१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २१ बुधबार o८:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अमेरिका र क्यानडामा नेपाली टोलीको खराब प्रदर्शन

आइसिसी विश्वकप लिग–२ मा पछिल्ला आठमध्ये दुई खेलमा मात्रै नेपाल विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार o८:१४:oo

गत वर्ष आइसिसी विश्वकप क्रिकेट लिग २ मा सनसनी प्रदर्शन गरेको नेपालले यसपटक अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन । सन् २०२३–०२७ विश्वकप लिग २ अन्तर्गत नेपालले अहिलेसम्म तीनवटा सिरिज खेलेको छ । नेपालले १२ मध्ये दुई खेलमा मात्र जित निकाल्यो । वर्षाका कारण दुई खेल रद्द हुँदा नेपालले दुई अंक बटुलेको छ । नेपालले नेदरल्यान्ड्स र ओमानलाई हराउँदै चार अंक बटुलेको हो । ६ अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ । अंक तालिकामा युएई पुछारमा छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले डेढ महिनाभित्र क्यानडा र अमेरिकामा लिग २ का दुई शृंखला खेल्यो । आठ खेलमा नेपालले उपलब्धि नै एक जित निकाल्नु हो । नेपालले क्यानडामा एक र अमेरिकामा तीन अंक जोड्यो । समग्रमा नेपालले क्यानडा र अमेरिकामा खराब प्रदर्शन गरेको छ । लिग २ का प्रारम्भिक चरणमा खराव प्रदर्शन गरेको नेपालको शीर्ष तीन र पाँचौँ स्थान रक्षा गर्ने सम्भावना कमजोर बनेको छ । 

आठौँ स्थानमा रहेको युएईले ९ खेल खेलेको छ । नेपालको तुलनामा युएईले तीन खेल कम खेलेको छ । युएईले नेपाललाई अंक तालिकामा पछि पार्ने सम्भावना उत्तिकै छ । विश्वकप लिग २ मा एसोसिएटतर्फ एकदिवसीय आठ राष्ट्रबिच प्रतिस्पर्धा चलिरहेको छ । नेपाल, क्यानडा, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, ओमान र युएईले चार शृंखलामा प्रतिस्पर्धा गरिरहेका छन् । आइसिसीले सहभागी टोलीले हरेक वर्ष घरेलु मैदानमा एक तथा बाहिर दुईवटा शृंखला खेल्ने प्रावधान बनाएको छ । सन् २०२७ सम्ममा आठै टोलीले ३६ खेल खेल्नेछन् । 

मुख्य समस्या ब्याटिङमा
सन् २०१८–०२२ को सिरिजमा नेपाल तेस्रो भएको थियो । मोन्टी देसाईको आगमनसँगै नेपालले त्यसवेला सनसनी प्रदर्शन गर्दै तेस्रो स्थान सुरक्षित गरी ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो । देसाईको प्रशिक्षणमा नेपालले १२ मध्ये ११ खेलमा जित निकाल्यो । यस असाधारण प्रदर्शनसँगै नेपालले आफ्नो एकदिवसीय मान्यतासमेत रक्षा गरेको थियो । प्रशिक्षक देसाई र कप्तान रोहित पौडेलले चालू आइसिसी विश्वकप लिग २ मा नतिजा दिलाउन सकेका छैनन् । 

गत फ्रेब्रुअरीमा नेदरल्यान्ड्सलाई हराउँदै उत्कृष्ट सुरुवात गर्‍यो । तर, त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँग दुई र नेदरल्यान्ड्सलाई एक खेल सुम्पियो । त्यसपछि नेपालले क्यानडा र अमेरिकामा राम्रो गर्ने अपेक्षा थियो । प्रशिक्षक देसाईले क्यानडामा राम्रो नतिजा निकाल्ने बताएका थिए । तर, ब्याटिङ र बलिङमा गतिलो प्रदर्शन हुन नसक्दा नेपालले लगातार खेलमा हारको सामना गर्‍यो । नेपालले क्यानडामा तीन खेल गुमाएको थियो । एक खेल वर्षाका कारण रद्द भएको थियो । प्रशिक्षक देसाईले ब्याटिङ अर्डर प्रयोग गरे । ओपनर कुशल भुर्तेलले लामो समयपछि ओपनिङ गर्न पाएनन् । अनिल साह र आसिफ सेखले क्यानडा र अमेरिकामा ओपनिङको जिम्मेवारी पाए । 

टोलीमाथि चुनौती
घरेलु मैदान र विदेशी भूमिमा तीन शृंखला गुमाएको नेपालमाथि चुनौती थपिएको छ । विश्वकप लिग २ को नियमअनुसार प्रत्येक टोलीले नौ शृंखला खेल्नुपर्छ । सन् २०२७ सम्म नेपालसमक्ष ६ शृंखला बाँकी छ । यी बाँकी शृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गरी कम्तीमा शीर्ष पाँचभित्र आफूलाई समावेश गर्नुपर्ने अर्को दबाब छ । पाँचौँ स्थानमा रहँदा प्ले अफको सम्भावना रहनेछ । नेपालले यसबिच घरेलु त्रिवि मैदानमा दुई र विदेशी भूमिमा चार शृंखला खेल्नेछ । नेपालको मुख्य कमजोरी नै विदेशी भूमिमा गतिलो ब्याटिङ गर्न नसक्नु हो । विदेशी भूमिका कन्डिसनअनुसार नेपालका शीर्ष र मध्यक्रमका खेलाडी चल्न सकेका छैनन् । पुछारका खेलाडीले केही आशातीत ब्याटिङ गरेका छन् ।