्ष पनि आफ्नै पार्टीबाट जिताउन चाहन्छ। यता माओवादी पनि एमाले र कांग्रेसका असन्तुष्टहरूलाई समेत समेटेर अध्यक्ष पद जितेरै छाड्ने तयारीमा छ। राप्रपा पनि अन्य दलमा चर्को प्रतिस्पर्धा भएमा आफूलाई फाइदा पुग्ने बुझाइसहित चुनावी तयारीमा लागेको छ।

नेपाली कांग्रेसबाट विजयी भएका ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको १० माघ ०८० मा ब्रेन ह्यामरेजका कारण निधन भएको थियो।