कार्तिक शुक्ल पूर्णिमाका दिन आज शुक्रबार बिहानैदेखि वाणगंगा नदीअन्तर्गत कपिलवस्तु नगरपालिका– ३ रामघाट र वाणगंगा नगरपालिका– ६ लक्ष्मणघाटमा श्रद्धालु भक्तजनको बिहानैदेखि भिड लागेको छ। वाणगंगा नदीको रामघाटमा १० हजारभन्दा बढी र लक्ष्मणघाटमा सात हजारभन्दा बढी भक्तजनले स्नान गरेका छन्।
रामघाट र लक्ष्मणघाट मेला जिल्लाकै सबैभन्दा पुरानो मेला मानिन्छ। रामघाट र लक्ष्मणघाट मेला व्यवस्थापन समितिका अनुसार यस वर्ष गत वर्षको तुलनामा श्रद्धालु भक्तजनहरूको संख्या बढेको छ। कार्तिक शुक्ल पूर्णिमाका दिन जिल्लाको वाणगंगा नदीका विभिन्न स्थानमा परम्परागत मेला लागेको हो।
वाणगंगाको रामघाट, बर्गदीघाट, कजराहवा र हदौनामा, सन्तघाट, सीताघाटमा शुक्रबार लागेको मेला भर्न ठुलो संख्यामा श्रद्धालुहरू भारतको शोहरतगढ, तुलसीपुर, अलिगढवा तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाँचीलगायतका स्थानका मानिससमेत आएका छन्।
प्राचीन समयमा भागिरथी नामले चिनिने वाणगंगा नदीमा लाग्ने मेला प्राचीन र धार्मिक महत्त्वको रहेको विश्वास गरिन्छ। मेलाका लागि बिहीबार रातिदेखि नै भक्तजनहरू जम्मा भएका थिए। भक्तजनहरूले रातभरि जाग्राम बसी भजनकीर्तन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पूजाआजा गरेका हुन्।
यस दिन नदीमा स्नान गरी पूजाआजा गर्नाले पाप नास भई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। कार्तिक शुक्ल पूर्णिमाको अवसरमा कपिलवस्तुको १० मध्ये सात पालिकाले स्थानीय बिदासमेत दिएका छन्।