मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Thursday, 26 December, 2024
२o८१ कार्तिक २३ शुक्रबार ११:२२:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल-चीन क्रसकन्ट्री दौडको तेस्रो संस्करणको तयारी पूरा                  

खेलाडी, प्राविधिक र अन्य एक सय २० जना पोखरा आइपुगे  

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार ११:२२:oo

‘साझा समृद्धिका लागि दौड’ भन्ने नारासहित पोखरामा हुने तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’को तयारी पूरा भएको छ । खेलकुदका माध्यमबाट नेपाल र चीनबिचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित २३ र २४ कात्तिकमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएकाे हाे ।

प्रतियोगिताअन्तर्गत शुक्रबार सहभागी खेलाडीहरूको नाम दर्तासँगै आवश्यक खेल सामग्री वितरण गरिने भने २४ गते प्रतियोगिताको प्रतिस्पर्धा हुनेछ । २५ गते सहभागी खेलाडीहरूलाई पोखरा र यस क्षेत्रका पर्यटकीय गन्तव्यहरूको भ्रमण गराइनेछ । 

नेपाल र छिमेकी देश चीनका खेलाडीहरूले सहभागिता जनाउने प्रतियोगिता सम्पन्न गर्न हिमालयन टुरिजम फोरमको अगुवाइमा गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिका आयोजकसँगै नेपालस्थित चिनियाँ राजदूतावास, चीनको युन्नान प्रान्तीय खेलकुद ब्युरो, युन्नान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र सिल्करोड सिटिज एलायन्सजस्ता संस्थानहरूले मार्गदर्शनको काम गर्नेछन् ।

प्रतियोगिता कार्यान्वयनको नेतृत्व हिमालयन टुरिजम फोरम पोखरा, पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, चीनको युन्नान माउन्टेनियरिङ एन्ड आउटडोर स्पोर्टस् एसोसिएसन र कुनमिङ माउन्टेनियरिङ एन्ड एडभेञ्चर एसोसिएसनले गर्ने भएको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले कार्यक्रममा जानकारी दिएका थिए । 

पोखरा र यस क्षेत्रको पर्यटन प्रवर्द्धन साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग पुर्‍याउने र नेपाल–चीनबिचको सम्बन्धलाई थप सुदृढ बनाउने आशा गरिएको प्रतियोगितामा सहभागी हुन कुनमिङबाट पोखरा विमान चार्टर गरेर ६४ जना खेलाडीसँगै १२० जनाको चिनियाँहरूकाे टोली सीधै पोखरा आएकाे छ । चीनको युन्नान प्रान्तका खेल ब्युरोका महानिर्देशक जोङहुवाको नेतृत्वमा खेलाडीसहित प्राविधिक र अन्य गरी १२० जना पोखरा आएका छन् । यसअघि अघिल्लो वर्ष सम्पन्न प्रतियोगितामा १०४ जना चिनियाँ पोखरा आएका थिए । 

चार विद्यामा प्रतियोगिता

आयोजकसमेत रहेकाे हिमालयन टुरिजम फोरम पोखराका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार प्रतियोगितामा टिम, इन्डिभिजुअल, विद्यार्थी र ह्याप्पी रन गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । चार विधामा गरी कुल एक हजार दुई सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पालिखेका अनुसार टिम विधामा २१ मिश्रित टिम (कम्तीमा एक विपरीत लिंगको सदस्य) मा ६३ खेलाडी हुनेछन् । जसमा चार चिनियाँ टोली र १७ नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछन् । एक टोलीमा तीन–तीनजना खेलाडी रहनेछन् । खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ गर्नुपर्नेछ । दौडका क्रममा खेलाडीले कुल दुई हजार २५८ मिटर उचाइ पार गर्नेछन् । विजेताले चार लाख ५८ हजार चार सय, उपविजेताले तीन लाख ४३ हजार आठ सय, तेस्रोले दुई लाख २९ हजार दुई सय, चौथोले एक लाख ५२ हजार आठ सय र पाँचौँले ९५ हजार पाँच सय नगद पुरस्कार पाउनेछन् ।

एक सय नेपाली र ५२ चिनियाँ गरी एक सय ५२ जना खेलाडी सहभागी हुने च्यालेन्ज इन्डिभिजुअल विधामा ५० किलोमिटरको ट्रेलमा खेलाडीहरूले दुई हजार ३६६ मिटरको उचाइ पार गर्नेछन् । महिला तथा पुरुषतर्फ हुने प्रतिस्पर्धाका विजेताले जनही एक लाख ५२ हजार आठ सय, दोस्रोले एक लाख १४ हजार ६ सय, तेस्रोले ७८ हजार चार सय, चौथोदेखि सातौँ स्थान प्राप्त गर्ने पुरुष र महिलाले जनही ३८ हजार दुई सय, आठौँदेखि दशौँ स्थान प्राप्त गर्नेहरूले १९ हजार एक सय नगद पुरस्कार पाउनेछन् ।

नेपाली र चिनियाँ छात्र–छात्रा गरी पाँच सयजनाले सहभागिता जनाउने १८ वर्षमुनिको पाँच किलाेमिटर छात्र–छात्रा विद्यार्थी दौडको विजेताले ३०, दोस्रोले २५, तेस्रोले २०, चौथोदेखि छैटाैँ स्थान प्राप्त गर्नेले १०–१० हजार नगदसँगै मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

यसैगरी आमनागरिकका लागि आयोजना हुने ह्याप्पी रनको दूरी पाँच किलोमिटर रहेको छ । यसमा करिब ६ सयको हाराहारीमा खेलाडी सहभागी हुनेछन् । यस दौड पूरा गर्ने सबैजना सहभागी खेलाडीले प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बाराहीघाटबाट सुरु हुने प्रतियोगिता विभिन्न भागको परिक्रमापछि पुनः बाराहीघाटमै आएर सम्पन्न हुनेछ ।