मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Thursday, 26 December, 2024
२o८१ कार्तिक २३ शुक्रबार १५:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनका भित्री सडकमा सवारी दुर्घटना धेरै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १५:o३:oo

जिल्लामा भएका दुर्घटनामध्ये भित्री सडकमा धेरै दुर्घटना भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षमा भित्री सडकमा मात्रै १०७ दुर्घटना भएका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार गत साउनदेखि भएका १८७ दुर्घटनामध्ये सो संख्यामा भित्री सडकमा दुर्घटना भएका हुन् । दुर्घटनामा संलग्न सवारीसाधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । हालसम्म २८८ सवारीसाधन दुर्घटनामा परेकोमा १६३ मोटरसाइकल रहेको शर्माले जानकारी दिए। 

उनका अनुसार जिल्लाका भित्री सडकमा यस वर्ष भएका दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १७१ घाइते भएका छन् । आर्थिक वर्ष ०७८/८९ देखिको तथ्यांक हेर्दासमेत भित्री सडक निकै जोखिमपूर्ण हुने गरेको छ । सो समयदेखि हालसम्म भएका एक हजार ४६४ दुर्घटना भएका छन् । जसमा भित्री सडकमा ५० प्रतिशत दुर्घटना भएको कार्यालयको तथ्यांकले देखाएको छ । 

भित्री सडकमा ७४० वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा परी १६५ जनाको ज्यान गएको छ । यस्तै, एक हजार १२९ जना घाइते भएका छन् । शर्माका अनुसार चालू आर्थिक वर्षमा पूर्व–पश्चिम राजमार्गमा ३५ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डमा भएका २७ वटा दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका छन् । सहरी सडकखण्डमा भएका १३ वटा दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

यस्तै, पृथ्वी राजमार्गमा भएका पाँचवटा दुर्घटनामा नौजना घाइते भएको कार्यालयको तथ्यांकले देखाएको छ । प्रमुख शर्माका अनुसार भित्री सडकमा बिहानी हिँडाइ र रात्रिकालीन हिँडाइका क्रममा र मोटरसाइकल तीव्र गतिमा आउने हुँदा दुर्घटना बढी हुने गरेको हो । सडक फराकिलो नहुनु, तीव्र गतिमा सवारी चलाउनु, सवारीको चाप बढ्नुलगायतका कारण दुर्घटना बढी भएको उनले बताए ।  

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रम तीव्र पारिएको शर्माले बताए। प्रमुख शर्माले भने, ‘अन्य सडकको तुलनामा भित्री सडकमा दुर्घटना बढी हुने गरेको छ । सबै क्षेत्रमा ट्राफिक प्रहरी पुगेको भए पनि दुर्घटना हुन नदिनका लागि सवारीचालक र यात्रुहरू सजग रहनुपर्ने उनको  भनाइ छ ।