राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको गिरफ्तारी राजनीतिक प्रतिशोध भन्दै आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्ने ब्यानरमा रास्वपाका नेता–कार्यकर्ताले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । माइतीघरदेखि बानेश्वरसम्म नाराबाजी, प्लेकार्डसहित र्याली निकालिएको थियो ।
रास्वपा नेता–कार्यकर्ताले ‘सत्य कहिल्यै ढल्दैन, तानासाही चल्दैन’, ‘भ्रष्ट सरकार चाहिँदैन, न्याय मार्न पाइँदैन’, ‘वास्तविक सहकारी ठगलाई कारबाही गर, ८८ अर्ब बचत फिर्ता गर’, ‘सहकारीपीडितलाई न्याय दे, राजनीतिक प्रतिशोध बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर,’ जस्ता नारा लगाएका थिए । सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेर लामिछानेलाई कास्की लगेपछि रास्वपाका नेता–कार्यकर्ताले पोखरामा प्रदर्शन थालेका थिए । प्रदर्शनकै क्रममा लामिछानेलाई बिहीबार दोस्रोपटक सात दिनका लागि म्याद थपिएपछि रास्वपाले शुक्रबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको छ ।
कार्यवाहक प्रवक्ता मनप्ष झाले दुईतिहाइ सरकारको प्रतिशोधविरुद्ध आन्दोलन जारी रहेको बताए । उनका अनुसार राजनीति प्रतिशोध र अधिनायकवादविरुद्ध मंगलबार बालुवाटारको नेपाल हाउसमा भेला भएर बृहत् प्रदर्शन हुँदै छ । ‘अधिनायकवादी दुईतिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटार जाउँ,’ उनले अपिल गरेका छन् ।
माइतीघरमै मंगलबार सहकारीपीडित बचतकर्ता महासंघले सरकारले बचत फिर्ता गर्ने भनेर गरेको सम्झौता कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको छ । सहकारीपीडितले रास्वपा कार्यकर्ता सँगसँगै प्रदर्शन गरेपछि माइतीघरको माहोल तातेको थियो ।