मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Thursday, 26 December, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ कार्तिक २३ शुक्रबार o९:१८:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ललितपुर र भक्तपुरका सामुदायिक विद्यालयले पनि लगाएका छन् जग्गा र सटर भाडामा

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार o९:१८:oo

ललितपुरका ४० मध्ये ८ र भक्तपुरका ३५ मध्ये ६ सामुदायिक विद्यालयका जग्गा र सटर भाडामा, संघसंस्था तथा व्यक्तिको मनपरी, स्थानीय सरकार मौन

काठमाडौं महानगरपालिकाले सटर हटाएर शैक्षिक वातावरण सहज पारे पनि ललितपुर र भक्तपुरका पालिकाले भने विद्यालयका संरचनामा सटर नै निर्माण गरी भाडा लगाएका छन् । विद्यालयले सटर तथा जग्गा भाडामा लगाउँदा साँघुरा कक्षाकोठासँगसँगै विद्यार्थीले खेलमैदानको अभाव झेलिरहेका छन् । 

ललितपुर महानगरमा ४० वटा सामुदायिक विद्यालयमध्ये आठवटाले सटर तथा जग्गा भाडामा लगाएका छन् । भक्तपुर नगरपालिकाका ६ सामुदायिक विद्यालयले सटर तथा जग्गा भाडामा लगाउँदै आएका छन् । ललितपुर महानगरपालिकाभित्र मुख्यतः तीनवटा सामुदायिक विद्यालयको जग्गामा संघसंस्था तथा व्यक्तिको रजगज छ । सातदोबाटोमा रहेको महेन्द्र आदर्श विद्याश्रम, पुल्चोकको मदन स्मारक मावि र पाटनढोकामा रहेको पाटन उच्च माविले जग्गा तथा सटर भाडामा लगाएका छन् । विद्यालयलाई खेलमैदान तथा अतिरिक्त क्रियाकलाप गर्ने ठाउँ अभाव भए पनि यी विद्यालयले ३० वर्षसम्मका लागि जग्गा भाडामा लगाएका छन् । 

सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालित सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमले भाडामा लगाएका सटरहरू । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालनमा रहेको सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमले ३० वर्षका लागि ३२ रोपनी जग्गा आठ वर्षअघि नै भाडामा दिएको थियो । मुख्य सडकको नजिकै रहेको यो विद्यालयको भौतिक संरचना भने नाजुक छ । कक्षाकोठा साँघुरा छन् । खेलमैदानका लागि ठाउँ छैन । तर, मासिक ६ लाख भाडा उठाउने गरी विद्यालयले ‘ज्यापु कम्पनी’लाई भाडामा दिएको छ । यो विद्यालयमा हाल ५५० हाराहारी विद्यार्थी छन् । कक्षा १२ सम्म पढाइ हुने विद्यालयले साँघुरो कक्षाकोठामा पठनपाठन गराउँदै आएको छ । तर, विद्याश्रमकी प्रधानाध्यापक अर्चना रिजालले यसबारे आफूलाई जानकारी नभएको बताइन् । ‘यसबारे अहिले जानकारी छैन, विद्यालय खुलेपछि कागजात हेरेर मात्रै थाहा होला,’ उनले भनिन् । 

ललितपुरको पाटनढोकामा रहेको पाटन माविले भाडामा लगाएका सटरहरू । तीन रोपनी जग्गामा ३२ वटा सटर निर्माण गरी तीन वर्षका लागि भाडामा लगाएको छ ।

ललितपुरको पाटन माविले तीन रोपनी जग्गामा ३२ वटा सटर निर्माण गरी तीन वर्षका लागि भाडामा लगाएको छ । ०८१ साउनदेखि लागू हुने गरी विद्यालयले नयाँ भाडा सम्झौता गरेको थियो । ३२ वटा सटर भाडामा लगाएर विद्यालयले मासिक दुई लाखसम्म आम्दानी गर्छ । एक हजार दुई सय विद्यार्थी संख्या रहेको यो माविको जग्गा क्षेत्रफल नौ रोपनी छ । त्यसमध्ये तीन रोपनी भाडा दिए पनि विद्यालयलाई पुग्दो ठाउँ छैन । विद्यालयका प्रधानाध्यापक कुमार चौलागाईंले महानगरपालिकाले तोकेको दररेटअनुसार भाडामा लगाएको दाबी गर्दै भाडाबाट उठेको रकम विद्यालयको प्रयोजनमा खर्च हुने बताए । ‘सरकारले दिएको रकम पुग्दो हुँदैन, आन्तरिक स्रोतबाट शिक्षक, सहयोगी, मसलन्द सामान खरिद, ममर्तसम्भारलगायत काम हुन्छ,’ उनले भने, ‘यदि यो स्रोत हुने थिएन भने दूरदराजका विद्यार्थीले सस्तोमा शिक्षा पाउने अवस्था हुने थिएन ।’ 

