हिमाली चिसो हावापानीमा फलेको स्याउ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । मनाङ ङिस्याङ गाउँपालिका-१ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन लोभ्याएको छ ।
समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाईको भ्राताङमा इटली र सर्भियाबाट स्याउका बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ८ वर्ष भईसकेको छ । एग्रो मनाङ प्रालिले ८ वर्ष अगाडिदेखि भ्राताङमा ७ सय ३५ रोपनी क्षेत्रफलमा स्याउ खेती गरेको छ ।
मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटक पनि बगैँचामा नै रमाउने गरेका छन् । मनाङ घुम्न जानेहरू भ्राताङको स्याउ बगैँचा नघुमी फर्कदैनन् । स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ किनेर लाने गर्छन् ।
काठमाडाैंका दिपक थापा स्याउ बगैँचाको बारेमा साथीबाट जानकारी पाएपछि यसवर्षको दसैँ र तिहारकाे विदामा मनाङको स्याउबारी पुगे । उनले भने 'सबैले कुरा गरेका थिए । म पनि साथीहरूसँग घुम्न आएँ। मलाई पनि एकपटक यहाँ आएर स्याउकाे बगैँचा हेरौं झैं लागेकाे थियाे । अहिले मज्जाले घुमे । निकै रमाइलो भयो । यो रमाइलो समयमा यहाँको स्याउकाे बगैँचामा डुल्न पाउँदा मनै आनन्दित भयो ।'
यस्तै बेसीशहरकी एलिना श्रेष्ठ स्याउ हेर्नकै लागी पहिलो पटक मनाङ पुगेको बताउँछिन् । उनी भन्छिन् 'मनाङको प्राकृतिक सौन्दर्यले लोभ्याउनुसम्म लोभ्यायो ।लटरम्म फलेको राताम्य स्याउ फार्ममा उभिएर मैले ‘सेल्फी’ समेत लिएँ । यहाँ स्याउकाे बगैँचा ठूलो नै रहेछ । अहिले खुसीको कुनै सिमा नै छैन ।’
बिदाको समयमा त झन् यहाँ अवलोकन गर्न आउने आन्तरिक पर्यटकको घुईंचो नै लाग्छ, ’चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले भने, 'केही घुम्न त, केही स्याउ खेतीकाेबारेमा जानकारी लिन आउने गरेका छन् । पर्यटकले स्याउ बारी भरिभराउ हुने गर्छ ।'
एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार स्याउ हेर्नकै लागि भनेर मानिस आउने गरेका छन् । स्याउ फार्म हेर्न विभिन्न ठाउँबाट मानिसहरू आउने गर्छन् । फार्मममा 'गाला’, ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएको छ । मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमि बाहेक चामे, नासों र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती गरिँदै आएको छ ।