१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २१ बुधबार o७:४९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनपिएल : एकैदिन चार विदेशी खेलाडी अनुबन्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार o७:४९:oo

नेपाल प्रिमियर लिग (एनपिएल)मा एकैदिन चार विदेशी खेलाडी भित्रिएका छन् । युएई, नामिबिया, इंग्ल्यान्ड र अमेरिकाका खेलाडीलाई एनपिएलका फ्रेन्चाइज टोलीले आबद्ध गरेका हुन् । सुदूरपश्चिमले एसोसिएट राष्ट्रका नाम चलेका अलराउन्डर रोहन मुस्तफालाई ल्याएको छ । चितवन राइनोजले नामिबियाका आक्रामक ब्याट्सम्यान जान निकोल लोफ्टी–इटनलाई अनुबन्ध गरेको छ । श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले जनकपुर बोल्ट्सबाट प्रतिस्पर्धा गर्नेछन् । अहिलेसम्म एनपिएलमा २७ जना विदेशी खेलाडी अनुबन्धित भएका छन् । प्रत्येक फ्रेन्चाइज टोलीले चारजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपिएलमा आठ टोलीले १६ मंसिरदेखि प्रतिस्पर्धा गर्नेछन् । 

त्रिवि मैदानमा जमेका मुस्तफा सुदूरपश्चिममा 
नेपाली क्रिकेट र समर्थकका लागि युएईका रोहन मुस्तफा कुनै नयाँ नाम होइन । युएईको प्रतिनिधित्व गरी नेपालमा धेरैपटक अन्तर्राष्ट्रिय खेल खेल्न आएका छन् । नेपाली दर्शकमाझ राम्रो प्रदर्शन गर्न मुस्तफालाई ज्यादै मन पर्छ । त्रिवि क्रिकेट मैदानमा उनको आकर्षक स्ट्रोक हेर्न दर्शक लालायित हुन्छन् । युएईका कप्तानसमेत रहेका मुस्तफाले ५८ टी–२० आईमा एक हजार ६ रन बनाएका छन् । उनले यस फर्म्याटमा चार अर्धशतक प्रहार गरेका छन् । ८१ एकदिवसीय खेलमा एक शतक र सात अर्धशतकको सहयोगमा उनले १ हजार ५ सय ४ रन जोडेका छन् । टी–२० फर्म्याटमा २१ को औसतमा उनले ६१ विकेट लिएका छन् । एकदिवसीय खेलमा उनको नाममा दुर्लभ रेकर्ड छ । उनले एक खेलमा शतकीय इनिङ्ससँगै पाँच विकेट लिएका छन् । 

कुशलको रेकर्ड तोडेका इटन चितवनमा
गत फ्रेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा भएको टी–२० आई खेलमा नामिबियाका बायाँहाते जान निकोल लोफी इटनले नेपालका कुशल मल्लले कम बलमा शतकीय इनिङ्स खेलेको विश्व रेकर्ड तोडेका थिए । कुशलको रेकर्ड तोडेपछि इटनलाई विश्व क्रिकेटले चिन्यो । आक्रामक रूपमा ब्याटिङ गर्न मन पराउने इटनलाई चितवनले भित्र्याएको छ । उनी चिवनका चौथो विदेशी खेलाडी हुन् । इटनले कम बलमा टी–२० फर्म्याटमा शतकको रेकर्ड अहिले दोस्रो स्थानमा झरेको छ । त्रिवि मैदानमा उनले नेपालविरुद्ध ३३ बलमा शतक बनाएका थिए । 

जनकपुरले मिलान्थालाई भित्र्यायो
जनकपुरले श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाई अनुबन्ध गरेको छ । एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्था नेपाली भूमिसँग परिचित रहेका छन् । दुई वर्षअघि आयोजना गरेको नेपाल टी–२० लिगमा मिलान्थाले लुम्बिनी अल स्टारबाट खेलेका थिए । सो लिगमा उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए । मिलान्थाले फाइनलमा २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए । जनकपुरमा अनुबन्ध हुने मिलान्था चौथो विदेशी खेलाडी हुन् । यसअघि न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरेको छ । जोसुआ ट्रम्प र मोहम्मद मोहसिन छन् ।  

इंग्लिस क्रिकेटर स्टेफन काठमाडौं गुर्खाजमा 
इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजी काठमाडौं गुर्खाजमा आबद्ध भएका छन् । काठमाडौं स्पोर्टस् डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डुले इंग्लिस क्रिकेटमा जमेका विकेटकिपर ब्याट्सम्यान स्टेफनलाई लिएको हो । दक्षिण अफ्रिकामा जन्मेर अस्ट्रेलियामा हुर्किएका ३० वर्षे इस्किनाजीले मिडलसेक्सबाट इंग्लिस क्रिकेट काउन्टी खेल्दै आएका छन् । उनले ८८ प्रथम श्रेणीको क्रिकेटमा ९ शतकका साथ ४३ सयभन्दा बढी रन बनाएका छन् । ग्लोबल फ्रेन्चाइज लिगमा इस्किनाजी आक्रामक खेलाडीका रूपमा प्रस्तुत हुने गर्छन् । द हन्ड्रेडमा उनको स्ट्राइक रेट १५१ माथि र भाइटालिटी ब्लास्टमा उनको स्ट्राइक रेट १ सय ४० माथिको रहेको छ ।