विद्यालयको जग्गा तथा सटरकोठा भाडामा दिँदासमेत नजिकै रहेको महानगरपालिकाले अनुगमनसमेत गरेको देखिँदैन । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले ०७४ अघि नै विद्यालयले वर्षौँसम्मका लागि जग्गा भाडामा दिएकाले त्यसलाई फिर्ता ल्याउन कठिन भइरहेको बताए । ‘विद्यालयको पठनपाठन गर्ने ठाउँ अभाव भए पनि भाडामा दिइएको छ, यसमा मेयरसापले कसरी सम्झौता फिर्ता ल्याउन सकिन्छ भनेर कानुनी बाटो पनि खोज्नुभएको छ,’ उनले भने, ‘अन्य विद्यालयको पनि सटर र जग्गा भाडाबारे खोजी गर्दै छौँ ।’ उनले यी तीनबाहेक अन्य विद्यालयको विवरण खोज्ने दाबी गरे ।

सर्वोच्चले रद्द गरिदियो मदन स्मारकको सम्झौता
ललितपुरको पुल्चोकस्थित मदन स्मारक माविले जग्गा भाडामा दिएर भाडा उठाउनेतिरै ध्यान दिँदै आएको थियो । तर, टोल सुधार समितिले सर्वोच्चमा रिट हालेपछि विद्यालयको जग्गा भाडा सम्झौता नै खारेज भएको छ । ०६४ देखि नै जग्गा भाडामा दिँदै आएको माविले १० रोपनी एक आना जग्गाको सम्झौता रद्द गर्ने तयारी गरेको छ । सर्वोच्चको फैसलासँगै ठेक्का रद्द गर्न गत १६ असोजमा विद्यालयले सूचना जारी गरेको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लोपटक ०६९ मा विभिन्न संघसंस्थालाई जग्गा भाडामा दिइएको थियो । विद्यालयको १० रोपनी एक आना जग्गा ४४ वर्षका लागि ‘भ्याली कन्स्ट्रक्सन’ले भाडामा लिएको थियो । विद्यालयले प्रतिरोपनी मासिक ३५ हजार तिर्ने गरी भाडामा दिएको थियो । तर, अब सम्झौता नै रद्द गर्ने गरी सर्वाेच्चले आदेश दिएको पौडेलले बताए । 

दरबार टोल विकास समितिले ०७५ मा दायर गरेको रिटमा १३ भदौ ०८१ मा सर्वोच्चले सम्झौता रद्द गरी विद्यालयकोे नाममा जग्गा संरक्षण गर्न फैसला गरेको हो । फैसलामा कुनै पनि सामुदायिक विद्यालयको जग्गा भाडामा दिन नहुने र नलगाउनसमेत निर्देशन दिएको छ । ‘अब विद्यालयको जग्गामा शैक्षिक क्रियाकलाप हुन्छन्, ठाउँको अभाव पनि थियो,’ पौडेलले भने, ‘अब यसरी भाडामा दिँदैनौँ ।’ 

भक्तपुरका ३५ सामुदायिक विद्यालयमध्ये ६ वटा विद्यालयले सटर भाडामा दिएको नगर शिक्षा शाखाले जनाएको छ । भाडामा दिनेमध्ये श्रीपद्म मावि, विद्यार्थी निकेतन, वागिश्वरीलगायत छन् । श्रीपद्म माविले पाँचवटाभन्दा बढी सटर भाडामा दिएको छ । विद्यार्थी निकेतनले पनि सातवटा सटर भाडामा लगाएको छ । भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले कुन तरिकाले भाडामा लगाइएको हो भन्नेबारे आफूलाई स्पष्ट नभएको बताए । ‘केही विद्यालयले सटर तथा जग्गा भाडामा लगाएका छन्, त्यो आवश्यकता हो वा होइन भन्नेबारे खोज्दै छौँ, भाडा उठाएको रेकर्ड पनि माग गरिरहेका छौँ,’ उनले भने । भक्तपुर च्यामासिंहमा रहेको बागेश्वरी माविको आन्तरिक आम्दानीको स्रोत सटर भाडा नै हो । ६ वटा सटर भाडामा लगाएको विद्यालयले मासिक झन्डै डेढ लाख आम्दानी गर्छ । यही स्रोतबाट २० जनाभन्दा बढी शिक्षक राखेर पठनपाठन गराउँदै आएको छ ।