मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Thursday, 26 December, 2024
२o८१ कार्तिक २३ शुक्रबार o९:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मृग भनेर हानेको गोली साथीलाई लागेपछि...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार o९:४६:oo

सिकार खेल्न सँगै जंगल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका– १ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुंगे जंगलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो ।

मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिए । ‘रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् । चरनमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर, आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ,’ उनले भने, ‘गोली लागेर जगतप्रसादको मृत्यु भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेतनले मृग भनेर गोली हानेको, तर दृष्टिभ्रम भएर साथीलाई लागेर मृत्यु भएको स्वीकार गरिसकेका छन् ।’ 

फेदीको पिपिङस्थित गाउँनजिकैको जंगलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको फेला पारिएको आफन्तले बताएका छन् । घटनालगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई फोन सम्पर्क गरेर घरमा बोलाएपछि प्रहरीको जिम्मा लगाइएको साम्पाङले बताए ।

घटनाबारे स्थानीयले प्रहरी चौकी खार्ताम्छालाई जानकारी दिएपछि खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले बिहीबार घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको जनाइएको छ । घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको निरीक्षक कार्कीले बताए । उनका अनुसार चेतनले प्रहरीसमक्ष आफूबाट गल्ती भएको स्वीकार गरेका छन् ।

जिल्लाका स्थानीयले मनोरञ्जनका साथै मासु र हाडखोर बिक्रीका लागि बाघ, भालु, मृग, थार, घोरल, खरायो, कालिजलगायत जंगली जनावर तथा पक्षी सिकार गर्दै आएका छन् । सिकारीले लोपोन्मुख जनावर रेडपाण्डा, सालक र हुचिल जीवितै नियन्त्रणमा लिएर बिक्रीसमेत गर्ने गरेको स्थानीयले बताएका छन् । चोरी सिकार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही नगर्दा पछिल्लो समय लोपोन्मुख जीवजन्तु जिल्लामा हराउन थालेको स्थानीयले बताएका छन् ।